बागमतीमा कांग्रेसले मन्त्री नपठाउने
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीको शपथ ग्रहण आज हुँदै छ । प्रदेशका मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलको नेता बहादुर सिं लामाले शपथ लिने तयारी गरेका छन् ।
बिहान ११ः११ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडामा मुख्यमन्त्री लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । साउन ८ गते नेपालको संविधानको धारा १६८ को (२) बमोजिम एमाले कांग्रेसको गठबन्धनबाट ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री लामालाई प्रदेश प्रमुख याद चन्द्र शर्माले शपथ ग्रहण गराउनेछन् ।
मुख्यमन्त्री लामासहित मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालयमा मञ्च निर्माण गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा निर्माण गरिएको उक्त मञ्चमा मुख्यमन्त्री लामासँगै प्रदेशका १२ मन्त्रीहरूले शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।
प्रदेशको १२ मन्त्रालयमध्ये कांग्रेसले ६ र एमालेले ६ मन्त्रालय लिने सहमति गरेका छन् । सोही अनुसार एमालेले ६ मन्त्रालयका मन्त्रीहरु टुङ्ग्याएको छ भने कांग्रेसले अझै मन्त्रीको नाम टुङ्ग्याउन सकेको छैन ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गर्नेछन् । उनीहरूको शपथ ग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र समेत प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।
तत्काल मन्त्री नपठाउने निर्णयमा पुगेका कांग्रेसले एक साता भित्र मन्त्रीको नाम तयारी गरी शपथ ग्रहण गराउने तयारी गरेको छ ।
कांग्रेसमा मन्त्री छन्न सकस
यता सत्तारुढ दल कांग्रेस भित्र मन्त्री छन्न सकस परेको छ । मुख्यमन्त्री बाहेक ६ मन्त्रालय भाग पाएको कांग्रेसमा मन्त्रीका आकाङ्क्षी बढी हुँदा समस्या भएको हो ।
मन्त्री छान्न नसक्दा कांग्रेसले कसैलाई पनि सरकारमा नपठाउने भएको छ । कांग्रेसबाट मुख्यमन्त्री लामाले मात्र शपथ ग्रहण गर्ने तयारी गरेको एक सांसदले बताए ।
उनका अनुसार कांग्रेसमा मन्त्रीको आकाङ्क्षी बढी भएको र मन्त्री बनाउन पार्टी केन्द्र तथा नेताहरूबाट अधिक प्रेसर आएकाले तत्काल मन्त्री नपठाउने निर्णय भएको हो । ६ मन्त्रालयका लागि १५ जनाभन्दा बढी सांसदहरूको नाम आएको र सोही अनुसार नेताहरूले आ–आफ्नो सांसदलाई मन्त्री बनाउन प्रेसर गरेकाले तत्काल मन्त्री नपठाउने निर्णयमा पुगेको उनले बताए ।
कांग्रेसबाट मन्त्री छान्न सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ र पार्टी प्रवक्ता प्रकाश शरण महतले कसरत गरेका थिए । मंगलबार राति एक होटलमा बसेर बसेर मन्त्रीको नाम तयार गर्न दुई नेतासहित मुख्यमन्त्री लामाले कसरत गरेका थिए । मंगलबार राती र बुधबार विहानसम्म गरेको कसरतले नतिजा दिन नसक्दा शपथ ग्रहण नगर्नेमा कांग्रेस पुगेको हो ।
मंगलबार राति दुई नेताहरूले आफू अनुकूल मन्त्री बन्नेहरूको नाम तयार गरिएपनि कांग्रेसका अन्य नेताहरूले दबाब दिएका थिए । अन्य नेताहरूले आफ्ना सांसद मन्त्री बनाउन दबाब दिएपछि तयार भएको नाम सार्वजनिक समेत हुन सकेन ।
मंगलबार राति सहमहामन्त्री डिना र प्रवक्त महतले कुन्दनराज काफ्ले, रमेश कुमार महत, श्याम खड्का, समिता खड्गी, मदु कुमार श्रेष्ठ, प्रभात तामाङ लगायतका सांसद मन्त्री बनाउने तयारी गरेका थिए । त्यसअघि मन्त्रीको लागि सिफारिसमा परेका हरि प्रभा खड्गी, विमल ठकुरी, सुरेश श्रेष्ठ लगायतको नाम काटिएपछि कांग्रेसमा समस्या भएको थियो । कांग्रेसमा आकाङ्क्षी बढी भएपछि ६ फुल मन्त्री सहित २ राज्य मन्त्री बनाउने तयारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता