बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बंगलादेशमा प्रदर्शन

बंगलादेशबाट फर्किएका विद्यार्थी भन्छन्, ‘अवस्था क्रिटिकल बनेपछि फर्कियौँ’

‘इन्टरनेट नै बन्द गरिदिएपछि परिवारसँग सम्पर्क हुन सकेन, त्यसपछि झनै डरलाग्यो’
आइतबार, ०६ साउन २०८१, १४ : ४७
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । होस्टेलभित्रै डरैडरमा बस्नुपर्ने । न इन्टरनेट चल्ने । न त घर परिवारसँग सम्पर्क हुने । 

स्थानीय सबै आ–आफ्नो घरतिर लागिसकेका थिए । होस्टेलमा केवल विदेशी विद्यार्थी मात्रै । जसोतसो विद्यार्थीहरूले केही दिन बिताए । 

तर, दिनप्रतिदिन हिंसाले उग्ररूप लिँदै गयो । त्यहीबिचमा विभिन्न खालका अफवाह समेत फैलिए । कुन बेला के हुन्छ सबै भगवान् भरोसा थियो । 

विद्यार्थीहरू निकै आत्तिएको देखेपछि कलेजका प्रिन्सिपलले नै नेपाल फर्किने वातावरण मिलाइदिए । र होस्टेलदेखि एयरपोर्टसम्म एम्बुलेन्समा पुर्‍याईदिए । 

त्यसपछि बंगलादेशमा एमबीबीएस पढ्दै गरेकी ललितपुरको सातदोबाटोकी सुस्मिता कुमारी सहज रूपमा नेपाल आउन सफल भइन् । बंगलादेशमा भड्किएको हिंसाका कारणले केही दिनको त्रासदी अवस्थाबाट यतिबेला उनी मुक्त भएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले राहतको श्वास फेरेकी छन् । 

उनी बंगलादेशको ढाकास्थित पपुलर मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत छिन् । केही महिनापछि अन्तिम वर्षको परीक्षा सकेर नेपाल फर्किने उनको योजना थियो । तर, बंगलादेशमा भड्किरहेको हिंसाका कारण अहिले नै नेपाल फर्किएकी हुन् । 

ढाकास्थित आफ्नो होस्टेलबाट आज बिहान ४ बजे निस्केकी थिइन् । उनीसँगै तीन जना साथीहरू नेपाल फर्किएका छन् । 

बंगलादेशभर कर्फ्यु जारी छ । जसका कारण घरबाहिर निस्किन पाइँदैन । ‘कलेजको प्रिन्सिपलले नै गाडी (एम्बुलेन्स) को व्यवस्था गरिदिनुभएको थियो । सरकारले त उतै बस्नु भनेको थियो । कुनै पनि सहयोग गरेन । हामी आएको दिन कर्फ्यु लागेको थियो । कर्फ्युका कारण सहज रूपमा आउन सकिने अवस्था थिएन । त्यसपछि कलेजले एम्बुलेन्समार्फत एयरपोर्टसम्म छोडिदिएको हो,’ सुस्मिताले भनिन् ।  

आफ्नो कलेज सुरक्षित रहे पनि अन्य कलेजको होस्टेलहरूमा निकै तनावपूर्ण अवस्था रहेको उनको भनाइ छ । कतिपय कलेज तथा होस्टेलहरूले सुरक्षा दिन नसक्ने बताएको उनको भनाए छ । 

‘हाम्रो कलेजमा सुरक्षित नै थियौँ । अरू कलेजहरूको होस्टेलमा निकै गाह्रो थियो । हामी सुरक्षा दिन सक्दैनौँ, जाने भए जानु भनेको थियो,’ उनले भनिन् । 

ढाकास्थित इनाम मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत १७ जना नेपाली विद्यार्थी आज फर्किएका छन् । ती विद्यार्थी मध्येकी एक सदीक्षा बस्नेतले अवस्था निकै नै गम्भीर रहेको बताइन् । बंगलादेशको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको र त्रासमा बस्नुभन्दा स्वदेश फर्किनु राम्रो भनेर फर्किएको उनको भनाइ छ । 

इन्टरनेटसमेत बन्द गरिदिएपछि आफूहरू बढी आत्तिएको बताउँदै उनले भनिन्, ‘इन्टरनेट नै बन्द गरिदिएपछि घर परिवारसँग पनि सम्पर्क हुन सकेन । फोनमा राम्रोसँग कुरा सुनिँदैन थियो । त्यसपछि झन् बढी डर लाग्यो ।’

आफूहरूको कलेजले केही हुँदैन घर नफर्किनु भन्दै आएको उनको भनाइ छ । तर दिनप्रतिदिन अवस्था झन् गम्भीर बन्दै गएपछि फर्किनुपरेको उनले बताइन् । 

‘बंगाली साथीहरू थिए । उनीहरूले हाम्रो सुरक्षा गरिराखेका थिए । हामीसँगै होस्टेलमा बस्थे । तर, राति–राति प्रहरी आएर उनीहरूमाथि केरकार गर्न थाल्यो,’ बस्नेतले भनिन्, ‘त्यसपछि उनीहरू समेत आ–आफ्नो घरतिर लागे । स्थानीय सबै घर गएपछि हामी नेपाली मात्रै थियौँ ।’ 

इन्टरनेट काटिएपछि दूतावासमा सम्पर्क गरेर घरमा कुरा हुन पाएको उनले सुनाइन् । ‘हामी बस्ने होस्टेलमा त्यस्तो गाह्रो त भएको थिएन । तर, त्यहाँ काम गर्ने वार्डेनदेखि सबै जना आ–आफ्नो घर गएपछि हामी पनि डरायौँ । अनि आफैँले टिकट काटेर नेपाल आएका हौँ,’ उनले भनिन । 

आफूहरू बसिरहेको वरपर मान्छे मारेको खबरले बढी तनाव दिएको उनको भनाइ छ । दूतावासमा सम्पर्क गरेर घर फर्किन चाहेको बताएपछि दूतावासले होस्टेलदेखि एयरपोर्टसम्म गाडीको व्यवस्था गरिदिएको उनको भनाई छ । 

उनीहरू पढ्ने मेडिकल कलेजको सञ्चालक त्यहाँको संसद्का सदस्य थिए । जसले गर्दा उक्त कलेजमा त्यति धेरै जोखिम थिएन । तर, अन्य कलेजहरूमा भने मेडिकल विद्यार्थीहरू बाहिर आए भने गोली हान्ने धम्कीसहितको नोटिस आएको उनको भनाइ छ । 

एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत पुष्पा लामाले अब अवस्था सामान्य बनेपछि फर्किने बताइन् । सुरक्षित रूपमा काठमाडौँ आउन पाएपछि सुखी व्यक्त गर्दै उनले अब बंगलादेशको अवस्था सामान्य भएपछि जानुपर्ने बताइन् ।

 

उनले दूतावासमा सम्पर्क गरेपछि होस्टलबाट एयरपोर्टसम्म दूतावासले गाडीको व्यवस्था गरिदिएको थियो । त्यो बिचमा परिवारसँग सम्पर्क हुन नसकेपछि निकै आत्तिएको उनको भनाइ छ । 

  • ८०० भन्दा बढी विद्यार्थी फर्किए : परराष्ट्र 

परराष्ट्र मन्त्रालयले बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । विद्यार्थीहरू नेपाल फर्किने क्रम समेत जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यका अनुसार हिजो रातिसम्म ८०० विद्यार्थी नेपाल फर्किसकेका छन् । 

आज मात्रै करिब १०० विद्यार्थी नेपाल फर्किन लागेका छन् । ती मध्ये आज बिहान ४० जना भन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । हवाईमार्गका साथै भारतीय बाटो हुँदै समेत विद्यार्थीहरू नेपाल फर्किने गरेका छन् । 

त्यसका लागि दूतावासले होस्टेलदेखि एयरपोर्टसम्म तथा सीमा नाकासम्म गाडीको व्यवस्था गर्दै आएको परराष्ट्रका सूचना अधिकारी आचार्यले बताए । मन्त्रालयले भारत सरकारलाई समेत सडक मार्फत आउने विद्यार्थीहरूलाई सहजीकरण गरिदिन अनुरोध गरेको छ । 

बंगलादेशदेखि भारतीय सीमा नाकासम्म आउने विद्यार्थीहरूलाई सहज रूपमा नेपाल आउने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

घर फर्किन चाहने विद्यार्थीहरूलाई एयरपोर्टसम्म गाडीको व्यवस्था गर्दै आएको छ । त्यस्तै कतिपय कलेजहरूले समेत गाडीको व्यवस्था गरेर सीमानाका तथा एयरपोर्टसम्म पुर्‍याउने काम गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप