प्रधानमन्त्री–सांसद प्रश्नोत्तर : विषयकेन्द्रित सवालजवाफ छाडेर आक्रोश र कुण्ठा व्यक्त !
काठमाडौँ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले सदनबाट आइतबार विश्वासको मत लिएलगत्तै सोमबार पहिलो पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।
दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक निर्धारित समयमै सुरु भए पनि आकस्मिक र शून्य समयका कारण प्रधानमन्त्रीसँगको कार्यक्रम अलिपछि धकेलियो ।
तर, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सौहार्द र शालीन र सभ्य देखिएन । बरु आक्रोश र कुण्ठा व्यक्त गरेको देखियो ।
प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रमअघि आकस्मिक र शून्य समयमा विभिन्न सांसदहरुले बाढी पहिरो लगायत समसामयिक विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सुरु भयो प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम । बैठकमा प्रधानमन्त्रीलाई पहिलो प्रश्न गर्ने प्रश्नकर्ता थिए–नेपाली कांग्रेस सांसद धनराज गुरुङ । सांसद गुरुङले प्रधानमन्त्री ओलीलाई २ प्रश्न गरेका थिए ।
गुरुङले सिद्धार्थ राजमार्ग, आँधीखोला उच्च बाँध जलविद्युत आयोजना र गैरकानुनी कारोबार अन्त्यबारे जिज्ञासा राखेका थिए । तर जवाफका लागि रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङको प्रश्नको सिधा जवाफ दिनुभन्दा पनि विषयान्तर गरेर अन्य विषयको जवाफ दिन थाले ।
प्रधानमन्त्री ओलीले शून्य समयमा बोलेका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयप्रति केन्द्रित भएर जवाफ दिँदै डेडिकेडेट र ट्रंक लाइनको विषयबारे दाहालको भनाइको प्रतिवाद गर्न पुगे । शून्य समयमा सांसद दाहालले प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युतको महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर सफेद झुट बोलेको बताएका थिए ।
प्रधानमन्त्री ओलीलाई दाहालले संसदमा बोलेको विषयप्रति चित्त बुझेन । त्यसैले प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले दाहालले उठाएको र प्रधानमन्त्रीमाथि लगाएको झुटको आरोपको प्रस्टीकरण दिन थाले । उनले निर्देशनको शैलीमा सांसदहरूलाई संसद्को मर्यादा कायम गर्न र जथाभाबी नबोल्न निर्देशनशैलीमा सम्झाउने प्रयास गरे ।
‘हामी गरिमामय संसदमा छौँ । यहाँ हामीले बोल्दा भएका र सही कुरा बोल्ने गरौँ । तथ्ययुक्त कुरा बोलौँ र जथाभाबी नबोलौँ’, प्रधानमन्त्रीले राजनीतिक पार्टी फरक भयो भन्दैमा झुटको सहारा नलिऔँ भनेर सम्झाउने प्रयास गरेका थिए ।
प्रधानमन्त्रीले जवाफ दिने क्रममा विषयान्तर भएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउन पुगे ।
‘प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हो ? किन सांसदलाई गालीगलौज भन्दै पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्न निर्देशन दिन पुगे ।
रोष्ट्रमबाट पुनको कुरा सुनेका प्रधानमन्त्री ओलीले ‘कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गर्न पुगेका थिए । सभामुखको निर्देशनपछि पनि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको भन्दै सांसद गुरुङले सोधेको प्रश्नको जवाफमा पुन: केन्द्रित भए ।
पुनसँग मात्र होइन प्रधानमन्त्रीको नोकझोंक माओवादीका अर्का सांसद दुर्गा राईसँग पनि पर्यो ।
प्रधानमन्त्रीलाई सांसद दुर्गा राईले एमाले कांग्रेसबीच सत्ता समीकरण फेरबदलबारे मध्यरातमा किन सहमति गरेको ? उज्यालोमा सहमति गर्दा के हुन्थ्यो ? भन्दै प्रश्न गरेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री ओलीले राजनीतिक क्रियाकलापको अफिस बन्द नहुने भन्दै मध्यरात वा दिउँसो जतिवेला पनि सहमति हुनसक्ने जवाफ दिएका थिए ।
प्रधानमन्त्रीले राजनीतिक दलहरूबीच ‘एएम कि पीएम’मा सहमति गर्ने भनेर कहीँ कतै उल्लेख नभएको जवाफ दिएका थिए ।
‘राजनीतिक पार्टीहरूका बीच सहमति एएमभित्र हुनुपर्छ कि पीएमभित्र, कति बजेर कति मिनेट जाँदा हुनुपर्छ, यस्तो कुनै कहीँ कतै छ र ?’, प्रधानमन्त्री ओलीले राईसँग उल्टै प्रतिप्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले पोलिटिकल पार्टीहरूको अफिस अफ नहुने राईलाई जवाफ दिए । ‘पोलिटिकल पार्टीहरूको अफिस अफ हुँदैन । घडीको अफिस अफ हुँदैन । समयको गति अफ हुँदैन’, उनले भने, ‘समय गतिशील हुन्छ । त्यसबेला थकाइ लागेकाहरू सुत्छन् । थकाइ नलागेकाहरू बस्छन्, काम पनि गर्छन् । लेखक, चिन्तकहरू बस्छन् । अरुपनि बस्छन्, विचार विमर्श गर्नेहरू बस्छन् । त्यसैले यस्तो विषयमा टाउको दुखाएर समय खेर फाल्नु म कुनै आवश्यकता देख्दिनँ ।’
उनले सात बुँदे सहमतिबारे आफूले आइतबारकै संसदमा जानकारी दिएको पनि बताए । उनले भने, ‘हिजो मैले सात बुँदेबारे भनिसकेँ । देश र जनताका हितका लागि । अव कसै कसैलाई मर्का परेको हुनसक्छ । त्यो बेग्लै कुरा हो तर यो देशको र जनताको हितको पक्षमा छ ।’ संसदमा ओलीले ९ सांसदका डेढ दर्जन हाराहारीका प्रश्नको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव