बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दोस्रो टेस्टमा पनि इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

सोमबार, ०७ साउन २०८१, ०६ : ५०
सोमबार, ०७ साउन २०८१

नटिङह्याम । इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि लगातार दोस्रो जीत हासिल गरेको छ । दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनको फराकिलो अन्तरले विजयी बनेको हो । पहिलो टेस्टमा इंग्ल्यान्ड एक इनिङ्स र ११४ रनले विजयी भएको थियो ।

३ सय ८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली अन्तिम दिन मात्र १ सय ४३ रनमा समेटियो । क्यारेबियन टोलीलाई सस्तोमा समेट्न शोहेब बसिरले घातक बलिङ  गरे । उनले ११.१ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । 

त्यस्तै, क्रिस वोक्स र गस एटकिन्सनले २–२ विकेट हात पारे भने मार्क वुडले एक विकेट लिए ।

दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ४७ रन बनाए । त्यस्तै, जेसन होल्डरले ४२ बलमा ३७ रन जोडे । मिकेल लुइसले १७ रन तथा जोसुवा डा सिल्भाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि ह्यारी ब्रुक र जो रुटको शतकीय इनिङ्सको मद्दतले इंग्ल्यान्डले दोस्रो इनिङ्समा ४२५ रन बनाउँदै अलआउट भएको थियो । रुटले १ सय २२ रन तथा ब्रुकले १ सय ९ रन बनाए । 

ओली पोपले ५१ रनको योगदान दिए । पहिलो इनिङ्समा १ सय २१ रन बनाएका उनी प्लेयर अफ द म्याच पनि चुनिए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४ सय ५७ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप