आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
पर्यटन

दैनिक सरदर ८६ अमेरिकी डलर खर्च गर्छन् विदेशी पर्यटक

अहिलेसम्म तीन गन्तव्यकै भर
सोमबार, ०७ साउन २०८१, १० : १४
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च  एक सय अमेरिकी डलर पनि पुग्न सकेको छैन । अर्कोतिर विदेशी पर्यटकहरू नेपालका मुख्य तीन पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, सौराहा (चितवन)मै केन्द्रित रहने गरेको पाइएको छ ।

नेपाल आउने विदेशी पर्यटकको १५ प्रतिशत हिस्सा ट्रेकिङ अर्थात् पदयात्रा तथा पर्वतारोहणले धानिरहेको अवस्था छ भने ६० प्रतिशतभन्दा बढी वाइल्डलाइफ र पर्यापर्यटनले धानेको छ । हवाई मार्गबाट आउने विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै हुने गर्दछ । यस हिसाबले पनि विदेशी पर्यटकको ठुलो हिस्सा काठमाडौँ उपत्यकाका धार्मिक, सांस्कृतिक सम्पदा अवलोकनमा केन्द्रित हुने गरेको छ । त्यसपछि उनीहरूको रोजाइमा पोखरा र सौराहा पर्ने गरेको छ ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा हवाई र स्थलमार्ग हुँदै १० लाख १४ हजार ८८२ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये करिब १६ प्रतिशत अर्थात् १ लाख ५४ हजार पर्यटक हिमाल आरोहण तथा ट्रेकिङका लागि गए भने ६२.५० प्रतिशत (६ लाख ३४ हजारभन्दा बढी पर्यटक) बिदा मनाउने गरी नेपाल आएका थिए । उनीहरू तीन गन्तव्य काठमाडौँ, पोखरा र सौराहामै रमाए ।

१३ प्रतिशत अर्थात् १ लाख ३२ हजार धार्मिक पर्यटक काठमाडौँको पशुपतिनाथ र लुम्बिनीसम्म पुगेकामा नगण्य मात्रामा विदेशी पर्यटक मुक्तिनाथ, पाथीभरा, जनकपुरको जानकी मन्दिर लगायतको क्षेत्रमा पुगेको बोर्डको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०८०/८१ मा हवाई र स्थलमार्ग गरी करिब २८ लाख पर्यटक नेपाल भित्रिएको बोर्डको भनाइ छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्म हवाई मार्ग हुँदै ११ लाख २१ हजार ४११ विदेशी पर्यटक नेपाल भित्रिएकामा स्थलमार्ग (सडक) हुँदै करिब १७ लाख पर्यटक नेपाल भित्रिएको हुनसक्ने बोर्डको अनुमान छ ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार हवाई मार्ग हुँदै भित्रिने पर्यटकको तुलनामा ३० देखि ४० प्रतिशतभन्दा बढी स्थलमार्ग हुँदै आउने गरेका छन् ।

२ वर्ष अघि बोर्डले गरेको अध्ययनले करिब १५ लाख पर्यटक सडकमार्ग हुँदै नेपाल आएका थिए भने अहिले यो सङ्ख्या बढेर १७ लाख नाघेको हुन सक्ने उनले बताए ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमध्ये धेरैजसो भारतीय रहने गरेका छन् । सन् २०२३ मा ३ लाख १९ हजारभन्दा बढी भारतीय पर्यटक हवाई मार्ग हुँदै नेपाल आएकोमा स्थलमार्ग हुँदै आउनेको सङ्ख्या यसको चार गुणाभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।

  • तीन गन्तव्यको विकल्प खोइ ?

पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म र तराईदेखि उच्च हिमाली क्षेत्रसम्म पर्यटन गन्तव्यको धेरै सम्भावना भएर पनि नेपालले त्यसको समुचित विकास, विस्तार र प्रचारप्रसार गर्न सकिरहेको छैन । पर्यटकको रोजाइ, ट्राभल एजेन्सी तथा एजेन्टहरूको पोलिसी पनि यसको मुख्य कारण रहेको बोर्डका प्रवक्ता लामिछानेको भनाइ छ ।

‘जुन कुराको बढी डिमान्ड हुन्छ, त्यही बेच्ने हो । नेपालका ट्राभल एजेन्सीहरूले यसै गरे । सहज र फाइदा हुने गन्तव्यहरूका लागि मात्र पर्यटन प्याकेज सेल गरे । यसमा हाम्रो पनि कमी–कमजोरी छन्,’ लामिछानेले रातोपाटीसँग भने, ‘बोर्ड एक्लैले देश–विदेश सबै क्षेत्रमा काम गर्नुपर्ने हुँदा सबै कुरामा काम गर्न नसकेको सत्य हो । नयाँ–नयाँ गन्तव्यको खोजी गर्न र प्रचारप्रसार गर्न हामीले सकेनौँ र ट्राभल एजेन्टहरूलाई पनि प्रशिक्षित गर्न सकेनौँ ।’

२०७९ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका खातिर नयाँ गन्तव्यहरूको पहिचान र प्रसारप्रसार गर्ने गरी खासखास क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले १०० नयाँ गन्तव्यको घोषणा गरेका थिए । तर, सो घोषणा उपयुक्त योजना तथा प्रचारप्रसारको अभावमा कागजमै सीमित हुन पुगेको छ ।

प्रवक्ता लामिछाने नयाँ पर्यटकीय गन्तव्यहरूको विकास र प्रचारप्रसारका लागि तीन वटै तहका सरकारहरूबिच समन्वय र सहकार्य आवश्यक रहेको औँल्याउँछन् ।

‘पर्यटन बोर्डको सीमिततालाई बुझेर थप पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अन्तरसरकारी निकायको समन्वय आवश्यक छ । तीन वटै सरकारले आ–आफ्नो क्षेत्रमा सम्भावित पर्यटकीय गन्तव्यहरूको विकास र प्रचारप्रसार गर्नुपर्छ । अनिमात्र थप पर्यटन गन्तव्यहरूको पनि विकास हुन सक्छ,’ लामिछानेले भने ।

यसका साथै साहसिक र खेल पर्यटनका साथसाथै क्यासिनो र ‘म्यारिज डेस्टिनेशन’को रूपमा समेत नेपाललाई प्रचारप्रसार गर्न सकिने उनको भनाइ छ ।

  • प्रमुख गन्तव्यहरू

–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र

–पशुपतिनाथ मन्दिर (काठमाडौँ)

–लुम्बिनी बुद्ध सर्किट

–मनास्लु, मुस्ताङ, हुम्ला, तल्लो डोल्पा, कञ्चनजङ्घा र माथिल्लो डोल्पा ट्रेकिङ

–पोखरा

–सौराहा

  • वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने होटल क्षमता

अहिलेकै स्थितिमा वार्षिक ३५ लाख पर्यटक धान्न पुग्ने गरी होटल पूर्वाधार तयार भइसकेको होटल एसोसिएसन आफ नेपाल ‘हान’का अध्यक्ष विनायक शाहले बताए ।

‘स्टार होटल, पर्यटनमैत्री होटल तथा रिसोर्टहरूको सङ्ख्या मात्र गन्ने हो भने पनि ३५ लाखभन्दा बढी अकुपेन्सी धान्न पुग्ने होटल पूर्वाधार नेपालमा विकास भइसकेको छ,’ उनले भने, ‘यो क्षेत्रमा अझै लगानी बढ्दैछ । होटल क्षमताले होइन, अब पर्यटक अभावले मात्र हामी समस्यामा छौँ ।’

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० का लागि एकैपटक होटल पर्यटनमा ठुलो लगानी गरेकाले पनि यो क्षेत्रको पूर्वाधार बढेको जिकिर गर्दै अध्यक्ष शाहले अझै  लगानी नरोकिएको बताए । ‘स्वदेशीमात्र नभएर विदेशी लगानीकर्ताहरू समेत यो क्षेत्रमा आकर्षित हुँदैछन् । थप लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्छ,’ उनले भने ।

२०२३ को तथ्याङ्क अनुसार समीक्षा अवधिसम्ममा देशभर साना ठुला गरी १८२ वटा स्टार होटल र एक हजार ४१६ वटा नन् स्टार होटल सञ्चालनमा छन् । अघिल्लो वर्ष कुल बेड सङ्ख्या ५३ हजार ३६५ रहेकोमा पछिल्लो वर्ष १.८८ प्रतिशतले थपिँदै ५४ हजार ३७० पुगेको छ । सन् २०२४ मा होटलको सङ्ख्यासँगै बेड पनि थपिने अध्यक्ष शाहको भनाइ छ ।

  • विदेशी पर्यटकको दैनिक खर्च ८६ डलर !

नेपाल राष्ट्र बैंक वित्तीय रिपोर्ट, २०८१ जेठ मसान्तसम्मलाई हेर्ने हो भने सेवा आयतर्फको भ्रमण (पर्यटन) शीर्षकमा ७६ अर्ब ५५ करोड २२ लाख रुपैयाँ आम्दानी भएको छ । सोही अवधिमा शिक्षासहित अन्य भ्रमणमा १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ बाहिरिँदा नेपाललाई सेवा आयतर्फ ५८ अर्ब ६ करोड रुपैयाँ खुद घाटा लाग्न पुगेको छ ।

नेपाल पर्यटन बोर्डले हालै गरेको एक सर्वेक्षण अनुसार विदेशी पर्यटकको नेपाल बसाइ औसतमा १३.२ दिन रहने गरेको छ भने दैनिक खर्च औसत करिब ८६ अमेरिकी डलर छ ।

यद्यपि केन्द्रीय तथ्याङ्क कार्यालय र पर्यटन बोर्डले गरेको छुट्टाछुट्टै अध्ययनले फरकफरक तथ्याङ्क देखाएको छ । बोर्डले निकालेको करिब ८६ अमेरिकी डलरको तथ्याङ्कमा तथ्याङ्क कार्यालयले आपत्ति जनाएपछि कुनै पनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।

पर्यटन भ्रमण अवधि तथा खर्च अध्ययन, २०२२ ले दैनिक औसत ४१.५ अमेरिकी डलर देखाएकोमा सन् २०२३ को अध्ययनले ४१ डलरमात्र देखाएको थियो । पछिल्लो अध्ययनले एकैपटक ८६ अमेरिकी डलर बराबरको खर्च देखाएपछि अन्योल बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप