मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय
पूर्वराज्यमन्त्री हत्या प्रकरण

सहयोगीको बयान- ‘साँझ ३ जना आएका थिए, मैले ओछ्यान मिलाइदिएँ’

सोमबार, ०७ साउन २०८१, १४ : ०७
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत भेटिएका रामचन्द्र रायको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । राय पूर्वराज्यमन्त्री हुन् ।

हत्यापछि पूर्वराज्यमन्त्रीको घरमा सहयोगीको रूपमा कार्यरत राम उजेन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । २१ वर्षीय रायले गए राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्– ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यही बस्ने भनेपछि उहाँ (पूर्वराज्यमन्त्री) को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’

ओछ्यान मिलाएर आफू माथिल्लो तलामा सुत्न गएको रायले प्रहरीसँग बताएका छन् । पूर्व मन्त्रीका आफन्तहरूले राति साढे ११ बजेतिर घटना भएको जानकारी पाए । ८० वर्षीय रायको टाउकोको बायाँ पट्टिको भागमा चोट लागेको छ ।

राम उजेनको भनाइलाई यकिन गर्न पोलिग्राफ परीक्षण गराउन लागिएको मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने– ‘पोलिग्राफ परीक्षण गराउँदैछौँ ।’ पोलिग्राफ परीक्षण गर्दा ढाँटेको पत्ता लाग्छ ।

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गरिएको छ । राति आएका ३ जनाले जग्गाबारे कुरा गरेको राम उजेनले बताएका छन् । उनले भनेका छन्– ‘जग्गाको विवाद मिलाइदिनुपर्‍यो भनेको सुनेको थिएँ, त्यसपछि म सुत्न गएँ ।’

बाहिरबाट आउने ३ जना र पूर्वराज्यमन्त्री भुइँतलामा सुतेको युवकले प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप