आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
बागमती सरकार

बागमतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा बन्यो सरकार, को हुन् मुख्यमन्त्री लामा ?

मङ्गलबार, ०८ साउन २०८१, १७ : ३३
मङ्गलबार, ०८ साउन २०८१

हेटौँडा । सङ्घीयता कार्यान्वयन पश्चात् बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । एमालेसँग सत्ता सहकार्यको सहमति अनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाएको हो । 

जसअनुसार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

सङ्घीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रतिपक्ष रहेको कांग्रेस करिब ३ वर्ष भने सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै कांग्रेस सरकारमा गएपनि नेतृत्व भने प्राप्त गर्न सकेको थिएन । 

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका आधारमा २०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाए । १४ महिने सो सरकारमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन ।

एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा कांग्रेस सरकारमा सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो ।

एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सो लगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्र कै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो । 

यस्तै कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको थियो ।  ०७८ अघि पनि कांग्रेस प्रतिपक्षमै थियो । 

को हुन् नवनियुक्त मुख्यमन्त्री लामा ?

कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका बहादुर सिंह लामा हाल कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा छन् । स्व. दीप बहादुर लामा तामाङ र आमा स्व. पूर्णिमाया लामा तामाङको पुत्र लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा जन्मेका हुन् ।

सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका थिए । लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गरे भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गरे । यस्तै उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका छन् ।

उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए भने शंकरदेव क्याम्पस इकाई सदस्य पनि भए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए ।

२०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना  गा.वि.स अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएका थिए । यस्तै १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए । 

२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोस्टबहादुर बोगटीलाई भारी मतले हराएका थिए । ०६४ सालमा भने उनी बोगटीसँग नै पराजित भएका थिए । 

२०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका उनी अहिले मुख्यमन्त्री बन्न सफल बनेका हुन् ।  लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री हुन् ।  उनी निर्माण व्यवसायीका रूपमा समेत चिनिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप