कमला ह्यारिसलाई हराउन झनै सजिलो : ट्रम्प
वशिङ्टन डीसी । अमेरिकाको राजनीतिमा आइतबार निकै उथलपुथल भयो । सबैलाई छक्क पार्दै राष्ट्रपति जो बाइडेनले राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिने घोषणा गरे ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको जुनमा भएको राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि उनीमाथि लगातार उम्मेदवारी फिर्ता लिने दबाब थियो । उम्मेदवारी फिर्ता लिँदै लिन्न भनेर अड्डी कसिरहेका बाइडेन अन्ततः उम्मेदवारीबाट पछाडि हटे अनि कमला ह्यारिसलाई समर्थन गर्ने फैसला गरे । उनको यो निर्णयमा क–कसले के भनिरहेका छन् ?
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले बाइडेनलाई अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति बताउँदै उनी आसपासका डाक्टर र सञ्चार माध्यमहरूलाई समेत उनी चुनावका लागि योग्य छैनन् भन्ने पहिले नै थाहा थियो भनेर भनेका छन् । बाइडेन राष्ट्रपति बन्दा आफूहरूले निकै क्षति भोग्नु परेको तर उनी पदमा रहँदाको क्षतिहरूको छिट्टै भर्पाई गरिदिने पनि उनले बताए ।
बाइडेनलाई हालै कोभिड भएको छ । उनी यतिबेला आइसोलेसनमा छन् । ‘उनी झुटो, कपोकल्पित खबरका आधारमा राष्ट्रपतिको पदसम्म पुगेका थिए, उनी त आफ्नो बेसमेन्टबाट समेत बाहिर निस्किएका छैनन् । उनी आसपासका मानिसहरू डाक्टर र सञ्चार माध्यम समेत सबैलाई थाहा थियो कि उनी राष्ट्रपति पदका लागि सक्षम छैनन् न त थिए,’ अझ अगाडि ट्रम्पले भनेका छन् । बाइडेनलाई भन्दा कमलालाई हराउन बढी सजिलो हुने ट्रम्पले पोस्टमा लेखेका छन् ।
ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भेन्सले पनि बाइडेनलाई सबैभन्दा खराब राष्ट्रपति भनेका छन् । गएको चार वर्षमा देशको सीमा खुला गर्ने कानुनमा हस्ताक्षर गर्दा कमला ह्यारिस पनि उनको साथमै रहेको उनले बताएका छन् । यी असफलतामा उनी पनि बाइडेनको साथमा रहेको र बाइडेनको मानसिक अवस्थाप्रति लगातार झुटो बोलेको आरोप पनि उनले कमलालाई लगाए ।
राष्ट्रपतिको दौडबाट बाइडेनको बहिर्गमनबारे पूर्व राष्ट्रपति बाराक ओबामाले पनि प्रतिक्रिया दिएका छन् । उनले बाइडेनलाई सबैभन्दा प्रभावशाली राष्ट्रपति मध्येमा पर्ने बताएका छन् । बाइडेन कहिले पनि कुनै चुनौतीबाट पछाडि नहटेको भए पनि अहिलेको स्थितिलाई हेरेर उनले उम्मेदवारीको मसाल नयाँ मान्छेलाई दिने फैसला गरेको उनको भनाइ छ ।
बाइडेनले अमेरिकाको हितलाई हेरेर दौडबाट बाहिरिने निर्णय गरेको बेलायती प्रधानमन्त्री कीर स्टार्मरले भनेका छन् । अमेरिकीहरूको सर्वोत्तम हितका बारेमा सोचेर उनले यो निर्णय गरेको आफूलाई थाहा भएको पनि उनले बताए । आइतबार बाइडेनले चिठ्ठी लेखेर अचानक उम्मेदवारी फिर्ता लिने निर्णय गरेका थिए ।