धेरै क्षेत्रमा प्रथम पुष्पलाल : राष्ट्रिय कांग्रेसको प्रथम सचिव, नेकपाको प्रथम महासचिव...
कम्युनिस्ट पार्टी खोल्नुको औचित्यका बारेका कमरेड पुष्पलालले भन्नुभएको छ, ‘प्रत्येक वर्गको स्वार्थ भिन्नाभिन्नै हुने हुनाले एउटै संगठनले सबै वर्गको स्वार्थलाई प्रतिनिधित्व गर्न सक्दैन । अतः भिन्नाभिन्नै वर्गको अलग अलग राजनीतिक संगठन हुन आवश्यक हुन्छ । यस्तो राजनीतिक संगठनमा एक वर्गका सबै व्यक्तिहरू सरिक हुन सक्दैनन् । उनीहरूको चेतनाको स्तरले गर्दा यो सम्भव छैन । अतः पार्टी भन्नाले कुनै पनि वर्गको सबभन्दा चेतनशील, लडाकु, संगठित र अनुशासित दस्तालाई हामीले बुझ्नुपर्छ ।’
यो वर्ष नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको छ । भर्खरै मात्र हामीले कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव मनाएका छौँ । साथै कमरेड पुष्पलालको १००औँ जन्मजयन्ती पनि यही वर्ष परेको छ । करिब सय वर्षअगाडि र आजको समाजमा आमूल परिवर्तन भएको छ ।
त्यो समाजको डरलाग्दो एवं कहालीलाग्दो परिस्थितिका बारेमा यो समाजका नयाँ पुस्ताले कल्पना समेत गर्न सक्दैनन् । जहाँ पढ्ने, लेख्ने, बोल्ने समेत स्वतन्त्रता थिएन । दासत्वको त्यो परिस्थितिमा विद्रोहको बिउ रोप्ने कार्य चानचुने कुरा थिएन । दमन र शोषणका विरुद्ध विद्रोह त बेला बेला हुने गरेकै थिए, तर विद्रोहपछि कस्तो समाज बनाउने र त्यसको सञ्चालन पद्धति कस्तो हुने भन्ने सम्बन्धमा खास सिद्धान्त नहुँदा ती विद्रोह तुहिन्थे ।
निरङ्कुशता र दासताको अन्त्य गर्नका लागि साहस त चाहिन्थ्यो नै, सँगसँगै स्वतन्त्रता, लोकतन्त्र र समानताको पनि ज्ञान चाहिन्थ्यो । के के गर्ने ? कसरी गर्ने ? ककसले गर्ने ? किन गर्ने ? कस्तो समाज बनाउने भन्ने विषयको रूपरेखा चाहिन्थ्यो । यही सचेत प्रयत्न गर्ने महान् व्यक्तित्व क. पुष्पलालको आज ४६औँ स्मृति दिवस हो ।
साउन महिनामै नेपाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक व्यक्तित्व कमरेड तुलसीलालको पनि मृत्यु भएको हो । साथै विश्व कम्युनिस्ट आन्दोलनको एउटा सिद्धान्तकार, व्याख्याता, कम्युनिस्ट घोषणापत्रका एक रचयिता, कमरेड मार्क्सका समकक्षी कमरेड एंगेल्सको निधन पनि यही महिना (५ अगस्तमा) भएको थियो । यसर्थ साउन महिनाभरि स्मृतिका कार्यक्रम व्यापक हुने गर्छन् । यहाँ भने पुष्पलालको चर्चा गरिनेछ ।
- स्पष्ट दृष्टिकोण मार्गदर्शक र नेकपाको संस्थापक
जसरी महान् लेनिनको राजनीतिक जीवनी उहाँका दाजु अलेक्जेन्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपश्चात् सुरु भयो, त्यसरी नै क. पुष्पलालको राजनीतिक जीवनी राणाशाहीले उहाँका जेठा दाजु गंगालाललाई १९९७ सालमा प्राणदण्ड दिएपछि सुरु भएको छ । राणााशाहीले शिक्षाबाट वञ्चित गराउँदै जनतालाई गुमराहमा राखेका थिए । दाजु गंगालालको सहादतबाट पुष्पलाल विद्रोही मात्रै भएनन्, जनतालाई शोषणबाट मुक्ति गर्ने उत्कट मनोकाङ्क्षा लिएर अगाडि बढे ।
तत्कालीन अवस्थामा नेपाली कांग्रेसको रबैया, सिद्धान्त, दृष्टिकोण र व्यवहारले नेपाली समाजको मुक्ति हुँदैन, यसका लागि सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको नै आवश्यकता छ ।
प्रथम हुने अवसर सबैलाई कहाँ मिल्छ र ? माक्र्स–एंगेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्रलाई उहाँले पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । माक्र्सवादका बारेमा नेपाली भाषामा लेखिएको प्रथम लेख पनि कमरेड पुष्पलालले नै लेख्नुभएको थियो ।
यो बोध गरेर कमरेड पुष्पलालले कम्युनिस्ट पार्टीको प्रथम घोषणापत्रमा यसरी अभिव्यक्त गर्नुभएको छ, ‘नेपाल राष्ट्रिय कांग्रेसका दुवै दलहरू र तथाकथित नेपाल प्रजातन्त्र कांग्रेसले नेपाली जनताको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थहरूप्रति मात्र विश्वासघात गरेका होइनन्, लाज–शरम पचाएर नेपालको अत्याचारी सामन्तवादसँग भारतको प्रतिक्रियावादी नेहरु सरकारसँग र अङ्ग्रेज–अमेरिकन युद्धवादीहरूसँग मेलमिलाप गर्न लगातार कोसिस गरिरहेका छन् ।
सोभियत संघ, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भइरहेको चिनियाँ जनताको तुफानी विजय र बर्मा, मलाया, भियतनाम तथा इन्डोनेसियामा चलिरहेको औपनिवेशिक मुक्ति आन्दोलनका विरुद्ध उनीहरू आफ्ना भाषण र मुखपत्रमा विषैला छेड्खाना प्रस्तुत गर्दै छन् । उनीहरूको भनाइ अनुसार त्यो घृणित राणा सरकार नेपालका श्रमजीवी जनताको साझा वैरी होइन । उनीहरूको प्रचार अनुसार कम्युनिजम र कम्युनिस्टहरू नेपालका निमित्त ठुलो खतरा हुन् । यहाँसम्म कि कम्युनिजम विरुद्ध लडाइँको दौरानमा नेपाली जनताको रगतले रङ्गिएको राणाहरूको हातसित आफ्ना हात मिलाउन उनीहरू राजी छन् । ...कम्युनिजमको विरुद्ध लड्ने बहाना गरेर अनुचित तरिकाले कमाइएको पुँजीको रक्षाका निमित्त उनीहरू शोषित जनतासित नै लड्दछन् ।’
पुष्पलालका अनुसार, कम्युनिस्टहरू पसिना चुहाउने जनताकै संघर्षलाई अगाडि बढाउँछन् । त्यसैले यी विश्वासघातीहरूले कम्युनिस्टहरूको विरुद्ध आफ्नो सबै बल लगाउनु स्वाभाविकै हो ।
शोषित जनताको अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरूको दलाली गर्नका निम्ति उनीहरूले ‘तेस्रो बाटो’को जाली नारा उठाएको पुष्पलालको भनाइ छ । ‘आफ्ना विश्वासघाती अनुहारहरूलाई ढाक्न र प्रतिक्रियावादीहरूसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकच्चराहरूले तेस्रो बाटोको नारा लगाएका हुन् । यसो गर्नु नक्कली राजनीति गर्नु हो,’ पुष्पलालले लेखेका छन्, ‘नेहरुको तेस्रो बाटोको नमुना नै यसको मनग्गे प्रमाण हो । नेहरु पहिले त तेस्रो बाटो भनेर कड्के तर केही महिनापछि नै उनी सामन्तवाद–पुँजीवाद–साम्राज्यवादको संयुक्त गुटमा आएर उत्रे, अङ्ग्रेज अमेरिकन युद्धवादी गुटमा हाजिर भए ।’
नेपाली कांग्रेसको कार्यालय सचिवजस्तो गरिमामय पदमा रहेता पनि सो पार्टीको नीति सिद्धान्त र दृष्टिकोणमा गम्भीर असहमति प्रकट गरेर नेपाली कांग्रेस परित्याग गरी उहाँले श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको देखिन्छ ।
नेपाली समाजको बनोट, नेपाली समाजको चरित्र र पञ्चायती निरंकुशताको विरुद्धमा वाम–बुर्जुवा शक्तिहरूको संयुक्त जनआन्दोलनले मात्र सफलता मिल्न सक्छ र जबसम्म यी दुवै शक्तिबिचको सहकार्य हुँदैन तबसम्म पञ्चायती निरंकुशताको विरुद्धमा सफलता पाउन सकिँदैन भन्ने कमरेड पुष्पलालको ठहर रहेको थियो ।
उहाँले नेपालका श्रमजीवी वर्गको असली पहरेदारी रूपमा कम्युनिस्ट पार्टीलाई उभ्याउनुभएको थियो र औचित्य पुष्टि गर्दैै प्रजातन्त्र, समानता र समृद्धि हुँदै वर्गीय मुक्तिका लागि कम्युनिस्ट पार्टी खोल्नुभएको देखिन्छ । सोही नाराको वरिपरि आज नेपालका ७० प्रतिशत जनता गोलबन्द भएका छन् ।
- धेरै क्षेत्रमा प्रथम
प्रथम हुने अवसर सबैलाई कहाँ मिल्छ र ? कमरेड पुष्पलाल धेरै कुरामा प्रथम हुनुभएको छ । उहाँ नेपाली राष्ट्रिय कांग्रेसको पनि प्रथम कार्यालय सचिव रहनुभएको थियो । जहाँ बसेर उहाँले नेपाली कांग्रेसको असली चरित्र, व्यवहार र सिद्धान्तलाई गहिरो गरी नियाल्नुभयो र सो पार्टी नेपाली श्रमजीवी वर्गको भरोसायोग्य पार्टी नभएको कुरा पत्ता लगाउनुभयो । त्यसपछि नेपाली श्रमजीवी वर्गका असली सारथिका रूपमा आफ्नै अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । सो पार्टीको प्रथम महासचिव हुनुभयो ।
माक्र्स–एंगेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्रलाई उहाँले नै पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । माक्र्सवादका बारेमा नेपाली भाषामा लेखिएको प्रथम लेख पनि कमरेड पुष्पलालले नै लेख्नुभएको थियो ।
नेपाली समाजको बनोट, नेपाली समाजको चरित्र र पञ्चायती निरंकुशताको विरुद्धमा वाम–बुर्जुवा शक्तिहरूको संयुक्त जनआन्दोलनले मात्र सफलता मिल्न सक्छ र जबसम्म यी दुवै शक्तिबिचको सहकार्य हुँदैन तबसम्म पञ्चायती निरंकुशताको विरुद्धमा सफलता पाउन सकिँदैन भन्ने कमरेड पुष्पलालको ठहर रहेको थियो ।
सोही विचारले ४० को दशकमा सफलता हासिल ग¥यो र कमरेड पुष्पलालको दूरदर्शितालाई एकपटक प्रमाणित गरिदियो । यसर्थ संयुक्त जनआन्दोलनका प्रथम नेता तथा प्रणेताका रूपमा र अनवरत सम्झौताहीन संघर्ष गर्ने निष्ठावान प्रथम गणतन्त्रवादी राजनेताका रूपमा कमरेड पुष्पलाललाई नेपाली राजनीतिले सधैँ स्मरण गरिरहेनछ ।
- नयाँ नेपाल निर्माणमा पुष्पलालको त्यो सपना
२००८ सालमा क. पुष्पलालले नयाँ नेपालको कुरा गर्नुभएको थियो । नखोसिने लोकतन्त्र स्थापित भएको राज्य, विभेद मेटिएको र समानता भेटिएको समुदाय, गरिबी हटेको र समृद्धि भेटेको समाज नै नयाँ नेपाल हो ।
कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्दा भन्नुभएको छ– ‘नेपालका जनताले एउटा भिन्नै बाटो लिनुपर्छ ।
नेकपाको ७५ वर्षे यी अवधिमा सामन्तवादको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । देश पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । दिन प्रतिदिन परनिर्भर हुँदै गइरहेको वर्तमान परिस्थितिमा बदलाव ल्याउनुपर्नेछ । आत्मनिर्भर मात्रै होइन निर्यातमुखी उत्पादनमा जोड दिनुपर्नेछ । व्यापक रोजगारी सिर्जना गर्नुपर्नेछ ।
वृद्धाश्रममय हुन थालेका गाउँमा गुल्जार ल्याउनुपर्नेछ । देश निर्माण गर्ने मेहनती युवाले हो र समृद्ध देश बनाउन सकिन्छ भन्ने भावना गहिरो गरी स्थापित गराउनुपर्नेछ । मुर्छित भएका सपना फेरि पनि जागृत गर्नुपर्नेछ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउने अवस्था सिर्जना गर्नुपर्ने छ । यी विषय मात्र बहसका विषय होइनन्, व्यवहारमा ल्याउनुछ, यही विषयमा सरकारको ध्यान जानुपर्नेछ ।
- पुष्पलालप्रतिको सच्चा सम्मान
कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्दा भन्नुभएको छ– ‘नेपालका जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो बाटो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी अधिपत्यलाई पूरैसित खतम पार्नु, मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्य स्थापना गर्नु । यस्तो राज्य व्यवस्था स्थापना गर्नु, जसमा जनता राष्ट्रको सम्पत्तिको मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् । नेपाली जनताले जनवादी र समाजवादी व्यवस्थाको निम्ति लड्नै पर्छ ।’ समाजवादको विजयी देश समाजवादी सोभियत गणतन्त्र संघ, पुर्वी युरोपका जनवादी राज्यहरू नयाँ चीन र उत्तर कोरिया तथा औपनिवेशिक राष्ट्रको संघर्षरत जनताको अनुभवले जसरी सर्वत्र उत्पीडित जनताहरूलाई अभिप्रेरित गरिरहेका छन्, नेपाली जनतालाई पनि दिन प्रतिदिन यस गौरवले अघि बढ्ने प्रेरणा दिँदै छ ।’
यसरी समाजवादको स्पष्ट दृष्टिकोणका साथ विश्व कम्युनिस्ट आन्दोलनको सफलताबाट प्रेरणा लिने हामी कम्युनिस्टहरू नेपालकै मौलिकतामा अडिएर एउटै कम्युनिस्ट पार्टी किन नबनाउने ? यो यक्ष प्रश्न हामी नेपाली कम्युनिस्टहरूका सामु खडा भएको छ ।
नेपालको कम्युनिस्ट पार्टीमा आएका टुटफुटले क्रान्तिलाई निरन्तर धोकाधडी भएको छ । कम्युनिस्ट पार्टीहरूको ध्येय व्यक्तिगत स्वार्थ र गुटबन्दीमा रमाउनु होइन । वर्गविहीन समाज निर्माण गर्ने, शोषणविहीन समाज निर्माण गर्ने, गरिबी उन्मूलन गरी समृद्धिसहितको समानता स्थापना गर्ने कम्युनिस्ट पार्टीको उद्देश्यलाई साकार पार्न एकीकृत कम्युनिस्ट पार्टी आजको आवश्यकता हो ।
(लेखक केसी युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।)