बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०७ साउन २०८१, २१ : ४८
सोमबार, ०७ साउन २०८१

आज २०८१ साउन ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री ओलीलाई सांसदले सोधे प्रश्न, लुम्बिनीको मुख्यमन्त्रीमा गिरीलाई पन्छाउँदै आचार्यले मारे बाजी, एक वर्षमा ४५ अर्बको खाद्यान्न र २३ अर्बभन्दा बढीको फलफूल आयात, समर्थन फिर्ता लिँदै कर्णाली सरकारबाट बाहिरियो माओवादी, पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या, कोशीमा सहमतिको सरकार बनाउने ‘च्याप्टर क्लोज’, कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रबारे मुद्दा नचल्ने लगायत छन् ।

१. विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री ओलीलाई सांसदले सोधे प्रश्न
प्रतिनिधि सभाबाट विश्वासको मत पाएको पोलिपल्टै अर्थात् सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदहरूको प्रश्न सामना गरेका छन् । उनले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्, जसको जवाफ ओलीले दिएका थिए ।  

२. लुम्बिनीको मुख्यमन्त्रीमा गिरीलाई पन्छाउँदै आचार्यले मारे बाजी
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बाजी मारेका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

३. एक वर्षमा ४५ अर्बको खाद्यान्न र २३ अर्बभन्दा बढीको फलफूल आयात
नेपालमा एक वर्षमा ४५ अर्बको खाद्यान्न र २३ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । भन्सार विभागले गत आर्थिक वर्षमा आयात भएका वस्तुको परिमाणसहितको तथ्याङ्क सार्वजनिक गरेको हो ।

४. समर्थन फिर्ता लिँदै कर्णाली सरकारबाट बाहिरियो माओवादी
माओवादी केन्द्रले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सोमबार नै राजीनामा दिएका छन् ।

५. पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीस्थित घरमै राति उनको हत्या भएको हो । उनको हत्या कसले र किन गरेको भन्नेबारे प्रस्ट भइसकेको छैन । प्रहरीले सोधपुछका लागि उनकै घरमा काम गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । 

६. कोशीमा सहमतिको सरकार बनाउने ‘च्याप्टर क्लोज’
कोशी प्रदेशमा सहमतिको सरकार बनाउने ‘च्याप्टर क्लोज’ भएको छ । केन्द्रमा भएको सहमति अनुसार नै अब कोशीमा एमालेले सरकारको नेतृत्व गर्ने र कांग्रेस पनि सामेल हुने भएको हो । योसँगै माओवादी केन्द्र भने सरकारबाट बाहिरिने भएको छ ।

७. कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रबारे मुद्दा नचल्ने
नेपाली कांग्रेसका सांसद सुनिल शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा नचल्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने विवरणसहितको टिप्पणी महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको हो । 

८. सरकार फेरिएसँगै बेचन झाको परिवार पुग्यो सर्वोच्च अदालत
नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार गरिएका बेचन झाको परिवार सर्वोच्च अदालत पुगेको छ । केन्द्रमा सरकार परिवर्तन भएलगत्तै झाको तर्फबाट उनको छोराले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएका हुन् । 

९. बागमतीमा मन्त्रालयको भागबण्डाका लागि सकस
मुख्यमन्त्रीमा दाबी पेस नगर्दै बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे नेपाली कांग्रेस र नेकपा एमालेबिच विवाद बढेको छ । 

१०. साउनको पहिलो सोमबार पशुपतिमा दर्शनार्थीको भिड
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भिड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप