बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
सरुवामा बेथिति

गृहको नेतृत्व फेरिनासाथ हचुवामा डीएसपी र एसपीको सरुवा

क्लब सञ्चालकको दबाबमा तानिए बैदामका डीएसपी
सोमबार, ०७ साउन २०८१, १५ : ४३
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले ५ जना एसपी र ९ जना डीएसपीलाई काज सरुवा गरेको छ । सरुवा गरिएका अधिकृतहरू कार्यक्षेत्रमा ५ महिना र १० महिनामात्रै काम गरेका छन् ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि हचुवाको भरमा प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने ‘चलन’ स्थापित हुँदै छ । यसअघि रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त भएको १ महिनामा तराईका ६ जिल्लाका प्रहरी उपरीक्षकहरू सरुवा गरेका थिए । त्यसबेला महोत्तरीबाट श्याम कुमार राई र सर्लाहीबाट दयानिधि ज्ञवालीलाई ५१ दिनमा नै फिर्ता बोलाएका थिए ।

तनहुँका इन्चार्ज (एसपी) अपिल राज बोहरा २०८० फागुन १ मा सरुवा भएका थिए । त्यहाँ हाजिर भएको ५ महिनामा नै उनलाई हटाइएको छ । जुवाखालबाट ३ हजार ४ सय बरामद भएका ‘महिला समूह’ र बाघचाल खेल्नेहरूलाई मुद्दा चलाएको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरी ऐन र नियमावली विपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कानुनी व्यवस्था भए पनि हचुवाको भरमा अधिकृतहरू तानिँदै आएका छन् । उनले समन्वय गर्न नसकेको आरोप लगाइएको छ । तर, स्थानीय कांग्रेस नेतृत्वको आग्रहमा गृहमन्त्री रमेश लेखकले उनलाई सरुवा गर्न आईजीपीलाई निर्देशन दिएका हुन् । बोहरालाई हटाएर तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ ।

रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी प्रधान कार्यालयले कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी राजेन्द्र श्रेष्ठलाई पनि अवधि नपुग्दै काज सरुवा गरेको छ ।

बाउन्सरलाई मुद्दा चलाउँदा सरुवा

पोखरास्थित वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठलाई क्लब सञ्चालकको दबाबमा सरुवा गरेको आरोप छ । डीएसपी श्रेष्ठ २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठले क्लब–१६ मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सो क्लबको संचालकको दबाबमा सरुवा गरिएको आरोप छ ।

असार १५ मा बिहान ग्राहकलाई कुटपिट गरेपछि मुस्ताङ घर भएका रिजन गौतम र पोखरा–१० बस्ने बिबेक गुरुङलाई पक्रेर वडा प्रहरी कार्यालय बैदामले मुद्दा चलाएको थियो । उनीहरू सो क्लबका बाउन्सर हुन् । उनीहरूले पोखरा महानगरपालिका–११ बस्ने उनीहरूले मुस्ताङ घर भएका २१ वर्षीय आयुष थापालाई हेलमेटले कुटेका हुन् ।

बाउन्सरलाई मुद्दा चलाएपछि क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको पोखराका व्यवसायीहरू बताउँछन् । रेस्टुरेन्ट व्यवसायी सङ्घ पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘पोखराका पर्यटन व्यवसायीहरुको नाममा उजुरी हालिएको रहेछ, व्यवसायीलाई त्यसबारे जानकारी छैन ।’

आपराधिक घटनामा कारवाहीको दायरामा ल्याउँदा सरुवा गरिएको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी र गण्डकी प्रदेशका डीआईजीलाई ज्ञापन पत्र बुझाउन लागिएको भट्टराईले बताए । उनले भने, ‘यसबारे हामी प्रमुख जिल्ला अधिकारी र प्रदेशका डीआईजीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउँदै छौं ।’

बैदाममा सन्तोष निरौलालाई पठाइएको छ । रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राईलाई पठाइएको छ ।

उदयपुरमा कार्यरत एसपी रमेश थापा र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदिप पाठकलाई पनि सरुवा गरिएको छ । भोजपुरमा डीएसपी युवराज तिमिल्सिनालाई खटाइएको छ । थापा र पाठकलाई माग अनुसार नै फेरबदल गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । पाठक २०८० भदौ १५ मा र थापा २०८० असोजमा उदयपुरमा गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप