बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

ढल्यो जम्कट्टेल नेतृत्वको सरकार

आइतबार, ०६ साउन २०८१, १६ : १६
आइतबार, ०६ साउन २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढलेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेसँगै माओवादी केन्द्रबाट १८ महिना सरकार सञ्चालन गरेका मुख्यमन्त्री जम्कट्टेल सत्ताबाहिर पुगेका हुन् । 

केन्द्रमा एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै सङ्कटमा परेका मुख्यमन्त्री जम्कट्टेलले संसदबाट बहुमत जुटाउन नसक्ने भएसँगै राजीनामा दिएका हुन् । एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल असार २४ गतेबाट अल्पमतमा परेका थिए ।

पटक पटक सत्ता समीकरण परिवर्तन भएपनि ३ पटक संसदबाट विश्वास मत लिएर सरकार सुरक्षित गरेका मुख्यमन्त्री जम्कट्टेलले यस पटक भने निरन्तरता पाउन सकेनन् ।

गत २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले समीकरण परिवर्तनसँगै पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । माघ ३ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका थिए । ४ महिना चलेको सो गठबन्धन चैत १० मा भत्कियो । नयाँ समीकरण बनेको त्यस समयमा पनि सरकार टिकाएका जम्कट्टेलको लोकप्रियता भने निरन्तर खस्कँदै गयो ।

उनले राप्रपा र एमालेसँगको सहयात्रा टुंगिएपछि २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए । करिब १ वर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । फागुन २३ मा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिए । सो समयमा उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।

तर असार १७ मा कांग्रेस र एमालेबिच बनेको सहमितसँगै  सत्ता समीकरण परिवर्तन हुँदा भने मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार ढलेको हो । यसोसँगै मुख्यमन्त्री जम्कट्टेलको पार्टी माओवादी केन्द्र प्रतिपक्षमा रहने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप