मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

बीपीको भनाइ थियो— जीवन आफैँमा एउटा जोखिमपूर्ण यात्रा हो

सन्दर्भ : बीपी स्मृति दिवस

आइतबार, ०६ साउन २०८१, १७ : ४५
आइतबार, ०६ साउन २०८१

साउन ६ गते २०३९ साल । विश्वेश्वरप्रसाद कोइरालाको महायात्रा सुरु भएको दिन । उहाँ महानिद्रामा, चिरनिद्रामा शान्त भएर सुतेको दिन । नेपालीका लागि अविस्मरणीय दिन । एउटा क्रान्तिपुरुष भौतिक रूपमा यस संसारबाट अस्ताएको दिन । त्यसको सम्झनामा बीपी स्मृति दिवसको रूपमा साउन ६ गतेलाई स्मरण गरिन्छ । आधुनिक नेपालमा अन्तर्राष्ट्रिय छवि बनाउने साधारण नेपालीको सम्झनामा साउन ६ गते बारम्बार क्यालेन्डरमा देखापर्छ प्रत्येक वर्ष । 

आज पनि मेरो जेहेनमा बीपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको शव यात्राको दृश्य झलझली आइरहेको छ ४२ वर्षअघिको । लाखौँ मानिस बीपीको शव राखिएको ट्रकको पछि–पछि रुँदै कराउँदै हिँडिरहेका थिए । ती कति आस्थाका कारणले हिँड्दै थिए, कति यस्तो असाधारण क्षमताको मानिस यो देशमा पनि जन्मेको थियो र आज उसको परमधाम गमन भयो भन्ने मुलुकको अपूरणीय क्षतिप्रति रुँदै थिए त कति अब प्रजातन्त्रको दियो कसले बाल्ला भनेर निराशा व्यक्त गर्दै थिए, तर लाखौँ नेपाली बाटामा निस्केर वीर बीपी अमर रहून्, प्रजातन्त्र ल्याउँछौँ ल्याउँछौँ भन्दै नारा लगाउँदै पनि थिए । सकेसम्म नाराको रूपमा जुलुसको प्रबन्ध गरिएको थिएन र पनि युवाहरूमा स्वतः स्फूर्त बीपीप्रतिको आस्था देखिएको थियो । 

बीपीको अन्तिम अवस्था भएकाले थाइल्यान्डबाट नेपाल ल्याइएको थियो सायद अचेतावस्थामै । उहाँले भन्नुभएको रहेछ, मेरो मृत्यु नेपालमै होस् । अब उहाँको भौतिक देहको अन्तिम अवस्था भएको ठानेर चिकित्सकले बिदा दिएका रहेछन् र बीपीलाई नेपाल ल्याइएको थियो । हवाइजहाजबाट उहाँलाई एम्बुलेन्समा राखेर सिधै चाबहिलको निवासमा ल्याइयो र साँझ ७ः१५ बजे उहाँको देहावसान भएको दुःखद समाचार संसारले सुन्न बाध्य भयो । बीपीको अन्तिम अवस्थाको समाचार र आगमनको खबर नेपालभर फैलिएको थियो जब कि अहिलेजस्तो सञ्चारको सहजता त्यो बेलामा थिएन । तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका महामन्त्री तथा बीपीका सहोदर कान्छा भाइ गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)ले कोइराला निवासको बार्दलीबाट दुःखद समाचारको जानकारी दिँदासम्म हजारौँ मानिस बीपी निवासमा जम्मा भइसकेका थिए र सबैको आँखामा आँसु छचल्किएको थियो । जब त्यो दुःखद समाचार सुनियो, त्यहाँ एकाएक रुवाबासी सुरु भयो । त्यो आस्थाप्रतिको माया थियो, जुन आँखाको बाटो पानी भएर बाहिर आयो र क्रन्दनका रूपमा विस्फोटन हुँदै थियो । अनि भोलि बिहानदेखि श्रद्धाञ्जलि र शवयात्रा गर्ने भएकाले अहिलेलाई सबैजना जानुहोस् भन्ने भएपछि हामी अँध्यारो हुन लागेको साउनको रातमा नेपालको भविष्य अन्धकार देख्दै आयौँ, आफ्ना आफ्ना वासस्थानमा । 

बीपीमा एउटा चुम्बकीय व्यक्तित्व थियो, उहाँले आफ्ना अघिल्तिर आएको सबैभन्दा ठुलो आलोचकलाई पनि आफ्ना सिद्धान्तमा सहमत गराउन सक्नुहुन्थ्यो । सायद त्यसैले होला, सबैभन्दा कठोर आलोचक तत्कालीन राजा महेन्द्रले समेत बीपी बराबरको प्रधानमन्त्री अरु हुन नसक्ने भनेर पञ्चहरूसँग भनेका रहेछन् ।


भोलिपल्ट बिहानै हजारौँ मानिसको भीड लाग्न थाल्यो, चावहिलस्थित कोइराला निवासमा तर आएका सबैलाई सकेसम्म बीपीको अन्तिम दर्शन गर्नका लागि लाम लगाएर राखिएको थियो । हामी बिहानै पुगेकाले अन्तिम श्रद्धाञ्जलि उहाँको पार्थिव शरीरमा दिन भ्यायौँ तर पछि धेरै ठुलो भीड जम्मा हुन थालेको थियो । त्यही बिचमा बीपीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनका लागि बाहिर जिल्लाबाट पनि मानिस आउन चाहन्थे तर बर्खाको बेला थियो । सरकार चाहन्थ्यो, बीपीप्रति गरिने सम्मानले पञ्चायती व्यवस्थाको विपक्षमा जनमत बन्नेछ र सायद तत्कालीन प्रशासनले बीपीको शवयात्रा काठमाडौँ सहर नघुमोस् भन्ने थियो होला, किनभने मैले जान्दा एकजना क्रान्तिकारी र विपक्षी नेताको त्यत्रो ठुलो सम्मान जुन नेपाली जनताले देखाए, त्यो अपूर्व थियो, अद्वितीय थियो र एकजना प्रतिबन्धित नेताका लागि जनताले देखाएको त्यो अप्रतिम सम्मान अतुल्य थियो । 
ठाउँठाउँमा उहाँको बिदाइका लागि लाखौँ मानिस उभिएका थिए अश्रुपुरित नयन लिएर । सडकमा उहाँका पछिपछि लाग्ने लाखौँ थिए । नेपाल विद्यार्थी सङ्घले सुरक्षाको प्रबन्ध गरेको थियो । सहरको मुख्य–मुख्य भाग हुँदै जब खास सहरभित्र शवयात्रा प्रवेश ग¥यो, माथि छतबाट अबिर, फूल, अक्षता र गर्मी भयो होला बीपीलाई भनेर र शवयात्रामा हिँडेका हाम्रा लागि माथिबाट शुद्ध पानीको वर्षा गरिएको थियो । वृृद्धहरू रुँदै बीपीको शवमा फूलमाला चढाउन लालायित देखिन्थे । मैले सम्झेसम्म बीपीको पार्थिव शरीर राखेका ट्रकमा गणेशमानजी, किसुनजी, गिरिजाबाबु, शैलजा आचार्य, बीपी पुत्रहरू प्रकाश, श्रीहर्ष र शशाङ्कसहित हुनुहुन्थ्यो । 

बीपीलाई राखिएको ट्रकलाई स्वयम्सेवकले हाते साङ्लोले घेरेका थिए । त्यस्तो भीड पनि आफैँमा एउटा मौन कोलाहल लिएर अनुशासित तरिकाले हिँडिरहेको थियो । शवयात्राका आयोजक यस कुरामा धेरै सतर्क थिए कि भीडले लगाउने कुनै पनि उत्तेजक नाराका कारणले प्रहरीले कुनै व्यवधान खडा नगरोस् किनभने निश्चय नै प्रहरीहरूको ठुलो सङ्ख्या शवयात्राको अगाडि र पछाडि तैनाथ थियो । 
डराउनुपर्ने कारण के थियो भने बिहानै राजा वीरेन्द्रले अस्वाभाविक तरिकाले शोक सन्देश प्रवाह गरेका थिए । भनेका थिए— जुनसुकै नेपालीको मृत्यु हुँदा पनि आफूलाई दुःख लाग्ने भएकाले दुःख व्यक्त गरेको... यस्तै शब्दावलीले अपमानित गर्ने जस्तो भाषामा भने जस्तो लाग्छ तर शोक सन्देशको भाषामा पूर्वप्रधानमन्त्री पनि भनिएको थिएन, अनि २००७ सालको क्रान्ति नायकप्रति सम्मान व्यक्त गरिएको थिएन, जसले राणाबाट धपाइएको राजपरिवारलाई नेपालमा स्थापना गरेको थियो र नेपालको इतिहासमा जनताबाट भएको पहिलो आम निर्वाचनमा दुईतिहाइको मत ल्याएर नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेको थियो । त्यस्तो सन्देश किन दिनुपरेको हो भन्ने अहिलेसम्म बुझिएको छैन ।

आयोजकहरूले शवयात्रालाई शान्तिपूर्वका सम्पन्न गर्ने दृष्टिकोण भए पनि एकाबिहानै राजाबाट गरिएको अपमानजनक व्यवहारबाट क्षुब्ध कार्यकर्ता र आम जनसमुदायको रोष सडकमा पोखिने सम्भावना थियो तर पनि स्वयंसेवकले शोकका बेला उत्तेजना नदेखियोस् भनेर चनाखो व्यवहार देखाएका थिए र यसमा शीर्षस्थ नेताहरू सजग हुनुहुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । 
म पनि लाखौँ शोकमग्न मलामीसँग एकाकार भएको थिएँ र नेपालको प्रजातन्त्रको मियो ढलेकोमा आफैँमा नेपालको भविष्य कस्तो होला, नेपाली प्रजातन्त्रको संघर्षले कुन गति लेला भन्ने सोच्नु स्वाभाविकै थियो तर बीपीले आफूपछि सक्षम नेतृत्व छोड्नु भएको थियो गणेशमानजी, किसुनजी र गिरिजाबाबुको । गणेशमानजी सर्वमान्य नेता, किसुनजी नेपाली काङ्ग्रेसको कार्यबाहक अध्यक्ष र गिरिजाबाबु पार्टीको महामन्त्रीको रूपमा नेपाली काङ्ग्रेसले मान्दै नै आएको थियो २०४८सालसम्म जबसम्म महाधिवेशनबाट किसुनजी सभापतिको रूपमा निर्वाचित हुनु भएको थिएन । प्रधानमन्त्री भएपछि गिरिजाबाबुले महामन्त्रीबाट राजीनामा दिनु भयो र किसुनजी पछि गिरिजाबाबु नै पार्टीको सभापति पनि हुनुभयो ।

शवयात्रा निर्विघ्न आर्यघाट पुग्यो । लाखौँ मानिस सडकमै थिए । बीपीको महाप्रस्थानको अन्तिम झलकका लागि आर्यघाट पूर्वको श्लेष्मान्तक वन, मन्दिर, घाटको वारिपारि र वरिपरि तँछाड–मछाड गरिरहेका थिए । साउनको भेलको वाग्मतीभित्र पनि मानिस पसेका थिए । बीपीपुत्रहरूले दागबत्ती दिएका थिए । त्यतिबेलै म भीडले ठेल्दाठेल्दै बीपी जल्दै गरेको चिताको दक्षिणपट्टिको पुलमुनिको कुनामा पुगेको रहेँछु । मेरो जीवनमा कुनै चितामा शव जलेको देखेको त्यो नै पहिलोपटक हो । 

जब रात छिप्पिँदै गयो, त्यहाँ शव पनि जलेर खरानीमा परिणत हुँदै गयो, लाखौँ मलामी बिस्तारै बिस्तारै पातलिँदै गए । यसरी बीपीको अन्तिम यात्रा सम्पन्न भएको थियो, साउन ७ गते करिब मध्यरातमा । 
१३औँ दिन पुण्यतिथिका दिन उहाँको अस्तु नेपालका ७५ जिल्लाका नदीहरूमा प्रवाहित गर्ने र विदेशमा पनि प्रवाहित गरिएको थियो भन्ने बुझिएको हो । खासगरी बनारसमा, जर्मनीमा, बेलायतमा र अमेरिकामा अस्तु प्रवाहित गरिएको भन्ने सुनिएको हो । ४२ वर्षअघिको कुरा हो, विस्मृति पनि हुने रहेछ । हामीले पक्कै पनि ती समाचारहरू राष्ट्र पुकारमा दियौँ होला तर सबै सम्झना नहुने रहेछ । देशका मुख्य नदीहरूमा अस्तु प्रवाहित गर्न जानेहरूको भीडमा लाठी चार्ज गरेको, तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका कार्यकर्तालाई थुनेको चाहिँ सम्झना छ । बीपी स्मृति दिवस (साउन ६ गते)मा नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी सङ्घले सहरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गर्दा समेत व्यवधान गरिएकै हो स्थानीय प्रशासनबाट ।

बीपीसँग मेरो पहिलो भेट २०३४ कात्तिक ८ गते भएको थियो । बाल्यकालदेखि नै बीपीको नामसँग परिचित थिएँ म, हाम्रो परिवार नै परिचित थियो । हाम्रो परिवार नै काङ्ग्रेसप्रति समर्पित रहेछ । मैले राम्रोसँग कुरा बुझ्दा या सचेत भएर समाजका बारेमा होस सम्हाल्दा पार्टी प्रतिबन्धित थियो र बा भूमिगत हुनुहुन्थ्यो । पछि बा घरमा आउनुभयो र मलाई बाल्य मनमा के लाग्यो भने बा किन हराउनुभयो ? पछि थाहा भयो, उहाँ र कुलचन्द्र कोइराला काका काङ्ग्रेस भएकाले लुक्नुभएको रहेछ पुलिसले पक्राउ गर्छ भनेर । 

बीपीमा एउटा चुम्बकीय व्यक्तित्व थियो, उहाँले आफ्ना अघिल्तिर आएको सबैभन्दा ठुलो आलोचकलाई पनि आफ्ना सिद्धान्तमा सहमत गराउन सक्नुहुन्थ्यो । सायद त्यसैले होला, सबैभन्दा कठोर आलोचक तत्कालीन राजा महेन्द्रले समेत बीपी बराबरको प्रधानमन्त्री अरु हुन नसक्ने भनेर पञ्चहरूसँग भनेका रहेछन् । 

बीपीले एउटा जुन मार्ग नेपालको राजनीतिमा कोर्नुभएको छ, त्यो अमिट छ र आज त्यसैलाई मानेर हामी मुलुकको समृद्धि र सुखको कल्पना गरिरहेका छौँ । बीपी खुला किताब हुनुहुन्थ्यो र आफूलाई लागेको भन्दा समाजको आवश्यकतालाई पहिचान गरी विकासलाई जनताको पक्षमा अनुवाद गर्नुपर्छ भन्नुहुन्थ्यो । बीपी विचारलाई निमिट्यान्न पार्न कुनै कसर बाँकी राखिएको थिएन पञ्चायतकालमा, कहीँकतै त्यो आज पनि देखिन्छ । त्यस्तो महान् र असल व्यक्तिलाई मैले यी चर्मचक्षुले भौतिक रूपमा देख्न पाएँ, नजिकैबाट सुन्न र उहाँका बारेमा लेख्न पाएँ भन्दा नसुहाउँदो नभनिएला भन्ने पनि लागेको छ र कतिले यसलाई अस्वाभाविक नभनून् भन्ने कुराप्रति म अत्यन्तै सजग छु । 

मेरो विचारमा नेपाली इतिहासमा एकजना अनुपम र अद्वितीय व्यक्तिको रूपमा उहाँको अवतरण भएको थियो, प्रजातन्त्रका पक्षमा आफूलाई सतीसालझैँ उभ्याउन र त्यसैका लागि जीवन नै न्यौछावर गर्नका लागि उहाँको जन्म भएको थियो । तुलना त गौतम बुद्ध, पृथ्वी नारायण शाह र भीमसेन थापासँग पनि गरिन्छ तर ती नेपाली इतिहासका महान् व्यक्तिहरूसँग तुलना गर्नुभन्दा आजको नेपाली आधुनिक इतिहासमा सबैभन्दा चर्चित र सिद्धान्तकारको रूपमा उहाँलाई सम्झने गर्दा उहाँप्रति न्याय हुनेछ । 

२०१५ सालमा प्रचण्ड बहुमत प्राप्त दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्नुभएका बीपीलाई पक्राउ गरियो, त्यसपछि दलहरूलाई नै प्रतिबन्ध लगाइयो र दलका विरुद्धमा सैनिक शासन लगाएर निर्दलीय व्यवस्थाको सूत्रपात गरियो— यो  राजनीतिक नौटंकी राजा महेन्द्रको ठुलो गल्ती थियो । त्यसरी बिनाकारण जेल बसेर जेलबाट उहाँ निस्किएका बेला म सिन्धुलीमा कक्षा १० मा पढ्दै थिएँ । त्यो दिन म ठुलाबा रामेश्वर गजुरेलको घरमा पुगेको थिएँ, अनि उहाँका घरमा झुन्ड्याएको रेडियोमा सायद अल इन्डिया रेडियोको समाचार हुनुपर्छ, बीपी छुटेको समाचार सुनेँ, ठुलाबा र दाजु चन्द्रप्रसाद गजुरेल घरैमा हुनुहुन्थ्यो । एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अब बीपी छुट्नुभएको छ र नेपालमा प्रजातन्त्रको बहालीलाई कसैले र कुनै शक्तिले पनि रोक्न सक्नेछैन । एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अब बीपी छुट्नु भएपछि पक्कै नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुनेछ । लाग्थ्यो, बीपीको उपस्थितिले नै नेपालको राजनीतिक माहोल आफैँ प्रजातन्त्रका पक्षमा आउनेछ । तर त्यो मेरो किशोरावस्थाको भ्रम रहेछ । बीपीप्रतिको अगाध आस्था र उहाँको अप्रतिम क्षमताप्रतिको विश्वास रहेछ तर राजनीतिक स्थिति यति नाजुक भइसकेको रहेछ कि बीपीले बारम्बार राजासँग संघर्ष नै गर्नुपरेको इतिहास छ । 

नेपालको राजनीति यति धेरै बाहिरबाट प्रभावित रहेछ कि किशोरवयको मेरो मस्तिष्कमा त्यो त पसेकै रहेनछ । बीपीजस्तो प्रजातन्त्रवादी, मानव अधिकार र विधिको शासनप्रतिको अगाध आस्था राख्ने दृढ संकल्पित व्यक्तिलाई समेत प्रजातन्त्र बेलैमा पुनस्र्थापना गर्न मुस्किल परेको थियो । उहाँ यस धर्तीबाट महाप्रस्थान गरेको करिब ८ वर्षपछि मात्र नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो, उहाँकै सखा गणेशमान सिंहज्यूको नेतृत्वमा वाममोर्चासँगको सहकार्यमा । गणेशमानजीको सर्वोच्च नेतृत्वमा वामपन्थीहरूको समेत सहयोगमा राजाको निर्दलीय व्यवस्थाको अन्त गरिएको थियो । 

मानिसहरूमा अहिले पनि के भ्रम छ भने बीपी र गणेशमानजीमा कसले कसलाई बढी सम्मान गथ्र्यो ? सायद गणेशमानजीले बढी ? होइन । बीपीले गणेशमानजीलाई जुन सम्मान गर्नुहुन्थ्यो, सायदै समकालीन, समवयी र सहकर्मी राजनेताहरूले एकअर्कालाई गर्ने सम्मानमा सबैभन्दा मान्य थियो । किनभने धेरै कमलाई थाहा होला, बीपी भारतमाा रहेका बेला उहाँको अन्तर्वार्ता लिन गणेशमानजी भारत जानुभएको थियो, त्यो युवाले नेपालमा स्वतन्त्रता दिलाउन नेतृत्व लिन सक्छ कि सक्दैन भनेर । अनि अन्तर्वार्ता लिन गएको व्यक्ति नै त्यसै बेलादेखि बीपीको व्यक्तित्व र लक्ष्यप्रति विश्वस्त हुनुभयो, जुन सैद्धान्तिक धारा मित्रताको रूपमा समेत जीवनपर्यन्त एकाकार भएर रह्यो । बीपीको कार्यभारलाई बीपीको निधनपश्चात् पनि रत्ति नछाडेर प्रजातन्त्र पुनस्र्थापनको गुरुत्तर अभिभारा पूरा गर्नुभयो र प्रजातन्त्रको पर्याय भएर रहनुभयो ।

राजासँग राष्ट्रियताका सम्बन्धमा सहकार्य र प्रजातन्त्रका लागि शान्तिपूर्ण संघर्षको राजनीतिक लक्ष्य लिएर बीपी २०३३ पुस १६ गते नेपाल आउनुभयो, आफ्ना सहयोद्धा र नेता गणेशमान सिंह समेत । म त्यसबेलामा सानोठिमी क्याम्पसमा डिप्लोमा इ बिजनेस एजुकेसन अर्थात् बी एड गर्दै थिएँ । त्यतिबेला म रामचन्द्र दाइको नेतृत्वमा बीपी र गणेशमानजीको स्वागतमा पुगेको थिएँ । नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष तथा नेकांका नेता विपीन कोइरालालाई अघिल्लै दिन पुलिसले पक्राउ गरिसकेको थियो । धेरै जनालाई पक्राउ गरेको बुझिन्थ्यो । त्यो बेलामा अहिलेको जस्तो सूचना आदान–प्रदान गर्ने माध्यम भनेको घर–घरमा गएर जानकारी दिने या सीमित फोन भएको ठाउँमा कसैलाई भनेर वा सोधेर जानकारी लिन वा दिन सकिन्थ्यो । बीपीको आह्वानको पर्चा लिएर पटनाबाट केही साथीहरू आइसक्नुभएकोे थियो । हामी हजार पन्ध्र सय जति थियौँ, सादा पोसाकका प्रहरी र गुप्तचरहरूको संख्या त्यो भन्दा बढी थियो । त्यसैले बीपीको स्वागतका लागि त्यहाँ हजारौँ थियौँ भन्ने मानौँ । हामी कसो कसो हवाइजहाज अवतरण गर्दा हेर्ने ठाउँमा पुगेका थियौँ । बीपीको प्लेन सायद इन्डियन एयरलाइन्सको थियो क्या रे, पटनाबाट आएको । बीपी नेपाली हवाई यानमा आउन चाहनुहुन्थ्यो तर सरकारले दिएन जस्तो लाग्छ । 

बीपी, गणेशमानजी, शैलजा दिदीलाई विमानस्थलबाटै पक्राउ गरियो । अब सादा पोसाकवालाहरूले धरपकड, लाठी चार्ज गर्न थाले । सानिमाले तत्काल एउटा ट्याक्सी खोजेर रामचन्द्र पौडेल दाइलाई भगाउनुभयो । हामी सबै भागाभाग भयौँ । त्यस  दिन धेरैजसो नेपाली काङ्ग्रेसका नेता तथा युवा नेताहरू, नेविसंघका नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकिएको थियो । तैपनि बीपीप्रतिको आस्था र भरोसाका कारणले स्वागतका लागि हजारौँ सामान्य नागरिकहरू विमानस्थलमा आएका थिए, जबकि बीपीलाई साटवटा त्यस्ता मुद्दा अदालतमा पर्खेर बसेका थिए, जसमा उहाँलाई मृत्युदण्ड माग गरिएको थियो ।

प्रजातन्त्रको प्रसव वेदनामा छटपटाइरहेकी नेपाल आमाको चीत्कार सुनेर बीपी र गणेशमानजी आउनुभएको थियो । अरु त अरु, भारतका सुप्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायणजीले समेत बीपी आत्महत्याका लागि उद्यत भएर नेपाल फर्कन लाग्नुभएको भन्नुभएको रहेछ । 

बीपीको राष्ट्रिय मेलमिलापलाई चीनले चीनविरोधी नाराको रूपमा लियो क्यारे, भारतले भारतविरोधी संगठनका रूपमा लियो क्यारे, राजाले आफ्नो निर्विघ्न राज्यमा खलल पार्न आएको भन्ने सम्झिए क्यारे अनि कम्युनिस्टहरूले आफ्नो सहज तरिकाले राजासँग मिलेर वा पञ्चसँग मिलेर गरिरहेको आफ्नो सङ्गठनमा अब समस्या पर्ने ठाने होलान् । किनभने राजा, भारत, पञ्च, कम्युनिस्ट सबैले बीपीको नेपाल आगमनलाई अनौठो र असामयिक मानेका थिए । चुपचाप बसेको, मुर्दा शान्तिको रूपमा शान्त तर स्थिर राजनीति भनेर पञ्चहरूले भन्ने गरेको पञ्चायतमा बीपीको आगमनले तुफान ल्यायो । बीपीको जीवन नै यस्तै नयाँ–नयाँ संघर्षले भरिएको पाइन्छ, प्रजातन्त्रका पक्षमा र जनताका पक्षमा । बीपीको नेपाली जनताको नाममा आएको आह्वान हामीले पढेका थियौँ र बडो होसियारीका साथ आफ्ना साथीहरू समक्ष वितरण गरेका थियौँ । 
बीपीको एउटा भनाइ अहिले पनि सम्झने गरिन्छ— जीवन आफैँमा एउटा जोखिमपूर्ण यात्रा हो । यात्रालाई निरन्तरता दिनु नै जीवनको लक्ष्य हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिविनोद अधिकारी
हरिविनोद अधिकारी
लेखकबाट थप