शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

नाटकमा डेब्यू  गर्दै वर्षा

मङ्गलबार, ०८ साउन २०८१, १० : ५८
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ । अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छिन् । उनले विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’ मार्फत रङ्गमञ्चमा डेब्यू गर्ने भएकी हुन् । नाटकलाई विमल सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । जोयश चलचित्र ‘साँघुरो’का निर्देशक हुन् ।

वर्षासँगै उनै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो । 

कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् । यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कलाक्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए । 

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए । 

नाटक ‘हिटलर आउँदैछ’ ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए । ‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ । यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ । यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ’ उनले भने ।

दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन् । हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन् । 

‘नाटकबाट आएको धेरै कलाकारसँग चलचित्रमा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो । तर यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु । मेरा पहिलो नाटक नै नेपालका उत्कृष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन । साथै नेपालका उत्कृष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ । यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु,’ उनले भनिन् ।

नाटक अगस्ट महिनाको २३ बाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वल्र्ड प्रिमिएर हुनेछ र यसलाई अमेरिकाकै विभिन्न स्थान लगायत विश्वका अन्य देशमा मञ्चन गरिनेछ । नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए ।  

अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज  कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ । नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप