सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक

आइतबार, ०६ साउन २०८१, १४ : २५
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।

आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास अभियानलाई तिव्रता दिन र राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको ओलीले जानकारी दिए  । 

यस्तै राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा रहेका, अभ्यासमा देखापरेका सवल पक्ष र  दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको काननु निर्माण गर्ने विषयलाई प्राथमिकता दिने विषय पनि सहमतिपत्रमा उल्लेख छ । 

यस्तै अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण बनाउने र आर्थिक गतिविधि चलायमान बनाउने पनि सहमतिपत्रमा उल्लेख छ । 

यस्तै राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमतिपत्रमा उल्लेख छ । 

राष्ट्रिय सहमतिको सरकार सञ्चालनका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने विषय समेत सहमतिपत्रमा उल्लेख छ । 

यस्तै रष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुसार प्रदेश सरकारको गठन र सञ्चालन गर्ने समझदारी समेत भएको ओलीले संसदलाई जानकारी दिए । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप