बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आँप क्षेत्रको चुनौती र अवसर पहिचान गर्न विचार गोष्ठीको आयोजना

सोमबार, ०७ साउन २०८१, २० : १४
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । नेपालमा आँप क्षेत्रको चुनौती र अवसर पहिचान गर्न पहिलो पटक ‘आँपसँग सम्बन्धित विचार गोष्ठी’ आयोजना भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत विभिन्न संस्थाद्वारा आयोजित ‘आँप सम्बन्धी विचार गोष्ठी’ ले आँपको खेती, आँपको बजारीकरण, आँपको क्षेत्र विस्तार, प्रविधि विकास, आँपको जात विकास लगायत क्षेत्रमा टेवा पुग्ने देखिएको छ । आँप क्षेत्रमा भएका अवसर र चुनौतीको बारेमा सरकारलाई सुझाव दिने आयोजकले बताएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आँप खेतीको प्रवर्द्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए । मन्त्रीले आँप सम्बन्धी गोष्ठीको माध्यमबाट आगामी दिनमा आँपसँग सम्बन्धित विभिन्न समस्या पहिचान गरी आवश्यक रणनीति तयार गरी अघि बढ्नको लागि सरोकारवालसँग आग्रह गरेका छन् । ‘यो गोष्ठीले अगामी दिनमा आँप बारीको संरक्षण, विकास र अध्ययनका कार्यहरूलाई एकीकृत रूपमा अघि बढाउन नीतिगत एवं संरचनागत सुधारमा सरकार हातेमाले गरेर अघि बढ्न तयार छ,’ उनले भने ।

कार्यक्रममा नेपाल हर्टिकल्चर सोसाइटीका राम बदल साहले नेपालमा आँपको सम्भावना रहेपनि प्राप्त मात्रमा क्षेत्र विस्तार हुन नसकेको बताए । हाल नेपालमा बर्सेनि करिब ५ लाख मेट्रिक टन आँप उत्पादन हुँदै आएको छ । सिपीया, केन्ट, अल्फान्सो, फजली, मालदह, निलम लगायत विभिन्न आँपका प्रजाति नेपालमा पाइने उनले सुनाए ।  

फलफूल खेतीका लागि आधुनिकीकरण, वैज्ञानिकीकरण र आद्योगिकरणको बाधा वा समस्याहरू देखिएको उनको भनाई छ । 

कार्यक्रममा नेपालस्थित अष्ट्रेलियन राजदूतावासकी कविस्थ कस्यनाथनले गोष्ठीले आँपको समस्या र अवसर पहिचान गर्ने उल्लेख गरिन् । यसलाई व्यवसायिकरणमा जोड पुग्ने उनले बताइन् । 

व्यवसायी उमेश श्रेष्ठले नेपालमा ४ खर्ब बराबरको कृषि उपजको वस्तु आयात हुने बताए । बर्सेनि २५ अर्ब स्याउ  मात्रै आयात भइरहेको उनको तर्क छ । उनले नेपालमा कृषिमा योजना धेरै बनाए पनि कृषि आयात नरोकिएको सुनाए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यवाहक कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आँपमा खासै अनुसन्धान हुनु नसकेको बताए । आँप सम्बन्धी गोष्ठीले आफूहरूलाई अनुसन्धान र अध्ययन गर्न टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

कृषि मन्त्रालयका सचिव डा. दीपक कुमार खरालले पहिलो पटक आँपबारे छलफल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले यो गोष्ठीमार्फ आँपको क्षेत्र विस्तार, बाँझो खेतमा आँप खेती विस्तार, आँपको प्रविधि, अवसर, चुनौती लगायत विषयमा छलफल गरी निष्कर्ष मन्त्रालयमा सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे । 

आर एण्ड डी इनोभेटिभ सोलेशन प्रा.लि.की कार्यकारी प्रमुख तथा नेपाल कृषि मेशिनरी संघकी उपाध्यक्ष सुनिता न्हेम्हाफूकीले सरकारको नीति तथा कार्यक्रम निमार्ण गर्नमा आवश्यक सुझाव दिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप