बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

आमिर खानसँग सम्बन्ध बिच्छेद गरेर खुसी छु : किरण राव

बुधबार, ०९ साउन २०८१, १२ : २३
बुधबार, ०९ साउन २०८१

नयाँदिल्ली । बलिउड अभिनेता आमिर खान र किरण रावले सम्बन्ध विच्छेद गरेकै तीन वर्ष भइसकेको छ । यो जोडीले सन् २००५ मा बिहे गरेका थिए । १६ वर्षपछि सन् २०२१ मा दुवैले सम्बन्ध टुङ्ग्याउने निर्णय गरे ।

अचानक सम्बन्ध विच्छेद गर्ने उनीहरूको निर्णयले धेरैलाई अचम्मित बनाएको थियो । यतिबेला दुवै जना मिलेर छोरा आजाद राव खानलाई हुर्काइरहेका छन् ।

अलग्गिएको भए पनि दुवै प्रायः एक अर्काको साथमा समय बिताइरहेका देखिन्छन् ।  मिस्टर परफेक्शनिस्टसँग अलग्गिएपछि किरण रावले सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

हालै फे डिसुजासँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबारे कुराकानी गर्ने क्रममा किरणले आमिर खानसँगको ‘डिभोर्स’ निकै सुखद भएको बताएकी थिइन् ।

‘सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्न आवश्यक हुन्छ । यस्तो किन भने हामी मान्छे हौँ र उमेर बढ्दै जाँदा हामी बदलिँदै जान्छौँ । हामीलाई अलग अलग कुरा चाहिन्छ । मलाई लाग्यो कि यो सम्बन्ध विच्छेदले मलाई खुसी बनाउँछ । इमानदार भएर भन्नु पर्दा म निकै खुसी छु’ उनले भनेकी छिन् ।

आफ्नो जीवनमा आमिर आउनुअघि पनि आफू एक्लै रहेको र एक्लै आफ्नो स्वतन्त्रताको मजा मनैदेखि लिने गरेको उनले बताइन् । ‘आमिर मेरो जीवनमा आउनु अघि म लामो समयसम्म सिंगल थिए ।

म आफ्नो स्वतन्त्रताको आनन्द लिन्थे । कहिलेकाहीँ एक्लो महसुस गर्थे, तर अहिले छोरा आजादका कारण म यस्तो महसुस गर्दिन’ उनले भनेकी छिन् । सम्बन्ध विच्छेदबारे सोच्दा मान्छेहरूले एक्लोपनबारे सोचेर चिन्तित हुने गरेको उनी बताउँछिन् । तर अहिले आफूले एक्लोपन महसुस नगर्ने बरु उल्टै आमिर र आफ्नो दुवै परिवारको सपोर्ट पाइरहेको उनले बताइन् । आमिरसँगको सम्बन्ध विच्छेदलाई उनले ‘सुखद’ भनेकी छिन् ।

अभिनेतासँगको १६ वर्षदेखिको बिहे तोड्न आफ्नो लागि पनि सजिलो नभएको किरण बताउँछिन् । वैवाहिक सम्बन्ध अन्त्य गर्न दुबैलाई निकै धेरै समय लागेको उनले बताइन् ।

भावनात्मक र मानसिक रूपमा पनि सम्बन्ध अन्त्य गर्न आमिर र आफूलाई निकै समय लागेको उनको भनाइ छ । छुट्टिएको भए पनि आमिर र आफ्नो सम्बन्ध परिभाषित गर्न कुनै कागज आवश्यक नभएको र आफूहरूबिच अझै पनि निकै धेरै माया, सम्मान, स्मृति, खुसी र पीडा भएको पनि किरणले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप