बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

चीनले बनायो विश्वकै सानो र हलुका सौर्य ड्रोन

आइतबार, ०६ साउन २०८१, १७ : ४८
आइतबार, ०६ साउन २०८१

बेइजिङ । चिनियाँ अनुसन्धाताहरूले हालै मात्र ड्रोन प्रविधिमा ऐतिहासिक सफलता हात पारेका छन् । उनीहरूले सौर्य ऊर्जाबाट चल्ने विश्वको सबैभन्दा सानो र हलुका ड्रोनको सफलतापूर्वक विकास गरेका हुन् । 

यसले ड्रोन प्रविधिको क्षेत्रमा क्रान्ति ल्याउने विश्लेषण गर्न थालिएको छ । यो ड्रोन पेइहाङ विश्वविद्यालयका एक टोलीले बनाएको हो । ड्रोनको तौल ४ दशमलव २१ ग्रामको मात्रै छ । यो करिब २० सेमी फराकिलो छ ।

यसअघि बनाइएका सौर्य ड्रोन केही समय मात्रै उड्न सक्थे । तर कोलम्बफई भने सूर्यको प्रकाश आउञ्जेलसम्म असीमित समयसम्म उड्न सक्छ । इलेक्ट्रोस्ट्याटिक मोटरका कारण यो उपलब्धि हासिल भएको हो । सो टोलीले लाइटवेट बूष्ट कन्भर्टरको विकास गरेका छन् । यसले भोल्टेजलाई १०० भोल्टेजभन्दा कमदेखि ९ हजार भोल्टसम्मको उच्चतम बिन्दुसम्म पुर्याउन सक्छ । यो हाइ–भोल्टेजको बिजुलीलाई इलेक्ट्रोस्टेटिक मोटर चलाउन प्रयोग गरिन्छ ।

यसैको आधारमा भविष्यमा फोटोग्राफीदेखि विपद्को अवस्थामा राहत वितरण र पर्यावरणको निगरानी गर्नेसम्मका काममा किरा फट्याङ्ग्रा र चरा आकारका ड्रोनहरू बनाउन सकिने आशा अनुसन्धाताहरूले गरेका छन् । अहिलेको ड्रोनको नमुनाले थोरै तौलको सामान मात्रै उठाउन सक्छ । तर भविष्यमा ड्रोनको क्षमता बढाउन सकिनेमा अनुसन्धान टोली ढुक्क छन् । यो अध्ययन हालै मात्रै जर्नल नेचरको अनलाइन संस्करणमा प्रकाशित छ । अब यो टोलीले ९ मिलिग्राम तौल भएको ८ सेमी फराकिलो ड्रोन बनाउने कोसिस गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप