बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ निर्माणाधीन १४ र ४२ मेगावाटका दुई सान्जेन जलविद्युत आयोजना (फोटोफिचर)

आइतबार, २३ वैशाख २०७५, १४ : १२
आइतबार, २३ वैशाख २०७५

सरुवा- रसुवाको माथिल्लो सान्जेन जलविद्युत आयोेजनाको काम ७० प्रतिशत सकिएको छ भने तल्लो सान्जेनको काम ६० प्रतिशत सकिएको छ । यस्तै आयोजना निर्माणका लागि ७५ प्रतिशत सेयर रकमसमेत उठाइसकिएको सान्जेल जलविद्युत आयोजना प्रमुख किरणकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आयोजनाले यसै वर्षभित्र आयोजना प्रभावितलाई बाँकी २५ प्रतिशत सेयर निष्काशन गर्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र रसुवाका १८ गाविसहरूको संस्थागत लगानीमा सान्जेन जलविद्युत कम्पनीको स्थापना भएको थियो ।

यो कम्पनीअन्तर्गत १४ दशमलव ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन गरी दुई शृङ्खलाबद्ध जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । 
दुवै आयोेजनाको निर्माण लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब २४ करोड ३२ लाख रुपियाँ रहेको छ । यो रकममध्येको ५० प्रतिशत ऋण र ५० प्रतिशत स्वः पुँजी रहेको छ । सान्जेन जलविद्युत कम्पनीले आयोजनाका लागि २०६८ सालमा कर्मचारी सञ्चयकोषसँग त्रिपक्षीय ऋण सम्झौता गरेको थियो । 

आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३९ दशमलव ३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० दशमलव ३ प्रतिशत र रसुवाका गाविस तथा तत्कालीन जिल्ला विकास समितिको गरी ५१ प्रतिशत प्रवर्धक सेयर रहेको छ । 

                                               किरणकुमार श्रेष्ठ

यस्तै सर्वसाधारणको तर्फबाट जारी गरिएको सेयरअन्तर्गत सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरूको १९ दशमलव ५ प्रतिशत, आयोजना प्रभावित स्थानीयवासीको १० प्रतिशत, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको ३ दशमलव ५ प्रतिशत र कर्मचारी सञ्चयकोषका कर्मचारीहरूको ४९ प्रतिशत सेयर रहेको छ । 

माथिल्लो सान्जेन जलविद्युत आयोजना 
माथिल्लो सान्जेन जलविद्युत आयोजनका क्षमता १४ दशमलव ८ मेगावाट रहेको छ । यो आयोजनाबाट ८ करोड २४ लाख ४० हजार युनिट विद्युत उत्पादन हुने लक्ष्य लिइएको छ । यो आयोजनाका लागि २ अर्ब २१ करोड ८० लाख रुपियाँलागत अनुमान गरिएको छ । 

यो आयोजनामा नेपाल र भारतका दुई निर्माण कम्पनीले संयुक्त रूपमा काम गरिरहेका छन् । भारतको ईसीआई र नेपालको बज्र गुरु जेभीसँग २०६९ मङ्सिर १० गते आयोजना निर्माणको ठेक्का सम्झौता भई निर्माण सुरु भएको हो । ७० प्रतिशत काम सकिएको यो आयोजनाको भूमिगत सुरुङको काम करिब सकिएको छ भने हेडवर्क अन्तर्गत ड्यामसाइट, इन्टेक, डिस्यान्डर, बाइपास क्यानल लगायतका कार्यहरू ९० प्रतिशत सम्पन्न भइसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । विद्युत गृहको जग खन्ने कामसमेत भइसकेको यो आयोजनाको काम १८ महिनाभित्र सक्ने लक्ष्य लिइएको छ । 

सान्जेन जलविद्युत आयोजना
माथिल्लो सान्जेनभन्दा तल रहेको यो आयोजनाको क्षमता ४२ दशमलव ५ मेगावाट रहेको छ । यो आयोजनाबाट २४ करोड १८ लाख ६५ हजार युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि ५ अर्ब २ करोड ४२ लाख रहेको छ । 

तल्लो सान्जेन आयोजनाको काम पनि झन्डै ६० प्रतिशत सकिएको आयोजना प्रमुख किरणकुमार श्रेष्ठले जानकारी दिए । यो आयोजनाको काम पनि नेपाल  र भारतका दुई निमार्ण कम्पनीले संयुक्त रूपमा गरिरहेका छन् । भारतीय कम्पनी स्यु र नेपाली कम्पनी तुदी जोइन्ट भेन्चरले २०६९ पुस २२ गते ठेक्का सम्झौता गरी काम सुरु गरेका थिए । यो आयोजनाको भूमिगत सुरुङअन्र्तगत ५३ सय मिटर मध्ये ३४ सय मिटरको काम सकिएको छ । यस्तै ३ हजार ६ सय ४० हेडरेस टनेलमध्ये २ हजार ५० मिटरको काम सकिएको आयोजनाले जनाएको छ । 

यस्तै हेडवक्र्सअन्तर्गत छिप्चुङ हेडवक्र्स, फोरबे तथा ब्यालेन्सिङ पन्डको काम पनि ५० प्रतिशत सकिएको छ । यस्तै पेनस्टक टनेलको काम पनि ५० प्रतिशत हाराहारीमा सकिएको छ । विद्युतगृह ढलानको काम पनि भइरहेको श्रेष्ठले जानकारी दिए । 

माथिल्लो तथा तल्लो दुवै आयोजनाको विद्युतगृहदेखि चिलिमे हबसम्म १ सय ३२ के.भी. क्षमताको ७ किलोमिटर लामो प्रसारण लाइन कार्य पनि सुरु भएको छ । यसका लागि मुडभरी एन्ड जोशी कन्सट्रक्सन प्रालिसँग २०७४ वैशाख २८ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले माटो परिसक्षण र डिजाइनको काम सकेर जग्गा प्राप्तिको पर्खाइमा बसेको छ । 

यस्तै दुवै आयाजनाहरूका लागि आवश्यक पर्ने करिब ३ सय ७० रोपनी जग्गा अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ । यस्तै प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गाहरू अधिग्रहणको प्रक्रिया पनि सुरु गरिएको छ ।

माथिल्लो सान्जेन तथा सान्जेन दुवै आयोजनाभित्र पर्ने १८ घरहरूलाई पुनःस्थापनाको काम पनि सकेको कम्पनीले जनाएको छ । साथै स्थानीय करिब ९० जनालाई आयोजना अन्तर्गतका विभिन्न काममा नियमित रोजिगारीको व्यवस्था गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप