बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेश प्रदर्शन

बंगलादेशका लागि नेपाली राजदूत भन्छन्– नेपाली विद्यार्थी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था छैन

मङ्गलबार, ०८ साउन २०८१, २० : ०५
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ ।  बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनका कारण केही नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् भने केही फर्किने क्रममा छन् । तर अहिले बंगलादेशमा अवस्था सामान्य हुँदै गएका कारण त्यसरी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था नरहेकाे बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बताएका छन् । 

बंगलादेशको अवस्थाबारे राजदूत भण्डारीको भनाइ यस्तो छ-

आन्दोलन जारी रहेका कारण कर्फ्यु त लागेकै छ । इन्टरनेट चलेको छैन । फोन पनि राम्रोसँग चलिरहेको छैन । यद्यपि यहाँको सरकारले केही दिनमा समस्या समाधान हुन्छ भनेको छ ।

हामीले नेपाली विद्यार्थीहरूलाई सावधानी अपनाउनुहोस् भनेका छौँ । उहाँहरूलाई सकेसम्म होस्टेलभित्रै बस्नुस् भनेका छौँ । साथीभाइ भएको ठाउँमा बस्नुहोस्, अत्यावश्यक बाहेकका कामका लागि बाहिर ननिस्किनुहोस् भनेका छौँ ।

नेपाल जानेहरूलाई समेत दूतावासको तर्फबाट सहजीकरण गरेका छौँ । तर, नेपाल गइहाल्नुपर्ने स्थिति छैन । आत्तिएर, डराएर नेपाल गइहाल्नुपर्ने स्थिति छैन । त्यसैले हाम्रो सम्पर्कमा आएकालाई बिस्तारै ठिक हुन्छ, नआत्तिनुस् भनेका छौँ ।

बंगलादेशस्थित नेपाली विद्यार्थीहरू पढ्ने सम्पूर्ण कलेजमा हामीले सम्पर्क गरेका छौँ । विद्यार्थीहरूसँग पनि नियमित सम्पर्कमा छौँ । हालसम्म एक हजार ३०० को हाराहारीमा विद्यार्थीहरू नेपाल फर्किसकेका छन् । अरू विद्यार्थी सहज अवस्थाको पखाईमा छन् । यहाँ भएका विद्यार्थीहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।

नेपाल आइसकेका विद्यार्थीहरूको हकमा आफूले पढ्ने कलेजमा जुन दिनबाट कक्षा सुरु हुन्छ, आफैँले समन्वय गरेर आउनुहुन्छ । यो ठुलो विषय नै भएन ।

यहाँको सरकारसँग हामी नियमित सम्पर्कमा छौँ । यहाँको परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग नियमित सम्पर्क तथा छलफलमा छौँ । यहाँको डिप्लोमेटसँग नियमित संवादमा छौँ । उहाँहरूसँग नियमित संवाद गरेर यहाँको अवस्थाको बारेमा जानकारी लिएर त्यसको विश्लेषण गरेर विद्यार्थीहरूलाई सूचना दिइरहेका छौँ ।

Ambassador Ghanshyam Bhandari 2

यहाँको अवस्थाका कारण कलेजहरू बन्द छन् । जसले गर्दा विद्यार्थीहरू आफ्नो हिसाबले नेपाल जान खोज्नुभयो । त्यसलाई हामीले सहजीकरण गरिरहेका छौँ । यहाँ जति पनि हुनुहुन्छ, सबै सुरक्षित नै हुनुहुन्छ । मेडिकल साइन्स लगायतका विषयमा गरेर २ हजार ५०० को हाराहारीमा नेपाली विद्यार्थी छन् । तीमध्ये एक हजार ३०० भन्दा बढी फर्किनुभयो । लामो समय पढाइ नहुने भएकाले उहाँहरू फर्किनुभयो भने केही यतै बसिराख्नुभएको छ ।

विद्यार्थी बाहेक अन्य नेपालीहरूको अवस्था पनि सामान्य छ । उनीहरू नियमित आफ्नो काममा छन् । अरू सबै नेपाली विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने हुनुहुन्छ । कतिपय कार्यालय बन्द छन् । जसले गर्दा घरबाटै काम गरिरहेका छन् । उहाँहरूको सुरक्षा खतरा केही छैन । तर पनि दूतावासमा सूचनाका लागि सम्पर्क गर्नुहुन्छ र हामी उहाँहरूलाई सोही अनुसार सेवा दिइरहेका हुन्छौँ ।  

(रातोपाटीका लागि कृष्णसिंह धामीले गरेको टेलिफोन कुराकानीका आधारित)  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप