उपराष्ट्रपति सहभागी हुँदै आएको चीन–दक्षिण एसिया एक्स्पोमा राष्ट्रिय सभाका उपाध्यक्ष सहभागी
काठमाडौँ । चीनको युनान प्रान्तको कुनमिङमा आजदेखि आठौँ चीन–दक्षिण एसिया एक्स्पो सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय, युननान प्रान्त सरकारको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो ।
एक्स्पोमा नेपालको तर्फबाट राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अतिथिको रूपमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैछिन् ।
उनका साथमा राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनि कार्यक्रममा सहभागी भएका छन् । उनीहरू शनिबार नै चीनका लागि प्रस्थान गरेका थिए ।
विगतको एक्स्पोमा नेपालबाट उपपराष्ट्रपतिदेखि मन्त्रीहरूको पनि सहभागिता हुन्थ्यो । तर यसपटक चीनले राष्ट्रिय सभाका उपाध्यक्षलाई बोलाएको छ ।
सन् २०१३ बाट सुरु भएको एक्स्पोमा अतिथिका रूपमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाको सहभागिता थियो । त्यसपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः र सातौँ एक्स्पोमा उपराष्ट्रपति रामसहाय यादव सहभागी थिए । एक्स्पोमा तत्कालीन शिक्षामन्त्री अशोक राई, उद्योग, वाणिज्य मन्त्रालयका सचिव, उपराष्ट्रपति कार्यालयका तत्कालीन सचिव, तत्कालीन परराष्ट्रसचिवसहितको उच्चस्तरीय सहभागिता थियो ।
तर यसपटकको उपस्थितिले नेपालको तर्फबाट खल्लो देखिएको नेपाली व्यपारीहरू बताउँछन् । बदलिँदो राजनीतिक प्रभाव हो कि के हो, थाहा छैन तर नेपालको तर्फबाट उत्साहजनक उपस्थिति नदेखिएको उनीहरूको भनाइ छ ।
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले यसपटक सरकारीतहबाट सहभागिता नरहेको बताए । उनले एक्स्पोको अघिल्लो संस्करणमा उपराष्ट्रपतिका साथै वाणिज्य, परराष्ट्र, उपराष्ट्रपति कार्यालय सचिवहरूको उत्साहपूर्ण सहभागिता रहने गरेकोमा यसपटक कसैलाई निमन्त्रणा नआएको बताए ।
गत एक्स्पोमा राणा आफैँ पनि सहभागी थिए । उनले भने, ‘व्यापार हेर्ने हामी हो, कोही गएको भए हामीलाई थाहा हुन्थ्यो । उताबाट सहभागिताका लागि कुनै जानकारी आएको छैन, यस विषयमा वाणिज्यमन्त्रीलाई पनि थाहा छैन ।’
निजी क्षेत्रबाट केही व्यापारी सहभागी भएको जानकारीमा आए पनि सरकारी तहबाट सहभागी भएकोजस्तो आफूलाई नलागेको उनले बताए । यस्तो खालको एक्स्पोमा सरकारी तहबाट लैजाँदा यहाँको वस्तुस्थिति, आयात–निर्यात लगायतको विषयमा कुरा राख्न सहज हुने उनको भनाइ छ । गत वर्ष सहभागी हुँदा आफूले नेपाली चियाको बारेमा कुरा राखेको उनले बताए ।
परराष्ट्रसचिव सेवा लम्साल पनि चीनको कुनमिङमै सुरु भएको पाँचौँ चाइना साउथ एसिया कोअपरेसन फोरममा सहभागी भएकी छन् । भोलि उनले सो कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल–चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले सो एक्स्पोमा निजी क्षेत्रबाट सहभागिता रहेको बताए । एक्स्पोमा पहिलो पटक नेपाल–चाइना चेम्बर अफ कमर्स सहभागी भइरहेको बताउँदै उनले नेपालबाट ५२ जना सहभागी रहेको जानकारी दिए । एक्स्पोमा नेपालीलाई २३ वटा स्टल दिइएको उनले बताए । यसपाली ह्याण्डीक्राफ्टका सामान प्रदर्शनमा राखिने उनको भनाइ छ ।
सो एक्स्पोमा झण्डै आधा प्रदर्शकहरू दक्षिण र दक्षिणपूर्व एशियाका कम्पनी नै रहेको न्युज डट सीएनले जनाएको छ । ६ दिनसम्म चल्ने कार्यक्रममा आर्किटेक्चर टेक्नोलोजी, उत्पादन, हरित ऊर्जा र आधुनिक कृषि लगायतका विषयवस्तु भएका १५ वटा प्रदर्शनी हल राखिएको बताइएको छ ।
सो एक्स्पोमा कफी उद्योगलाई प्रबर्द्धन गर्ने उद्देश्यले एउटा छुट्टै हल तयार गरिएको छ, जो आकर्षणको केन्द्र बनेको छ । युनान प्रान्त कफीका लागि प्रख्यात ठाउँ हो । एक्स्पो पहिलो पटक सन् २०१३ मा सुरु भएको थियो । त्यही समयमा चीनले बेल्ट एण्ड रोड इनिसिएटिभलाई पनि अगाडि बढाएको थियो ।
दक्षिण एसिया तथा दक्षिणपूर्वी एसिया देशहरू बिचको आर्थिक र व्यापारिक आदानप्रदानका लागि यो एक्स्पोलाई निकै महत्त्वका रूपमा लिइएको छ । विभिन्न तथ्याङ्क अनुसार चीन र दक्षिण एसियाली देशहरूबिच सन् २०२३ मामात्र करिब २०० अर्ब अमेरिकी डलरको व्यापार भएको छ, जो २०१३ को भन्दा दोब्बर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
-
टेनिस टोली बहराइन जाने
-
मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु
-
एनआरएन अस्ट्रेलियाको ‘नेपाल महोत्सव’ तयारी अन्तिम चरणमा
-
दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !