बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाविरुद्ध किन क्रुद्ध छन् विद्यार्थी ?

सोमबार, ०७ साउन २०८१, १४ : २२
सोमबार, ०७ साउन २०८१

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले आइतबार सरकारी जागिरमा स्वतन्त्रता सेनानीका सन्तानका लागि आरक्षण घटायो । सो निर्णय पूर्व त्यहाँ सरकारी जागिरको एक तिहाइ हिस्सा सन् १९७१ को युद्धमा पाकिस्तानविरुद्ध लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि आरक्षित थियो । तर सर्वोच्च अदालतले यसलाई ५ प्रतिशतमा झारेको छ ।

गएको केही दिनयता त्यहाँका विश्वविद्यालयका हजारौँ विद्यार्थीले सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै आन्दोलन गरिरहेका छन् । शुक्रबारको प्रदर्शनले हिंसात्मक रूप लिएपछि धेरै विपक्षी नेतालाई हिरासतमा लिइएको खबर पनि आएको छ । १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशका लागि सडक आन्दोलन कुनै नौलो कुरा होइन । तर आरक्षणको विरोधमा भइरहेको यो विरोध प्रदर्शनलाई अहिलेसम्मकै सबैभन्दा खराब बताइएको छ ।

आन्दोलनका क्रममा भएको हिंसामा हालसम्म सयभन्दा बढीको मृत्यु भइसकेको छ । शुक्रबार एकै दिनमा ५० भन्दा बढीको मृत्यु भएको थियो । स्थिति बिग्रँदै गएको देखेर सरकारले देशभर इन्टरनेट र फोन सेवा बन्द गरिदियो । विश्वविद्यालय परिसरबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन देशभर हिंस्रक प्रदर्शनमा परिणत भयो ।

के भन्छन् आन्दोलनरत विद्यार्थी ?

बङ्गलादेशमा सार्वजनिक क्षेत्रको एक तिहाइ जागिरहरू सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताको लागि लडेका सेनानीका सन्तानका लागि आरक्षित छन् । यो व्यवस्था भेदभावपूर्ण रहेको विद्यार्थीहरूको तर्क छ । योग्यताका आधारमा सरकारी जागिरमा भर्ना हुनुपर्ने विद्यार्थीहरूको माग छ । प्रहरी र सत्तारुढ अवामी लिगको विद्यार्थी सङ्गठनले बङ्गलादेश छत्रा लिगले शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरिरहेको व्यापक रूपमा अशान्ति फैलिरहेको प्रदर्शनकारीहरूले बताएका छन् । सरकारले भने यी सबै आरोपको खण्डन गर्दै आएको छ । ‘अहिले विद्यार्थी मात्र होइन, देशका सबै वर्गका मानिसहरू यो विरोध आन्दोलनमा सामेल भएका छन्,’ ढाका विश्वविद्यालयका समाजशास्त्रका सहायक प्राध्यापक डा. समिना लुथफाले बीबीसीलाई बताइन् ।

बङ्गलादेशमा कति युवा खोज्दै छन् जागिर ?

बङ्गलादेशको विश्वको सबैभन्दा द्रुत गतिमा बढिरहेको अर्थतन्त्र मध्ये एक हो । तर यो वृद्धिबाट विश्वविद्यालयका विद्यार्थीका लागि रोजगारी सृजना नभइरहेको विज्ञहरू भन्छन् । करिब १ करोड ८० लाख बङ्गलादेशी युवा रोजगारीको खोजीमा रहेको अनुमान गरिएको छ । विश्वविद्यालयबाट भर्खरै बाहिर निस्केका युवाहरूले आफ्ना कम शिक्षित साथीको तुलनामा उच्च बेरोजगारीको सामना गरिरहेका छन् । बङ्गलादेश तयारी पोसाकको निर्यातको पावर हाउस बनेको छ । विश्व बजारमा यहाँबाट करिब ४० अर्ब डलर बराबरको तयारी पोशाक निर्यात हुन्छ । यो क्षेत्रले ४० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ । तर यो रोजगारी पर्याप्त नभएको यहाँका युवा पुस्ता बताउँछन् । 

भ्रष्टाचारीलाई सहयोग गरेको शेख हसिनामाथि आरोप

प्रधानमन्त्री शेख हसिना १५ वर्षदेखि सत्तामा छिन् । उनको शासनकालमा बङ्गलादेशको राजधानी ढाकामा नयाँ सडक, पुल, कारखाना र मेट्रो रेलसमेत बने । गएको एक दशकमा बङ्गलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विगत २० वर्षमा यहाँ २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएको अनुमान विश्व बैंकले गरेको छ । तर यो विकासको केही हिस्साले शेख हसिनाको अवामी लिग नजिक रहेका मानिसहरूलाई मात्र सहयोग गरिरहेको केही मानिस बताउँछन् ।

‘हामीले धेरै भ्रष्टाचार देखिरहेका छौँ, विशेषगरी सत्तारुढ दलका नजिकका मानिसहरूबीच । भ्रष्टाचार लामो समयदेखि चलिरहेको छ ।’ डा. लुथफा भन्छिन् । हालैका महिनामा बङ्गलादेशको सामाजिक सञ्जालमा प्रधानमन्त्री शेख हसिनाका केही पूर्व शीर्ष अधिकारीहरू विरुद्ध भ्रष्टाचारको आरोपको चर्चा भइरहेको छ । जसमा पूर्व सेना प्रमुख, पूर्व प्रहरी प्रमुख, वरिष्ठ कर अधिकारी र राज्य भर्ती अधिकारी पनि संलग्न छन् । शेख हसिनाले गत हप्ता पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचारविरुद्ध कारबाही गरिरहेको बताएकी थिइन् । भ्रष्टाचार लामो समयदेखिको समस्या रहेको पनि उनले बताइन् ।

३ करोड ४० लाख डलर जम्मा गरेको खबर आएपछि एक घरेलु कामदारलाई कारबाही गरिएको ढाकामा आयोजित सोही पत्रकार सम्मेलनमा उनले बताएकी थिइन् । भ्रष्टाचार बारे थाहा पाएपछि आफूले तत्काल कारबाही गरेको उनको भनाइ थियो । तर प्रधानमन्त्री शेख हसिनाले उक्त व्यक्तिको नाम भने लिइनन् ।

‘बङ्गलादेशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन भइरहेको छैन’

यति धेरै पैसा सरकारी ठेक्का, भ्रष्टाचार वा घूसखोरीका लागि लबिङ गरेर मात्रै जम्मा हुन सक्थ्यो भन्ने बङ्गलादेशी सञ्चार माध्यमको प्रतिक्रिया थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले शेख हसिनाका सहयोगी र पूर्व प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अवैध तरिकाले करोडौँ डलर सङ्कलन गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ । तर, बेनजिरले उक्त आरोप अस्वीकार गर्दै आएकी छन् ।

बङ्गलादेशीहरू पहिला देखि नै महँगीका कारण आक्रान्त बनेका थिए । भ्रष्टाचारको बाहेक पनि सरकारमाथि विगत १५ वर्षदेखि मानव अधिकार उल्लङ्घन गरेको र लोकतान्त्रिक गतिविधिमा अङ्कुश लगाएको आरोप पनि छ । ‘यहाँ लगातार तीन पटकसम्म स्वतन्त्र र निष्पक्ष चुनाव भएको छैन,’ ह्युमन राइट्स वाचकी दक्षिण एसिया निर्देशक मीनाक्षी गांगुलीले बीबीसीलाई बताइन् । शेख हसिनाले नेता छनौट गर्ने आफ्नो सबैभन्दा आधारभूत लोकतान्त्रिक अधिकारबाट वञ्चित गरेकोप्रति जनताको असन्तोष कम आँकेको उनको भनाई छ ।

सञ्चार माध्यमलाई दबाउने कोसिस गरेको आरोप

शेख हसिनाको कार्यकालमा स्वतन्त्र र निष्पक्ष चुनाव सम्भव छैन भन्दै प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिष्ट पार्टी (बीएनपी)ले सन् २०१४ र सन् २०२४ को चुनाव बहिष्कार गरेको थियो । चुनाव निष्पक्ष कार्यवाहक प्रशासनको अधीनस्थ होस् भने दलको चाहना थियो । तर प्रधानमन्त्रीले अहिलेसम्म सो माग अस्वीकार गर्दै आएकी छिन् । गएको १५ वर्षमा ८० भन्दा धेरै मानिसहरू बेपत्ता भएको र तिनका परिवारले उनीहरूको अवस्थाबारे कुनै जानकारी नपाएको मानवअधिकार समूहको भनाइ छ । यसमा कयौँ मान्छे सरकारका आलोचक पनि थिए । सरकारमाथि विरोधी र सञ्चार माध्यमहरूलाई दबाएको आरोप लागेको छ । शेख हसिना पछिल्लो केही वर्षयता निरङ्कुश बन्दै गएको भनिरहेका छन् । तर उनकै मन्त्रीहरूले यो आरोप नकारेका छन् । सरकार र सत्तारुढ दलप्रति सर्वसाधारणमा लामो समयदेखि रिस र असन्तुष्टि बढिरहेको थियो । यतिबेला यही रिस र असन्तुष्टि पोखिरहेको डा. लुथफा भन्छिन् । कुनै उपाय नभएपछि मान्छेले विरोध प्रदर्शनको सहारा लिने पनि उनले बताइन् ।

आन्दोलनबारे के भन्छ सरकार ?

प्रदर्शनकारीहरूले उत्तेजक व्यवहार देखाइरहेको भए पनि सरकारले थप संयम अपनाएको शेख हसिनाका मन्त्रीहरूले बताएका छन् । विपक्षी र इस्लामिक पार्टीका समर्थकहरू विरोध प्रदर्शनमा प्रवेश गरेको उनीहरूको भनाइ छ । हिंसाको सुरुआत यिनीहरूले नै गरेको सरकारको भनाइ छ । सरकार यी मुद्दामा चर्चाका लागि तयार रहेको कानुनमन्त्री अनीसुल हक भन्छन् । सन् २००९ को जनवरी यता प्रधानमन्त्री शेख हसिनाका लागि गएको हप्ता सबैभन्दा ठुलो चुनौतीपूर्ण थियो । यो मुस्किलको समाधान कसरी गर्ने भन्ने कुरा अहिलेको अवस्थामा उनले कसरी व्यवहार गर्छिन् भन्नेमा भर पर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा जनतामा बढ्दो आक्रोशलाई उनले कसरी कम गर्छिन् भन्नेमा भर पर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप