आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

सरकार गठन नहुँदै कांग्रेस-एमालेमा मन्त्रीका आकाङ्क्षीको लर्को

मङ्गलबार, ०८ साउन २०८१, ०७ : ३५
मङ्गलबार, ०८ साउन २०८१

मकवानपुर । बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने निश्चित छ । दुई ठुला शक्तिबिच समीकरण बनेसँगै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्री बन्ने भएका छन् । 

एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भइरहेकाे छ । आइतबार सत्ता समीकरण अनुकूल नबनेपछि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को (२) अनुसार दाबी गर्न साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् । सोही अनुसार नेता लामाले सरकारमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

सरकार गठनको तयारी थाले लगत्तै कांग्रेस एमालेमा मन्त्री बन्नेहरूको लर्को छ । सरकार गठन नहुँदै मन्त्री पद सुरक्षित गर्न सांसदहरू तीव्र दौडधुपमा छन् । दुवै दलका सांसदहरू मन्त्री बन्ने लबिङका लागि काठमाडौँ बसेर नेताहरूसँग भेटमा केन्द्रित भएका छन् ।

सांसदहरूको दौडधुपले रोकियो लामाको मुख्यमन्त्रीमा दाबी

प्रदेशको १३ मन्त्रालय मध्ये कुन दलले कुन मन्त्रालयमा भाग लिने सहमति बन्न नसकिरहेको अवस्थामा सांसदहरू भने मन्त्रीको लबिङमा जुटेका हुन् । मन्त्री बन्ने लबिङमा सांसदहरू लाग्दा मुख्यमन्त्रीमा लामाको दाबी गर्ने कार्यक्रम नै रोकिन पुग्यो ।

कांग्रेस र एमालेबिच मन्त्रालय भागबन्डा नमिल्दा सोमबार गर्ने तयारी गरेको लामाको मुख्यमन्त्रीमा दाबी रोकिएको हो । नेता लामाले सोमबार बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी भए पनि मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा रोकिएको थियो ।

कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्याका विषयमा सहमति हुन सकेको छैन । एमालेले मुख्यमन्त्री बाहेक ६-६ मन्त्रालय लिनुपर्ने माग गरेको छ भने कांग्रेसले ठुलो दलको हैसियतले ७ वटा मन्त्रालय माग गरेको छ । 

भागबण्डा र मन्त्रीको लबिङका कारण एमालेका सांसदहरू काठमाडौँ हानिँदा मुख्यमन्त्रीमा लामाको दाबी कार्यक्रम रोकिएको हो । मन्त्री बन्न एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया समेत काठमाडौँ पुगेका थिए । एमाले वृत्तमा दलको नेता मन्त्री बन्न नहुने बहस चलिरहेको अवस्थामा थपलिया भने मन्त्री बन्ने लबिङमा रहेको एमालेका एक सांसदले बताए ।

२ पटक सरकार परिवर्तन हुँदा मन्त्री बनेका दलको नेता पुनः मन्त्री नबनी अरू सांसदलाई पालो दिनु पर्ने एमाले सांसदहरूको तर्क रहेको छ । सोही अनुसार सांसदहरू पार्टी केन्द्र रिपोर्टिङका लागि पुगेपछि नेता थपलिया मुख्यमन्त्रीमा लामाको माग दाबी कार्यक्रम नै छेडेर काठमाडौँ पुगेका हुन्

यता कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्याका विषयमा सहमति हुन सकेको छैन । एमालेले मुख्यमन्त्री बाहेक ६-६ मन्त्रालय लिनुपर्ने माग गरेको छ भने कांग्रेसले ठुलो दलको हैसियतले ७ वटा मन्त्रालय माग गरेको छ । 

आकाङ्क्षीको लर्को

मन्त्रीका लागि कांग्रेसमा भन्दा पनि एमालेमा बढी प्रतिस्पर्धा देखिएको छ । मन्त्रीको लागि एमालेका दलको नेतादेखि प्रमुख सचेतक र सांसदहरूले लबिङ गरिरहेका छन् ।

एमालेले नयाँ सरकारमा मन्त्री नदोहोर्याउने तयारी गरेपछि दलको नेतादेखि २ पटक मन्त्री बनेकाहरू अप्ठेरोमा परेका थिए । सोही अनुसार तेस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बन्ने लबिङमा रहेका नेता थपलिया सकसमा परेको र काठमाडौँ हानिएका थिए भने प्रमुख सचेतक मधु सुदन पौडेल पनि मन्त्रीको लबिङका लागि काठमाडौँ केन्द्रित भएका छन् । २ पटकमा मन्त्री बन्ने अवसर नपाएका उनी यसपटक भने मन्त्री बन्ने अभिलाषा सहित केन्द्रमा बसिरहेका हुन् ।

एमालेबाट यस अघि मन्त्री निस्केका केशव प्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठसहित सांसदहरू डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, अमन मास्के, किरण थापा, ज्ञान बहादुर तामाङ र भारती पाठकको नाम चर्चामा छ ।

उता कांग्रेसबाट पनि नयाँलाई अवसर दिने तयारी भइरहँदा केही सांसदहरू दबाबमा पेका छन् । कांग्रेसबाट संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मसिना खड्का र तीर्थबहादुर लामाले मन्त्री बन्ने अपेक्षा गरेका छन् । तर, यसअघि नै मन्त्री बनेका उनीहरूको सम्भावना अत्यन्त कम रहेको छ ।

यद्यपि नेता लामा भने आफूलाई सुरक्षित र शक्तिशाली बन्न उपनेता चित्रकार र लामालाई मन्त्री बनाउने पक्षमा रहेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का मन्त्रीको सशक्त दाबेदार हुन् । नेता कृष्ण प्रसाद सिटौलाका विश्वास पात्र काफ्ले मन्त्री बन्ने पात्रको पहिलो नम्बरमा छन् भने पार्टी प्रवक्ता प्रकाश शरण महत निकट खड्का पनि सशक्त पात्र हुन् । दुवै जनाको मन्त्री पद सुरक्षित रहेको कांग्रेस भित्र चर्चा रहेको छ । सभापति शेर बहादुर देउवाको कोटाबाट सांसद विमल ठकुरी मन्त्री बन्ने चर्चा छ, भने कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री नपाएपछि मीनकृष्ण महर्जनलाई मन्त्री बनाउने कसरत थालेका छन् ।

त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को विश्वास पात्र समिता खड्की मन्त्रीको बन्ने चर्चा छ भने हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझी मन्त्रीको लिस्ट छन् । हरिप्रभा नेता प्रकाशमानको कोटाबाट मन्त्रीको लिस्टमा परेकी हुन् । केन्द्रमा नेता सिंह उपप्रधान सहित सहरी विकास मन्त्री बनेका कारण हरिप्रभाको मन्त्री पद त्यति सुरक्षित देखिँदैन । प्रकाश शरण महतको कोटामा रहेकी उर्मिला नेपाल पनि मन्त्रीको चर्चामा छिन् । तर, महतको कोटामा सांसद खड्का बलियो पात्रको रूपमा रहेकाले नेपाललाई मन्त्री बन्न कठिन हुने देखिन्छ ।

केन्द्र सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै आलोचना भएपछि कांग्रेसले प्रदेश मन्त्रिपरिषद्लाई समावेशी बनाउने गरी अघि बढ्ने देखिन्छ । त्यसो भएको खण्डमा मीन बहादुर परियारको टिममा रहेकी सुना परियार मन्त्री बन्ने निश्चित छ । आरजु देउवा राणाको कोटाबाट विनु रायमाझी मन्त्री बन्ने चर्चा छ ।  शेखर कोइराला-गगन थापाको टिमबाट सुरेश श्रेष्ठ र सुरज चन्द्र लामिछाने मन्त्री बन्ने चर्चा छ भने प्रभात तामाङ, रामकुमार पहाडी र गोविन्द लम्साल पनि मन्त्रीको आकाङ्क्षी देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप