सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

माधवले ओलीलाई विगत सम्झाउँदै प्रश्न गरे– यसअघिको गठबन्धन तोड्नुपर्ने कारण के थियो ?

आइतबार, ०६ साउन २०८१, १६ : २७
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत कार्यकालमा गरेका प्रतिनिधि सभा विघटनबारे स्मरण गराएका छन् । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले  विगतमा ओलीले कानुनमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको स्मरण गराए ।

‘तपाई २०७८ वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तर अल्पमतको प्रधानमन्त्री भएकाले तपाईँले २०७८ जेठ ८ गते मध्यराति कानुनमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्नुभएको सम्झना छैन होला’, नेपालले भने, ‘२०७८ असार २८ गते प्रतिनिधि सभा विघटनविरुद्धको रिट सर्वोच्च अदालतले नै तपाईँको कदम गलत भनेपछि तपाई पदमुक्त हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको थियो ।’

उनले घुमीफिरी २०८१ असार २८ मा कांग्रेस सभापति देउवाकै सहयोगमा प्रधानमन्त्री बनेर आफूहरूले बधाई दिँदै गर्दा काम गर्नुहोला भन्ने आशामात्र गर्न सकिने बताए । 

आफ्नै सरकार ढाल्नेदेखि प्रतिनिधि सभा विघटनसम्मका कदममा तरंगित र भावुक भएर अंगालो हालेको देखिएको भन्दै नेता नेपालले तत्त पार्टीका नेता कार्यकर्ता उत्साहित हुन नसकेको बताए । उनले सुरुमै आफ्नो विगतबारे समीक्षा ओलीलाई गर्न आग्रह समेत गरे । 

‘गीतमा के–के त्रुटि भए ? किन त्रुटि भयो ? जनताको आशा अपेक्षा किन पुरा भएन ?’, उनले नेताको चित्र चरित्रणबारे प्रश्न उठेको भन्दै नेताको प्रतिष्ठा राम्रो हुनुपर्ने बताए । नेताले आत्म प्रशंसा गाएर नहुने भन्दै सोच चिन्तन, आचरण, व्यवहार र शैलीबारे कति जिम्मेवार हुनुभएको छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे । उनले विगतलाई समीक्षा गर्दै आत्मालोचना गर्न सुझाव दिँदै तत्कालीन एमाले र माओवादी एकता र विघटनबारे समीक्षा गर्न सामान्य अनुरोधमात्र गरेको बताए । 

उनले यसअघिको गठबन्धन तोड्नुपर्ने कारण के थियो भनेर प्रश्न पनि गरे । 

‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धनलाई तुरुन्त तोडेर, अर्को गठबन्धन, सहकार्य वा समीकरण केका लागि जरुरी थियो ?’, नेपालले ओलीलाई सोधे, ‘त्यसमा पनि पाँच वर्ष सँगै जाने । स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने । सुन्दै आनन्द लाग्ने कुरा । आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पठायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप