बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

२८ गते यताको विपद्का घटनामा १३० जनाको मृत्यु, १४४ जना घाइते

आइतबार, ०६ साउन २०८१, १९ : ०२
आइतबार, ०६ साउन २०८१

 काठमाडौँ ।  गत जेठ २८ गते यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

साथै काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ९ सय ९८ घर परिवार विस्थापित भएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप