बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

एक वर्षमा प्रहरीको ६ सफल अनुसन्धान

आइतबार, ०६ साउन २०८१, २२ : ०५
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । एक वर्षमा प्रहरीले ६ वटा ठुला जघन्य अपराधको सफल अनुसन्धान गरेको छ । ती घटनालाई प्रहरीले ‘मुख्य सफल अनुसन्धान’ भनेको छ । 

आइतबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले तीनकुनेको सामूहिक हत्या, शिवपुरीमा राष्ट्रिय निकुञ्जमा सुस्मा लामालाई हत्या गरेर गाडेको घटना र महोत्तरीमा एनएमबी बैंक लुटेको सहित ६ घटनामा प्रहरीले मुख्य सफलता हात पारेको जानकारी दिए ।

२०८० भदौ २९ मा काठमाडौँको तिनकुनेस्थित दिव्य सः मिलमा ४ जनाको हत्यामा संलग्न सिन्धुपाल्चोक घर भएका २३ वर्षीय सञ्जय भण्डारीलाई अनुसन्धान अधिकृतहरूले पक्राउ गरेका हुन् । तीनकुने घट्नामा सः मिलमा बस्ने दोलखा घर भएका पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, ७६ वर्षीय सुभद्रा भुजेल र धनकुटा घर भएका नवीन बस्नेतले ज्यान गुमाएका थिए ।

२०८० माघ २२ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरमा सुस्मा लामाको हत्या गरेर गाडेको घटनामा प्रहरीले सफल अनुसन्धान गरेको थियो । अनुसन्धानपछि हत्यामा संलग्न २१ वर्षीय दीपेन्द्र लामालाई पक्राउ गरिएको डीआईजी कार्कीले बताए । 

२०८० जेठ १६ मा महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा एनएमबी बैंक लुटपाट भएको घटनाको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ ।  लुटपाटमा संलग्न भारतीय नागरिक २० वर्षीय अजयकुमार र धनुषा घर भएका २२ वर्षीय अनर्जीत रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

लुटेराहरूले बैंकबाट २८ लाख लुटेका हुन् । घटनामा संलग्न मुख्य प्रतिवादी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो घटनामा संलग्न ३ जना फरार छन् । 

धनुषाको सबैला नगरपालिका–९ मा ५  वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको घट्नामा प्रहरीले सफलता हात पारेको डीआईजी कार्कीले बताए । बलात्कार र हत्यामा संलग्न आरोपीहरू ३१ वर्षीय विनोदकुमार राय र २४ वर्षीय रोशनकुमार मुखियालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । 

सल्यानमा आमा छोरीलाई आगो लगाएर हत्या गरेको घटनाबारे पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । २०८० भदौ ३० मा भएको सो घटनामा २९ बर्सिया रेवती थापा र उनकी छोरी ९ बर्सिया ऋतु थापाको हत्या भएको थियो । हत्यामा संलग्न २८ वर्षीय कर्ण बहादुर बस्नेत र २८ वर्षीय गिता कार्की पक्राउ परेका थिए । 

मुगुमा भएको सामूहिक हत्याबारे पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । मुगा छायाँनाथ रारा नगरपालिका–६ बस्ने श्रीदेवी बोहरा, उनका दुई छोरा र छोरीको हत्यामा संलग्न गोर्खराज शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । २०८० कार्तिक १० को सो हत्याकाण्डमा प्रहरीले सफल अनुसन्धान गरेको डीआईजी कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप