आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अपराध

अपराधको सङ्ख्यामा वृद्धि, प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता

सोमबार, ०७ साउन २०८१, १६ : २६
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा देशभरका प्रहरी कार्यालयमा ५९ हजार २०३ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता सङ्ख्या अघिल्लो दुई वर्षको तुलनामा वृद्धि भएको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० मा ५६ हजार ३२३ र २०७८/०७९ मा ४६ हजार ९०२ वटा मुद्दा प्रहरीका युनिटहरूमा दर्ता भएका थिए ।

आर्थिक अपराध बढेसँगै पछिल्लो आर्थिक वर्षमा मुद्दाको चाप बढेको डीआईजी कार्कीले बताए । २०८० साउन १ देखी २०८१ असार मसान्त सम्मको अवधिमा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ । उपत्यकामा १७ हजार ४५ मुद्दा दर्ता भएको छ । मधेस प्रदेशमा ९ हजार ६२० थान र कोशी प्रदेशमा ९ हजार ३८७ थान अपराधका घटना दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा ७ हजार ६४४ थान, बागमतीमा ५ हजार १९७ थान मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६०१ थान र कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ हजार २० वटा अपराधका घटना दर्ता भएको डीआईजी कार्कीले बताए ।

सङ्गठित अपराध, बलात्कार र कर्तव्य ज्यान सम्बन्धी अपराध अघिल्ला वर्षहरूमा भन्दा पछिल्लो एक वर्षमा वृद्धि भएको छ । मधेसमा कर्तव्य ज्यानको घटना सबैभन्दा धेरै दर्ता भएको डीआईजी कार्कीले जानकारी दिए ।

कोशीमा बलात्कारका घटना धेरै

पछिल्लो आर्थिक वर्षमा देशभर २ हजार ५०७ बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । सबैभन्दा धेरै कोशी प्रदेशमा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्याङ्कबाट देखिएको छ । कोशी प्रदेशमा ५ सय १७ वटा बलात्कार घटना दर्ता भएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात् १ सय ८१ थान मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो आर्थिक वर्षमा मधेसमा ३१७ वटा, बागमतीमा २८७ वटा, लुम्बिनीमा ४३६ वटा, कर्णालीमा २०७ वटा र सुदूरपश्चिममा २०२ मुद्दा दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा ३६० वटा बलात्कारका घटना दर्ता भएका छन् । मुलुकभर ४६० वटा जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएका छन् । बलात्कार उद्योग सम्बन्धी घटना पनि कोशीमा सबैभन्दा धेरै छन् ।

अपराधको घटना अनुसन्धानमा ५ हजार २ सय ८५ प्रहरी परिचालित छन् । अपराध अनुसन्धानमा खटिने जनशक्ति बढाउनुपर्ने अवस्था रहेको डीआईजी कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप