बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

कास्कीका नदीबाट अवैध उत्खनन, कर्मचारीलाई समेत छानबिन गर्न सिफारिस

आइतबार, ०६ साउन २०८१, १७ : २२
आइतबार, ०६ साउन २०८१

पोखरा । ढुङ्गा गिटी, बालुवा उत्खनन र विक्री सम्बन्धी मापदण्ड २०७७ ले बर्खाका ३ महिना नदीबाट उत्खनन गर्न बन्देज लगाएको छ । असार, साउन र भदौ महिनामा कुनै पनि खोला र नदीबाट उत्खनन गरे अवैध हुन्छ । 

जिल्ला समन्वय समिति कास्कीले यसअघि बैठक बसेर निषेधित समयमा नदी उत्खनन नगर्न निर्देशन पनि दिएको थियो । तर मापदण्ड र जिससको निर्देशन नमानी कास्कीका खोला तथा नदीमा अहिले अवैध रूपमा उत्खनन बढेको छ ।

जिल्ला अनुगमन समिति कास्कीले रोक लगाइएकै समयमा खोला तथा नदीबाट ढुङ्गा, गिटी बालुवा उत्खनन र ओसारपसार गरेका गाडीहरू नियन्त्रणमा लिएर कारबाहीका लागि सिफारिस गरेको छ । ११ वटा टिपर र एउटा ट्याक्टरलाई कारबाहीको लागि पोखरा महानगरपालिकालाई सिफारिस गरिएको अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

ती गाडीहरू पोखरा १९ दश खेत घाटबाट नियन्त्रणमा लिइएको हो । ‘असार मसान्त अघि नै तोकिएको  परिमाणमा सामग्री उत्खनन गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्टक नै नभएको ठाउँबाट स्टक भन्दै सामग्री उत्खनन गरिएको पाइयो,’ उनले भने, ‘यसमा संलग्न कर्मचारीलाई समेत कारबाही गर्नुपर्ने देखिएको छ । आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ ।’

ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रालिलाई उत्खननका लागि महानगरका कर्मचारीले कार्यादेश दिएका थिए । यस्तै, मापदण्ड अनुसार उत्खनन, सङ्कलन र विक्री गरिने नदीजन्य सामग्रीको मौज्दात आर्थिक वर्षको अन्त्यसम्म शून्य गर्नुपर्ने र नसकेको अवस्थामा पालिकाले जफत गर्नुपर्ने व्यवस्था रहेकोले कार्यान्वयन नभएको पौडेलले सुनाए । ‘सबै पालिकालाई तोकिएको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप