सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०८ साउन २०८१, २२ : ००
मङ्गलबार, ०८ साउन २०८१

आज २०८१ साउन ८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • खेलाडीभन्दा तीन गुणा बढी पदाधिकारी

अहिले विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिता ‘ओलम्पिक’ को ३३ औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदैछ । पेरिस ओलम्पिकमा पनि नेपाली खेलकुदमा मौलाउँदै आएको पुरानै परम्पराले निरन्तरता पाएको छ । पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न ६ खेलका सातजना खेलाडीले सहभागिता जनाउने पक्का भएको छ । त्यसमध्ये एकजना नेपाली खेलाडीले मात्र छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पेरिस ओलम्पिकमा आफ्नो सहभागिता पक्का गरेका हुन् । 

  • फिल्ममा लगानी

 नेपाली निर्माताले फिल्म निर्माणमा बर्सेनि डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी खन्याउने गरेको देखिएको छ । चलचित्र विकास बोर्डमा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका फिल्महरुको सूचीले यो तथ्य देखाएको हो ।

  • योजना थन्कियो

रुग्ण अवस्थामा पुगेका उद्योग चलाउने सरकारी योजना थन्किएको छ । सुरुमा ७ वटा रुग्ण उद्योग चलाउने योजनासहित सरकारले फाइल अघि बढाएको थियो । पछि दुई वटा उद्योगको सङ्ख्या थपेर ९ पुर्‍याए पनि काम अघि बढ्न सकेको छैन ।

  • ‘सीईओ’विहीन

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएपछि पर्यटन विभागका तत्कालीन महानिर्देशक चक्र बुढा नेतृत्वको तीन सदस्यीय पर्यटन बोर्ड सीईओ छनोट तथा सिफारिस उपसमितिले अगाडि बढाएको सीईओ छनोट प्रक्रिया बिचमा नै रोकिएको हो । 

  • चीन–दक्षिण एसिया एक्स्पो

चीनको युनान प्रान्तको कुनमिङमा आजदेखि आठौँ चीन–दक्षिण एसिया एक्स्पो सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय, युननान प्रान्त सरकारको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्स्पोमा नेपालको तर्फबाट राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अतिथिको रूपमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैछिन् ।

  • व्यवहारमा निषेधको गन्ध

कांग्रेस–एमाले सत्ता गठबन्धनले केपी ओली नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रतिबद्धता जनाए पनि  व्यवहारमा केही दललाई निषेध गरेर जाने सङ्केत देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षसमेत रहेका ओलीबिच असार १७ गते मध्यराति ७ बुँदे सहमति भएको थियो । त्यसकै जगमा असार ३१ गते ओली प्रधानमन्त्री बनेका थिए । तर संविधान संशोधन सम्बन्धी विषयमा विपक्षी दलहरू माओवादी, रास्वपा, एकीकृत समाजवादी, मधेसी लगायत दलहरूलाई थाहै नदिई कांग्रेस–एमालेकै सीमित नेता बसेर सहमति गर्नुले विभिन्न आशङ्का जन्माएको हो ।

  • बागमती सरकार

सङ्घीयता कार्यान्वयन पश्चात् बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । एमालेसँग सत्ता सहकार्यको सहमति अनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाएको हो । जसअनुसार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

  • कुट्ने धम्की

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ । टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् । 

  • समिति गठन

पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

  • मिटरब्याजीको बिगबिगी

 विराटनगरका राजु केबट मिटरब्याजीको फन्दामा परे । तीन जना सन्तानका बाबु उनले घर खर्च चलाउन मिटरब्याजीकै सहारा लिनुपर्‍यो । फार्मेसीमा काम गर्ने उनले मिटरब्याजमा लिएको ५ लाख रुपैयाँबापत १२ लाख तिर्दासमेत थप पैसा तिर्न साहुको ताकिता आएपछि अब नसक्ने भन्दै उनी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि गुहार माग्न गए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप