शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश प्रमुखको सचिवालयमा परिवारवाद हावी

१२ जनामध्ये तीन छोरा, बुहारी, नातिदेखि भाञ्जालाई अवसर
सोमबार, ०७ साउन २०८१, १४ : ०८
सोमबार, ०७ साउन २०८१

नेपालगञ्ज । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् ।

बाँकेको कोहलपुर नगरपालिका–१२, निबुवा निवासी परियारले दुई जनालाई भने माओवादी केन्द्रको सिफारिस अनुसार नियुक्ति दिएका छन् । परियारको प्रमुख स्वकीय सचिवमा वीरेन्द्रनगर नगरपालिका–३ का दानसिंह सुनार छन् भने वीरेन्द्रनगर नगरपालिका–१०, का टेकेन्द्र विश्वकर्मा फोटोग्राफर अधिकृत छन् । उनीहरू दुवै जना माओवादी कर्णाली प्रदेश कमिटीले पठाएका व्यक्ति हुन् । सुनार सुर्खेत जिल्ला पार्टीमा क्रियाशील छन् भने विश्वकर्मा माओवादी निकट प्रेस सेन्टरको सुर्खेत जिल्ला अध्यक्ष हुन् ।

तीबाहेक एक जना गण्डकी प्रदेशको स्याङ्जा निवासी छन् भने बाँकी ९ जना लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लाका छन् ।

सहस्वकीय सचिव रहेका पदमबहादुर विक कालीगण्डकी–४, स्याङ्जाका हुन् । प्रदेश प्रमुखको व्यक्तिगत नियुक्तिबाट आएका उनी प्रायः काठमाडौँमै बस्छन् ।

प्रदेश प्रमुख परियारका तीन छोरामध्ये जेठो छोरा दिपककुमार परियार कम्प्युटर सहायक, माइला छोरा जंगवीर परियार सवारी चालकका रूपमा नियुक्त भएका हुन् । यस्तै कान्छो छोरा उत्तम परियारले चौथो श्रेणीको स्वकीय अधिकृतको पारिश्रमिक बुझ्छन् । उत्तमकी श्रीमती सुनिता छिनाल सचिवालयमा तेस्रो श्रेणीमा छिन् ।

प्रदेश प्रमुखको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार उपस्वकीय सचिव रहेकी उनको ठेगान त्रिपुर–९ दाङ उल्लेख छ ।

1

कोहलपुर नगरपालिका–१२ कै पुनित रोहिला लेखा सहायक छन्, जो परियारका नाति हुन् । परियारकी जेठी छोरीका छोरा प्रकाश विक प्रशासन सहायक छन् । उनकी जेठी र माइली छोरीको विवाह निबुवा गाउँमै भएको छ । प्रकाश सधैँ बाजेसँगै रहन्छन् । परियार साविक प्रदेश २ को प्रदेश प्रमुख हुँदा पनि नाति प्रकाश सचिवालयमै थिए ।

यस्तै अर्का नाति, प्रदिप परियार (माइली छोरीका छोरा) कार्यालय सहयोगीका रूपमा छन् भने बाँके राप्तीसोनारी–६, का विक्की परियार पनि सवारी चालक छन् । जो प्रदेश प्रमुख परियारकी बहिनीका छोरा अर्थात् भाञ्जा हुन् ।

राप्तीसोनारी–९, का हरिबहादुर परियार पनि कार्यालय सहयोगी छन् । उनी तिलककै भाइको छोरा हुन् ।

कार्यालयमा हाजिर नभइ खान्छन् तलब

प्रदेश प्रमुखको कार्यालयले उपलब्ध गराएको पारिश्रमिक विवरण अनुसार सचिवालयमा रहेका १२ जनाको पारिश्रमिकमा मात्रै मासिक चार लाख ४५ हजार ४०९ रुपैयाँ सकिन्छ । उनीहरूले पाउने अन्य सेवा, सुविधा पनि छन् ।

तर, परियारका तीन छोरा र सहस्वकीय सचिव रहेका पदमबहादुर विक प्रायः कार्यालयमा हाजिर हुँदैनन् । उनीहरू बाहिरै बसेर तलबभत्ता खाइरहेका हुन्छन् ।

पदमबहादुरले नियुक्ति पनि उतै (काठमाडौँ) मै बुझेका हुन् । उनी सुर्खेतमा अहिलेसम्म खासै नआएको बताइन्छ । परियारका छोराहरू कोहलपुरमै व्यवसायमा व्यस्त छन् । रातोपाटीको सम्पर्कमा रहेका निबुवाका एक स्थानीय माओवादी कार्यकर्ताका अनुसार उनीहरू उनीहरू  कोहलपुरमै बसेर कर्णाली प्रदेश प्रमुखको सचिवालय सदस्यका रूपमा तलब बुझ्छन् ।

कान्छो छोरा उत्तम परियारको त्रिचन्द्रा राइस मिल र रोल्पाली स्टोर गरी दुई वटा व्यवसाय छन् भने माइलो छोरा जंगवीरको ट्याक्टर व्यवसाय छ । जेठा दिपककुमार परियार भने घरमै व्यस्त हुन्छन् ।

‘उनीहरू कहिलेकतै बा–आमालाई भेट्न बाहेक अरु बाँकी समय घरमा देखिन्छन्, आफ्नो व्यवसायमा व्यस्त छन्,’ उनले भने, ‘व्यवसायमा लागेर सरकारी तलब–सुविधा खाने यो त गलत कुरा हो र बेथिति हो । माओवादीहरू यस्तो भएको देख्दा अचम्म लागेको छ ।’

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले पनि यो कुरा स्वीकार गरे । ‘कर्मचारी नियुक्त गर्ने अधिकार प्रदेश प्रमुखको हो, हाम्रोभित्र केही पर्दैन,’ उनले भने, ‘उहाँले नियुक्त गरेर पठाएपछि तलबभत्ता भुक्तानी गर्ने काम हाम्रो हो । प्रदेश प्रमुखलाई दिने सेवा सुविधा सर्तमा १२ जना राख्न मिल्ने भन्ने छ ।’

बुहारीलाई नियुक्त गर्न निकालिएको थियो जनयुद्धका घाइते परिवारका सदस्यलाई

पार्टीमा लागेको दलित समुदायकै एक महिलालाई नियुक्त गर्ने भनेर त्यहाँ कार्यरत निरज सिंहलाई प्रदेश प्रमुख परियारले निकालेका थिए ।

माओवादी बाँके कमिटीको सिफारिसमा निरज सिंह उप–स्वकीय सचिवमा नियुक्त भएका थिए । सिंहलाई ०८० असोजतिर त्यहाँबाट निकालियो । सुरुमा पार्टीमा सक्रिय एक दलित समुदायका महिलालाई नियुक्त गर्न पार्टीले भनेको छ भनेर परियारले सिंहलाई जिम्मेवारी छाड्न भनेका थिए । सिंहले उक्त कुरा बाँके पार्टी कमिटीलाई रिपोर्ट गरे ।

बाँके पार्टी कमिटीले नछाड्न भन्यो तर, पछि परियारले सिंहको कार्यशैलीमाथि प्रश्न उठाएर छाड्न बाध्य पारेको स्रोत बताउँछ । सिंह पनि जनयुद्धमा घाइते परिवारबाट थिए । उनका बुबा जनयुद्धका घाइते हुन् । जनयुद्धको घाइते कोटाबाट उनलाई त्यहाँ पठाइएको हो । पछि पार्टीको नेता नभइ कान्छी बुहारी सुनिता छिनाललाई त्यहाँ नियुक्त दिलाइयो ।

पार्टीभित्र व्यापक विरोध

प्रदेश प्रमुख परियार दम्पती नै जनयुद्धमा होमिएका र सङ्घर्ष गरेका थिए । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिस्ट राजनीतिमा लागेका व्यक्ति हुन् ।

परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय सल्लाहकार समेत हुन् । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पार्टीको काम गरेका थिए । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सरेका परियार माओवादी जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए ।

उनले सुरुमा मशाललाई समर्थन गरे पनि त्यसको विभाजनपछि बनेको नेकपा मशाललाई सघाए । त्यही मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर २०४७ सालमा बनेको नेकपा एकताकेन्द्र हुँदै एकता केन्द्रको फुटपछि स्थापना गरिएको नेकपा (माओवादी)मा आबद्ध भएर उनी जनयुद्धमा सहभागी भएका थिए ।

विभिन्न कारागारमा गरी ३ वर्ष ४ महिनाको जेल जीवन बिताएका परियार गणतन्त्रपछि भने निरन्तर लाभको पद पाइरहेका व्यक्ति हुन् । ०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद सदस्य भए । नेकपा माओवादी केन्द्रको सिफारिसमै उनी ०७६ कत्तिक १८ मा साविक प्रदेश २ को प्रमुखमा नियुक्त भए ।

माओवादी केन्द्रबाट परियार प्रदेश प्रमुख भएका थिए । नेकपा विभाजनपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीले २०७७ फागुन ७ मा उनलाई पदमुक्त गरेकी थिइन् । उनी बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।

तर उनी प्रदेश प्रमुख भइसकेपछि परिवादमा लिप्त भएको भन्दै माओवादी केन्द्र बाँकेभित्र व्यापक विरोध भएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारीले रातोपाटीसँग भने, ‘यो कुरा अलिअलि सुनिएको हो, सबै परिवारको सदस्य राखिएको हो भने त्यो गलत कार्य हो ।’

माओवादी केन्द्र कोहलपुर नगर कमिटीका उपाध्यक्ष सावित्रा पुन भन्छिन्, ‘उहाँ राम्रो व्यक्ति हो तर, उहाँले गरेको काम र बसालेको थिति ठिक भएन । उहाँकै वरिपरि पनि उहाँभन्दा बढी पीडित भएका मान्छे छन् । जनयुद्धमा सबै गुमाएकाहरू के खाउँ–के लाउँ भन्ने अवस्थामा छन्, तर उहाँको परिवार अहिले त्यस्तो छैन । सबै लाभ उहाँहरूले मात्रै लिइरहनुभएको छ ।’

यो विषयमा आफूहरूले पार्टीभित्र व्यापक आवाज उठाएको तर परियार निकट व्यक्तिहरूले गुटको व्यक्ति भनेर प्रचार गरिदिएको गुनासो उनले गरिन् । उनका अनुसार पार्टीले परियारलाई परिवारको सदस्यबाट २ जना नियुक्त गर्न भनेको थियो । सचिवालयका अन्य सदस्यमा जनयुद्धका पीडित परिवारलाई पनि समेटर अघि बढ्न सुझाव दिइएको उनको भनाइ छ ।

पुन भन्छिन्, ‘उहाँहरू खान लाउन पुगेकै व्यक्ति हो, गणतन्त्रपछि लगातार लाभको पद पाइरहनु भएको छ । पहिला प्रदेश प्रमुख हुँदा पनि परिवारकै मान्छे थिए ।’

प्रदेश प्रमुख परियारमा मात्र नभएर सबै नेता त्यही बाटोमा अघि बढिरहेको देख्दा दिक्क लाग्ने गरेको पुन बताउँछिन् । ‘अरु जे–जस्तो भए पनि हाम्रो नेता परिवारवादमा नफस्नुहोस् भन्ने हो, लगानी त सबैको छ नि ! निम्न परिवारका, घाइते, अपाङ्ग पनि छन् । हामीले हाम्रो नेतालाई परिवारका सदस्यहरू भर्ती गर्न भनेर पठाएको होइन ।’

यो विषयमा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भने बचाउ गरिन् । परिवार नै जनयुद्धमा लागेको, अहिले सबैले परिवारवाद नै अँगालेको भन्दै केसीले परियारको बचाउ गरिन् । तर बाँकेका स्थानीय नेताहरू भने यो परिपाटी नसुध्रिए पार्टी झन् कमजोर हुने बताउँछन् ।

कोहलपुर नगर कमिटी उपाध्यक्ष पुन भन्छिन्, ‘उहाँले छोराहरूलाई सचिवालयमा नियुक्त गर्नुभयो तर, छोराहरू कहिल्यै कार्यालय गएको देखिदैँन । तलब भत्ता कर्णालीको खाने, काम आफ्नो घरको गर्ने, यो त भएन नि ?’

यो विषय आफूहरूले पार्टी अध्यक्ष प्रचण्डलाई समेत सुनाएको उनले बताइन् । ‘जनतामा आशा भनेको हिजो जनयुद्ध गरेको, हजारौँले बलिदानी दिएको पार्टीले देशमा केही परिवर्तन गर्छ भन्ने थियो, त्यही कारण उहाँहरू यो स्थानसम्म पुग्नुभयो, तर सदुपयोग भएन,’ उनले भनिन्, ‘यो राजनीतिक नियुक्तिको विकृत अभ्यास हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप