शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
विचार

'सरकारबाट बेदागी निस्केका छौँ, संसद् विघटनको अझै खतरा छ'

बुधबार, ०९ साउन २०८१, ११ : १३
बुधबार, ०९ साउन २०८१

निकै ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकारहरूको रक्षा गर्ने र तिनलाई अझ विकसित गर्नका लागि हामी लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौँ ।

हामीले प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रान्तिका प्रयासविरुद्ध विगतमा सडकमा गएर पनि सङ्घर्ष गरेका छौँ र त्यसलाई परास्त गरेका छौँ। पटक पटक संसद् विघटन र संविधान मिच्न खोज्ने प्रवृत्तिलाई सबै मोर्चामा सङ्घर्ष गरेर परास्त गरेको विगत हामीसँग छ ।

अहिले पनि हाम्रो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा केही गम्भीर पहल गर्दै थियो । यो सबैलाई थाहा भएकै कुरा हो । सामाजिक न्यायको पक्षमा पनि देशभित्र र देशबाहिर रहेका नेपाली युवाहरूको पक्षमा उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने र उनीहरूको हकहितको पक्षमा केही महत्त्वपूर्ण निर्णय गरेका थियौँ । देशभित्र पनि सामन्ती अत्याचारका अवशेषहरू मिटरव्याजविरुद्ध कानुनी र व्यवहारिक सङ्घर्षमा केही रेकर्डहरू बनाएकै थियौँ । 

अर्थतन्त्र अप्ठेरो स्थितिमा हुँदाहुँदै पनि धेरै मेहनत गरेर बिस्तारै लयमा ल्याउने कोसिस गरेका थियौँ र लयमा आउँदै पनि थियो । अझ मुख्य रूपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलो पटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का र भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूका लागि त्यो सह्य भएन । सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलेको भूमिका या सामाजिक न्यायको पक्षमा खेलिरहेको भूमिका या समृद्धिका लागि अर्थतन्त्र सुधारका निम्ति खेलिरहेको भूमिका सह्य भएन र निक्कै षड्यन्त्रमूलक ढङ्गले, निक्कै नै अपारदर्शी तरिकाले र हामीले भन्ने गरेका छौँ– नेपाली समाज र आम जनतामा पनि मोटामेटी स्थापित छ ।

बिचौलियाहरूको पहलमा नै यो नयाँ गठबन्धन बनाइयो र यो गठबन्धनले बिचौलियाको हितमा नै काम गर्छ भन्ने कुरा हामीले भनिराख्नुपर्दैन । समाजमा र आम जनतामा पनि यो कुरा छर्लङ्गजस्तै भएको छ । र, सरकार छाड्दा पनि तपाईँहरूले देख्नुभयो–हामी आफ्ना कुरालाई सशक्त रूपले पार्लियामेन्टमा राखेर वैचारिक राजनीतिक र सरकारबाट गर्न सकिने, गर्नुपर्ने कुराहरू गर्दागर्दै विजेताका रूपमा सरकारबाट बाहिर आयौँ । 

जो सरकारमा गएका छन्, तपाईँहरूले हेर्नुभएकोहोला उनीहरू पराजित मानसिकतामा छन् । उनीहरू रक्षात्मक र हामी आक्रामक ढङ्गले आफ्ना कुराहरूलाई राख्ने स्थिति बनेको छ । आम जनताले पनि भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेको र पछिल्लो चरणमा दुई जना गिरफ्तार भएपछि नै तीव्र भएको हो भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् ।

यो हाम्रा लागि राजनीतिक रूपमा राम्रो आधार बनेको छ जनतामा । त्यसलाई अव सङ्गठनमा बदल्नुछ । अब हामीलाई नकारात्मक परिघटनाबाट पार्टी पुनर्निर्माण गर्ने,सङ्गठन सुदृढ र विस्तार गर्ने अवसर प्राप्त भएको छ । हाम्रो कोसिस अव पार्टीलाई एकताबद्ध गर्ने, नीति योजना कार्यक्रमलाई अझ जनमुखी बनाउने र जनतामा जाने । जनतालाई यिनै कुराहरू, के भएको हो ? किन भएको हो ? हामी के चाहन्थ्यौँ र अव के गर्छौँ भन्ने कुरा जनतालाई प्रस्टसँग भन्ने अवसर हामीलाई प्राप्त भएको छ ।  

मैले प्रधानमन्त्री छुट्दै गर्दा र हामीले जनतामा जे अपिल गर्‍यौँ हाम्रो वर्ग, समुदाय र हाम्रा एजेन्डाहरूको पक्षमा त्यसबाट मैले देशभरिको प्रारम्भिक रिपोर्ट सुन्दा आम जनता र कार्यकर्ताहरूमा निराशा छैन बरु हामी विजयी भएर बेदाग निक्लेका छौँ ।

हामीलाई त्यस्तो ठुलो न ओम्नी, न गिरीबन्धु न भुटानी ? त्यस्ता कुनै दागरहितमात्र होइन ती गतिविधिकाविरुद्ध सङ्घर्ष गर्दागर्दै निक्लनु परेको कुरा जनताले बुझेका छन् ।

यसर्थमा हामीलाई सङ्गठन विस्तार गर्ने र जनतामा फेरि एकचोटी पार्टीलाई राम्रोसँग स्थापित गर्ने अवसर प्राप्त भएको छ । आज कमरेड नरबहादुर कर्माचार्यप्रति सम्मान व्यक्त गर्दैगर्दा र उहाँको स्मृतिमा श्रद्धाञ्जली दिँदै गर्दा मेरो विचारमा हामी कम्युनिस्टहरू त्यसमा पनि खासगरी माओवादीका नेता कार्यकर्ताले लिनुपर्ने सङ्कल्प भनेको फेरि पार्टीलाई अझ उचाइमा एकताबद्ध गर्ने, विचारलाई अझ बढी स्पष्ट गर्ने र जनतामा जाने सङ्कल्प लिनुपर्छ । संविधानमा जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउने खतरा पनि छ ।

यो (कांग्रेस-एमाले) गठबन्धनले बढो अमूर्त र अस्पष्ट ढङ्गले भनेको छ जनताले त्यसलाई बुझिरहेका छन् । विगतको इतिहास पनि छ । घटनाक्रम पनि छ । संविधान मिच्ने,समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ । जसको नेतृत्वमा अहिले गठबन्धन बनेको छ हिजो संविधान मिच्ने र संसद् विघटन गर्ने कामलाई हामीले प्रतिगामी कदम भन्यौँ, त्यो खतरा अहिले पनि छ ।

लामो सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरूमाथि प्रहार गर्ने खतरा छ । त्यसकारण अव फेरि हामी सरकार भन्ने पक्षमा छैनौँ । हामी अव भन्ने जनता हो । जनतामा जाने र उनीहरूलाई जागृत गर्ने र त्यस्ता प्रतिगामी कदम चालिन्छन् भन्ने त हामीले देखेकै छौ । त्यो कदमका विरुद्ध जनतालाई फेरि लिएर सडकबाट पनि सांसदबाट पनि सङ्घर्ष गर्ने हो । अहिले नै हामीसँग १२२ वटा स्थानीय सरकार जीवितै छन् । १२२ वटा स्थानीय सरकारबाट पनि पहल लिनुछ र जनतासँग जोडिएर जानुछ । मेरो विचारमा अहिले मेरो मुख्य काम त्यही नै छ । प्रतिगमनको खतराकाविरुद्ध पार्टीलाई एकताबद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने, प्रतिवादको । मैले पार्लियामेन्टमा भनेको छु–हामी प्रतिवाद र प्रतिरोध गर्नेछौँ । जरुरी पर्‍यो भने जनताको साथ लिएर सडकबाट प्रतिवाद गर्नेछौँ भनिएको छ । यहीँ नै आजको हामी सबैको कर्तव्य र जिम्मेवारी हुन आएको छ । यो बेला पार्टीलाई वैचारिक र सांगठानिक ढङ्गले अझ राम्रो एकताबद्ध गर्ने । हामीले कार्यालयको बैठक राखेका छौ साउन ११ गते । त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू र विभिन्न जनसंगठन र वर्गीय सङ्गठनहरूका पनि भेला सम्मेलन गर्दै युनिफाइड रूपमा एकताबद्ध भएर जनतामा जानुछ । मलाई लाग्छ हामीले पाँच,छ महिना सङ्कल्प र कार्य योजनाका साथ जनतामा गयौ भने परिस्थिति अर्कै ठाउँमा पुग्छ भन्ने विश्वास छ । हामी सबैले त्यो आत्मविश्वासका साथ जानुपर्दछ । मलाई लाग्छ जनतामा जाने कुरा नरबहादुर कर्माचार्यप्रति पनि यहीँ नै सच्चा श्रद्धाञ्जली हुनसक्छ । आफ्ना एजेन्डा, वर्ग र समुदायलाई समात्ने कुरा धेरै महत्त्वपूर्ण छ । सायद विगतमा हामीले कहीँकहीँ त्रुटी पनि गरेका छौँ । हाम्रो वर्ग र जनतासँगको सम्बन्धका कडीहरू कमजोर पनि भएका छन् त्यसलाई बलियो पार्नु आजको आवश्यकता हो ।

(नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभामा अभिव्यक्त विचार ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लेखकबाट थप