बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

उपसभामुखले दूतावासलाई लेखेको पत्रबारे संसद्‌मा सत्ता र प्रतिपक्ष सांसदबिच आरोप–प्रत्यारोप

आइतबार, ०६ साउन २०८१, २२ : १७
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उपसभामुख इन्दिरा रानाले अमेरिकन दूतावासलाई लेखेको एक पत्रबारे आरोप प्रत्यारोपमा उत्रिएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकको सुरुमै सत्ता पक्ष नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटर हेड प्रयोग गरेर मानव तस्करीसँग जोडेर व्याख्या गरेका थिए ।

‘संसद्सँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ सांसद खतिवडाले आक्रोश व्यक्त गरे ।

उनले प्रतिनिधिसभामा कुनै पनि पत्र आए सभामुख हुँदै महासचिव मार्फत परराष्ट्र मन्त्रालय पुग्नुपर्नेमा त्यसो नगरी उपसभामुखले के प्रयोजनका लागि त्यसरी पत्र लेखियो भनेर प्रश्न गर्दै छानबिन गरिनुपर्ने माग गरे ।

खतिवडाले उपसभामुख रानालाई संसद्‌भन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्न सुझाव समेत दिए । त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई कांग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिइन् ।

खतिवडापछि बोलेकी पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले सत्ता पक्षले उपसभामुख रानामाथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै अहिलेसम्म सांसदको लेटर प्याडबाट के–के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् । ‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो । ल डिक्लियर गरौ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ ?’, श्रेष्ठले प्रश्न गर्दै भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’

उनले विधि पद्धति बनाउने र छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर एक महिला उपसभामुखको किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् । साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको दाबी गरिन् ।

श्रेष्ठपछि बोलेका एमाले सांसद सांसद दामोदर पौडेल बैरागीले उपसभामुख रानाबारे मिडिया ट्रायल हो कि होइन भनेर विवाद गर्नुको अर्थ नरहेको भन्दै उपसभामुखको पत्रले नै मानव तस्करी गर्न लागेको हो भनेर बोलेको बताए ।

‘देशको चौथो दल हौँ, युवा हौं, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो । कसको लेनदेन छ ?’, उनले प्रश्न गर्दै भने,  ‘यो कुरा चाहियो । हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छेलाई अनेक नाउमा लेटर प्याडको प्रयोग गरेर, अनेक गरेर मान्छे बेच्ने ? उहाँलाई करुणा जाग्यो । इजरायलमा मान्छे मर्दा, इराकमा मान्छे मर्दा विज्ञप्ति आयो ?’

उनले आफूले ४० वर्ष राजनीतिक गरेर आएको भन्दै  छानबिन नभए संसद्ले उपसभामुखलाई नछोड्ने बताए ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषदमा तपाईँहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ’, सांसद सापकोटाको भनाइ छ ।

उनले राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिने भन्दै संवैधानिक परिषद्मा सरकार पक्षलाई रातारात के निर्णय गर्नुपरेको छ भनेर प्रश्न गर्दै त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप