बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : गुरुपूर्णिमा

गुरु को हुन्, गुरु–शिष्य परम्पराले के भन्छ ?

आइतबार, ०६ साउन २०८१, १४ : ०५
आइतबार, ०६ साउन २०८१

ऋग्वेदमा भनिएको छ :
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर । 
गुरुः साक्षात पर ब्रह्म तस्मै श्री गुरवे नमः।। 

अर्थात्, गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु र महेश्वर हुन् । गुरु साक्षात् परब्रह्मस्वरूप भएकाले गुरुलाई नमन गर्छु ।

गुरुगीतामा भनिएको छ : 
गुशब्दस्तत्वन्धकारेस्याद् रुशब्दस्तन्निरोधके । 
अन्धकारनिरोधित्वाद् गुरुरित्यभिधीयते ।। 

अर्थात्, ‘गु’ शब्दको अर्थ ‘अन्धकार’ र ‘रु’ शब्दको अर्थ त्यसको निरोध या विनाश गरिदिने व्यक्ति हुन्छ । यस प्रकार अन्धकारको निरोधक भएकाले त्यो ‘गुरु’ पदबाट वाच्य छ । 

तन्त्रसारमा बताइएको छ : 
गकारः सिद्धितः प्रोक्तो रेफः पापस्य हारकः । 
उकारो विष्णुव्यक्तस्त्रितयात्मागुः परः ।।

अर्थात् ‘ग’ अक्षर सिद्धिदायक, ‘र’ पापको हरण गर्ने वाला तथा ‘उ’ले अव्यक्त विष्णुको अर्थ दिन्छ । यस प्रकार तीन शब्दले बनेको ‘गुरु’ शब्द परम गुरुको वाचक छ ।

कुलार्णवतन्त्रमा गुरुका ६ भेद बताइएको छ– प्रेरक, सूचक, वाचक, दर्शक, शिक्षक र बोधक । त्यहाँ भनिएको छ— जसले हृदयको अज्ञानरूपी अन्धकारलाई हटाइदिन्छ उही  गुरु हो ।

संस्कृत वाङ्मयमा गुरुको महिमागान पाइन्छ । संस्कृत भाषाको पहुँच सर्वसामान्यका लागि सरल हुँदाको अवस्थासम्म गुरुको गुणगान सर्वत्र देख्न पाइन्थ्यो । हिजोआज संस्कृतको महत्त्व र उपादेयतालाई अन्य भाषाहरूले उछिन्दै गएको छ । विद्यालय, कलेज र विश्वविद्यालयमा मात्र नभई सर्वत्र बाह्य संस्कृतिको प्रभाव बढ्दै जानाले गुरुको महत्त्व र अर्थ पनि धुमिल हुँदै गएको छ ।

  • गुरुको अर्थ

गुरु शब्दले स्थुलतः अनेक अर्थ दिन्छ । यसको निकै प्रचलित अर्थ हो, संस्कृताचार्य । ज्ञान, प्रेरणा र मार्गदर्शनको प्रतिविम्बका रुपमा आचार्य शब्द आउँछ । तर गुरुको अर्थ आचार्य शब्दले दिने अर्थभन्दा धेरै गहन हुन्छ । मानवीय जीवनमा अज्ञानतालाई अन्धकार र ज्ञानलाई ज्योति मानिन्छ । गुरुले जीवनको अन्धकार नाश गरेर जीवनलाई उज्ज्वल बनाउने कार्य गर्छन्  । यस्तै, अलमलिएको वा भौँतारिरहेको जीवनलाई मार्गदर्शन गरेर सम्यक् बाटोमा हिँड्न प्रेरित गर्छन् । 

विद्यालयका शिक्षक वा महाविद्यालयका प्राध्यापक आधुनिक शिक्षा व्यवस्थाका आचार्य हुन् तर गुरु त्यसभन्दा निकै गुढ विषय हो । संस्कृत विषयका शिक्षक पनि शिक्षक नै हुन्, तिनले गुरुको गरिमालाई छुँदैनन् । हिजोआज सूचना प्रविधिको विकास र विस्तारसँगै धर्मग्रन्थका ज्ञाताहरूको प्रवचनको बाढी नै आएको छ, जसमा मानिसहरु कसैलाई गुरु मानेर शिष्य बन्ने वा बनाउने प्रक्रिया चलिरहेको छ । तर त्यस्ता भीडहरूमा गुरु र शिष्यको वास्तविक स्वरूप देखापर्दैन । मान र पदवीका आधारमा पनि धर्मगुरु कहलाएका छन् । धर्मगुरु धर्मग्रन्थका व्याख्याता हुन् तर गुरुको दर्जा वा सच्चा गुरुको गरिमा प्राप्त गर्न सक्दैनन् ।

कुनै व्यक्तिगत लाभका लागि, अर्थ प्राप्तिका लागि नभई निष्काम भावले जसले आफूसहित अरूलाई जीवनरूपी डुङ्गा पार गर्न मार्गदर्शन गर्छन् वा गर्न सक्छन्, उनैलाई सच्चा गुरु भन्न सकिन्छ । त्यसदेखि बाहेकका त नामधारी गुरु हुन् ।

शिक्षक र गुरु शब्द हेर्दा उस्तै–उस्तै लाग्ने भए पनि त्यसभित्र अन्तर्निहित अर्थ भने बिल्कुलै भिन्न छ । शिक्षक पेसा हो भने गुरु पेसा होइन । यसैले शिक्षकले बाहिरी शिक्षा वा भौतिकतासँग धेरै सामीप्य राख्छ भने गुरुले अन्तरहृदय र धर्म–अध्यात्मसँग सरोकार राख्ने हुन्छ । 

शिक्षकले कुनै निश्चित समय, काल, बेला र तलब वा पारिश्रमिक या भत्तासँग पनि सम्बन्ध राख्ने हुन्छ । जबकि गुरुमा तिनको अभाव हुन्छ वा हुने अपेक्षा राखिएको हुन्छ । स्वार्थभन्दा माथि उठेको हुन्छ गुरुको आनीबानी, लक्षण र विशेषता ।

निष्ठाका साथ आफ्नो जीवनलाई सत् मार्गमा, परमार्थ पथमा, अध्यात्मको मार्गमा, प्राणी मात्रको हितमा जीवनलाई लगाएर आफू, परिवार, समाज , राष्ट्र र विश्वको हित हुने कार्यमा जीवनलाई समर्पित गर्ने व्यक्ति नै गुरुत्वले भरिपूर्ण हुन्छन् ।

गुरु आत्मज्ञान प्रकाशक, मार्गदर्शक र उद्धारक हो । गुरु त्यस्तो सशक्त आधार हो, जसद्वारा आध्यात्मिक शक्ति जनजनमा पुग्न सक्छ । शिक्षा जसले पनि दिन सक्छ, किन्तु शिष्यका लागि केवल गुरुले मात्रै आध्यात्मिक शक्तिको सञ्चार प्रदान गर्न सक्छ । जसबाट शिष्यको आन्तरिक उन्नति सम्भव छ ।

  • गुरु–शिष्य परम्परा

गुरुकुलमा गुरुको सानिध्यमा बसेर ज्ञान प्राप्त गर्नु एक तरहको गुरु–शिष्य परम्परा हो । भारत वर्षमा हजार वर्षअघि गुरु–शिष्य परम्परा समृद्ध अवस्थामा थियो । त्यस बखत अध्ययन गर्ने हो भने गुरुको वास्तविक अर्थ के हो भन्ने थाहा हुन्छ । त्यसयता विधर्मीको शासनमा गुरु–शिष्य परम्परामाथि अनेक तरहले आघात पुग्यो र त्यो परम्परा अवरुद्ध हुन पुग्यो । आज बल्ल गुरु–शिष्य परम्पराले आफ्नो स्थान, महत्त्व र गरिमालाई पुनस्र्थापित गर्न थालेको छ ।

गुरुकुल एक प्रणालीको रूपमा कार्य गर्दछ । गुरुकुल पाठ्यक्रम पूरा गरेर गुरुबाट दीक्षित भएर आफ्नो कर्म क्षेत्रमा लाग्नु गुरुकुल व्यवस्थाको ध्येय हो ।

सिद्ध पुरुषद्वारा आफ्नो साधना र सिद्धिलाई लोक हितका लागि संसारलाई हस्तगत गराउन शिष्य बनाउने परम्परा गुरु शिष्य परम्पराको दोस्रो महत्त्वपूर्ण स्वरूप हो । मठ, पीठ, अखडा, डेरा, बोधी, विहार आदि यसै गुरु शिष्य परम्पराको केन्द्र हुन् ।

एक व्यक्तिले आफ्नो जीवनलाई सरल र सफल बनाउने इच्छा गरी एक सक्षम गुरुलाई आफ्नो गुरु स्वीकार गर्छ र गुरुको मार्गदर्शनमा जीवन व्यतीत गर्दछ । यो पनि गुरु–शिष्य परम्पराको एउटा स्वरूप हो । सामाजिक र सांस्कृतिक जीवनमा यही परम्परा प्रचलित छ । विधर्म शासनकालमा यसै परम्पराले नै गुरु–शिष्य परम्परालाई जीवन्त राख्ने काम ग¥यो ।

गुरु–शिष्य परम्पराको प्रारम्भ वैदिककालमै भएको देखिन्छ । वैदिक ऋषिहरू गुरु सदृश छन् । वैदिक दर्शन र पुराण कालका ऋषिहरू पनि गुरु सदृश हुन् । यी ऋषिहरूकै नामबाट गोत्रको चलन चलेको हो । वेदान्तका रचयिता वेदव्यास पनि गुरु हुन् । यी ऋषिमध्येका ऋषि अत्रि र अनसुयाका पुत्र दत्तात्रेय पनि गुरु हुन् । 

दत्तात्रेय स्वयंले २४ गुरु सूत्र दिएका छन् । देवताहरूका गुरु बृहस्पति र असुरहरूका गुरु शुक्राचार्य हुन् । ब्रह्मा, विष्णु, महेश सबैका गुरु हुन् । तथापि ब्रह्माका पुत्रहरूमा दक्ष प्रजापतिका गुरु ब्रह्मा र नारदका गुरु विष्णु भए । महेश अर्थात् महेश्वर देवाधिदेव महादेव विश्वगुरु योगी शिव महामाया भगवती सती–पार्वतीका पति र गुरु दुवै हुन् । महादेव कतिपय राक्षस, दानव, असुरहरूका पनि गुरु भए । राम हनुमानका गुरु हुन् । कृष्ण जगतगुरु कहलाउँछन् । 

गुरु–शिष्य परम्परामा गुरु, परम गुरु, परात्पर गुरु, परमेष्ठी गुरु भनेर समस्त गुरुजनलाई नमन गरिन्छ । गुरु शिष्य परम्परामा कविरपन्थ जस्ता पन्थ र नाथ सम्प्रदाय जस्ता सम्प्रदायमा अद्यापि समृद्ध अवस्थामा रहेको देखिन्छ । सनातन धर्ममा वेदान्तकालदेखि भक्तिकाल र वर्तमान कालखण्डमा पनि गुरु–शिष्य परम्परा कायम छ । आदि शंकराचार्य, रामानुज, माध्वाचार्य, निखिलेश्वर, ओशो, योगेश्वर, चैतन्य महाप्रभु, रविशंकरजस्ता अनगिनत गुरुहरूको गुरु पंक्तिमा नाम लिन सकिनेछ । नवग्रहका सदस्य बृहस्पति गुरु नामले सम्बोधित हुन्छन् । मानव जीवनको निरन्तरता ग्रह गुरुकै कृपाले हो ।

गुरु दत्तात्रेयले गुरु मानेका २४ गुरुको सूत्रमा पृथ्वी, वायु, आकाश, जल, अग्नि लगायत पर्दछन् । पृथ्वीबाट सहनशीलता, वायुबाट असङ्ग्रहिणी स्वभाव, आकाशबाट अलिप्तता, जलबाट पवित्रता र अग्निबाट ओजस्वीताको पाठ सिक्न सकिन्छ । त्यस्तै चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, भमरो, हात्ती, माहुरी, हरिण, वेश्या, सर्प, माछा आदि पनि २४ सूत्रका हिस्सा हुन्, जसबाट मानिसले जीवनोपयोगी शिक्षा प्राप्त गर्न सक्दछन् ।

मानिसले जीवनमा गुरुरूपी योगदान गर्नेहरूमा आमा, बाबु, कुटुम्ब, परिवार, समाज, संगत, शिक्षकहरूबाट ज्ञान प्राप्त गर्दछ । उसका लागि उनीहरू सबै गुरु हुन् । कबीर साहेबले भेष गुरु एक ज्ञान गुरु अनेक भनेका छन् । मैले भन्न खोजेको त्यही भेष गुरुको विषयमा हो, जो मानिसको जीवनमा एक जना मात्र हुन सक्छ । गुरु प्राप्त नगरेको मानिसलाई निगुरा भन्ने चलन छ । जसले गुरु प्राप्त गरेको छ, उसलाई द्विज भनिन्छ । द्विज भनेको एउटै अवतारमा दोस्रोपटक जन्मिनु हो । प्राकृतिक जन्म आमाबाबुबाट प्राप्त भएको हुन्छ भने चैतन्य जन्म उही भेष गुरुबाट प्राप्त भएको हुन्छ । 

मानिसले जीविका र गृहस्थीको लागि चाहिने शिक्षा अनेक व्यक्ति वा वस्तुबाट प्राप्त गर्दछ तर गुरुबाट जीवनको मूल ध्येय प्राप्त गर्ने शिक्षा प्राप्त गर्दछ ।

शिष्य गुरुको आधार हो, गुरु शिष्यको आधार हो । शिष्य भएन भने गुरु हुँदैन । हरेक शिष्य गुरुनिकट पुग्न चाहन्छ । हरेक गुरु शिष्यलाई पूर्णता दिन चाहन्छ। गुरु शिष्य परम्पराको आदर्श यही हो ।

गुण र आचरणको अदभुत मिश्रण हो व्यक्तित्व, जसले मानिसलाई परिभाषित गर्दछ । व्यक्तित्वले सम्पूर्ण जीवनलाई पूर्णता प्रदान गर्छ । जो–सुकैको जीवन अनेक उबडखाबड र मोडहरूलाई पार गर्दै व्यक्तित्व निर्माणको चरणमा पुग्दछ । जीवनलाई सरल बनाउनका लागि जति नै संघर्ष गरे पनि बाटो सही छन् भने मात्र जीवन सफल हुन्छ । जीवनभर मानिसले कोही न कोहीबाट केही न केही सिकिरहेकै हुन्छ । चाहँदा नचाहँदै पनि सिकिरहेका हुन्छन्, तर त्यो सिकाइ जीवनका लागि पर्याप्त हुँदैन । सामान्यतः मानिसले जति काम पशुले पनि गर्दछ । पशुको जीवनमा जीवनको अन्तिम क्षणसम्मको सोच हुँदैन । अधिकांश मानिसमा पनि त्यस्तो सोच हुँदैन । त्यस्ता मानिस पशु समान हुन्छन्, तर त्यस्ता मानिस जसमा पछिसम्मको चिन्तन हुन्छ, उसैले आफ्नो जीवनलाई एउटा सही दिशामा लैजाने सम्भावना हुन्छ। तर त्यस्तो सम्भावनालाई सत्य र सार्थक सिद्ध गर्न सक्षम गुरु आवश्यक पर्छ ।

  • सच्चा गुरु

सच्चा गुरुले मिथ्याबोधलाई नष्ट गरेर शिष्यलाई जीवनको परमलक्ष्यको मार्गदर्शन गरिदिन्छन् । सुगति के हो ? कुगति के हो ? पाप के हो ? पुण्य के हो ? धर्म के हो ? अधर्म के हो ? गर्नु हुने के हो ? गर्न नहुने के हो ? ठिक के हो ? बेठिक के हो ? कर्तव्य के हो ? अकर्तव्य के हो ? गुरुले त्यसको भलीभाँती ज्ञान दिन्छन् र अन्तरात्मातिर, ईश्वरको प्राप्तिको बाटोतिर, भगवत दर्शनको मार्गतिर, प्राणी मात्रको हिततिर लाग्न सदैव प्रेरित गर्छन् । कुनै व्यक्तिगत लाभका लागि, अर्थ प्राप्तिका लागि नभई निष्काम भावले जसले आफूसहित अरूलाई जीवनरूपी डुङ्गा पार गर्न मार्गदर्शन गर्छन् वा गर्न सक्छन्, उनैलाई सच्चा गुरु भन्न सकिन्छ । त्यसदेखि बाहेकका त नामधारी गुरु हुन् ।

  • गुरु पूर्णिमा

गुरु पूर्णिमा, जसलाई व्यास पूर्णिमा र वेद पूर्णिमा पनि भनिन्छ, सनातन धर्मको एक महत्त्वपूर्ण चाड हो । यो पर्व प्रत्येक वर्ष असार महिनाको पूर्णिमाका दिन मनाइन्छ । यस वर्ष गुरुपूर्णिमा आज (साउन ६ मा) मनाइँदै छ । गुरुपूर्णिमाको महत्त्व गुरु र शिष्यको पवित्र सम्बन्धको प्रतीक हो । यस दिन, शिष्यहरूले आफ्ना गुरुप्रति कृतज्ञता व्यक्त गर्छन् र उनको ज्ञान र मार्गदर्शनका लागि उनको पूजा गर्छन् ।

गुरुपूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ । यो दिन महर्षि कृष्णद्वैपायन वेद व्यासको जन्मजयन्तीको रूपमा मनाइन्छ ।

बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धको सम्मानमा गुरुपूर्णिमा मनाउँछन् । गुरु पूर्णिमाको दिन गौतम बुद्धले आफ्नो पहिलो उपदेश दिएका थिए ।

आजको कलहले ग्रस्त समाजलाई समृद्ध र सुन्दर बनाउन सच्चा शिष्यहरूको आवश्यकता छ । समर्थ गुरुबाट दीक्षित तथा सदाचरण, मर्यादित र अनुशासित शिष्यहरूको आवश्यकता छ ।

आ–आफ्नो गुरुको व्यक्तित्व र वाणीको चर्चा, विवेचना र चिन्तन–मनन गर्ने दिन हो, गुरुपूर्णिमा । प्रज्ञाका निम्ति मियो स्थापित गर्ने र प्राज्ञ बन्न प्रण गर्ने दिन हो, गुरुपूर्णिमा । शिष्यत्व बुझ्न सक्ने र गुरुको सेवा गर्न सक्ने व्यक्तिले मात्र गुरुको आशीर्वाद प्राप्त गर्न सक्छ । 

गुरु पूर्णिमा मनाउनु मात्र पर्याप्त हुँदैन । प्रत्येक दिन र प्रत्येक क्षण गुरु कर्ममा रत रहनुपर्छ । गुरु कर्म अलग्गै कुनै खास काम होइन, शिष्यले आफ्नो दिनचर्यामा जे जुन काम गर्छन्, ती काम सफलतापूर्वक गर्ने विधि हो, गुरु कर्म । 

बुद्ध वाणी छ– अप्प दीपो भव । अर्थात् आफैँ ज्योतिमय हौँ । जीवनको अर्थ–कर्म र मोक्ष (निर्वाण) हो । कर्म र मोक्षको सरल उपाय अर्थात् उपायकौशल्य नै गुरुवाणी हुन्छन् । गुरु–शिष्य परम्पराको अर्थ प्रत्येक शिष्यमा गुरुत्वको प्रकटीकरण हो । 

दत्तात्रेयका गुरु–सूत्रको तात्पर्य संसारमा व्यक्त वा अव्यक्त सबै वस्तु गुरु समान हुन् । शिष्यको दृष्टि जहाँ पुग्छ, त्यहाँ कुनै नवीन ज्ञानको उद्घाटन हुन्छ । तर त्यो कुरा आफ्नो मनलाई गुरुको पाउमा अर्पण गरेपछि मात्र सम्भव हुन्छ ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप