गुरु र गुरुका प्रकार
हामी हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिन व्यास जयन्ती वा गुरु पूर्णिमाको रूपमा मनाउँदै आएका छौँ । गुरुपूर्णिमा मनाउनुको अर्थ गुरु ज्ञानले आफूभित्र रहेको गुरुतŒवलाई जागरुक बनाउन सजग हुनु हो । यस दिनमा गुरुको व्यक्तित्व र आदर्शलाई स्मरण र चर्चा गर्दै आफू पनि ज्ञानवान् बन्दै, प्रज्ञावान् हुने प्रण गर्ने दिन हो ।
गुरु पूर्णिमा भन्ने शब्दले नै यसको अर्थ बताएको छ । अँध्यारोबाट उज्यालोमा पुर्याउने माध्यमलाई गुरु भनिन्छ । उज्यालोमा पुर्याउन गुरुले हात समातेर लैजाने पक्कै होइन । एकपटकलाई मात्र होइन, जीवनभर उज्यालोमा रहन गरिने कर्म र त्यसप्रति सजग रहने कला सिकाउनु नै गुरुको काम हो ।
हाम्रो शास्त्रीय मान्यता अनुसार आमाबाबु, दिक्षा दिने व्यक्ति, आचार्य र किसानलाई गुरु भन्ने गरिन्छ । सबै गुरुहरूको आ–आफ्नै स्थान छ । आमाबाबुले पहिला बोल्न, हिँड्न खान सिकाए । उनीहरूभन्दा ठुलो गुरु संंसारमा कोही छैन । यस्तै हाम्रो अन्नमयकोशलाई भरणपोषण गर्ने किसानको स्थान कसैसँग तुलना गर्नै मिल्दैन । स–साना बालबालिकालाई कखरा सिकाउने शिक्षकशिक्षिका उत्तिकै आदर्श पात्र हुन् ।
यति भनिरहँदा आध्यात्मिक मार्गमा डोर्याउने सद्गुरुको स्थान झनै उच्च छ । जिन्दगी चलाउनु मात्र जीवनको उदेश्य होइन । जिन्दगी भनेको जन्मेदेखि नमरुन्जेलसम्मको अवधि हो भने जीवन भनेको जिउनुको गहिराइ हो अर्थात् जीवन्तता हो । आफू कस्तो बनियो ? आफ्नो अधिकार र कर्तव्यलाई कसरी निर्वाह गरिन्छ ? जिउनका लागि गरिएका क्रियाकलाप के कस्ता थिए ? आफ्नो पूर्ण क्षमतामा कर्म गर्दा जीवनस्तर समद्धिले भरिपूर्ण बन्यो कि बनेन ? यी र यस्ता कुराले जीवन जिउनुको रसलाई उजागर गर्छन् ।
गुरुले सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दा कसले कति ग्रहण गर्छ भन्ने कुरा सिक्नेको पात्रतामा भर पर्छ ।
हाम्रो जीवन जिउने क्रममा विविध क्रियाकलाप गर्दै धेरैसँग सम्बन्ध स्थापना गर्नुपर्ने हुन्छ । पहिलो सम्बन्ध त हामी आफूले आफैँसँग राखिन्छ । शरीर, मन, भावना चेतनाका लागि आफूले के गर्न हुन्छ, के गर्न हुँदैन ? के खान हुन्छ, के खान हुँदैनदेखि लिएर आफूले अरूका लागि केही काम गर्दा अपनाउनुपर्ने सजगतासम्बन्धी व्यावहारिक ज्ञान दिने काम समेत गुरुको हुन्छ ।
गुरुले सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दा कसले कति ग्रहण गर्छ भन्ने कुरा सिक्नेको पात्रतामा भर पर्छ । गुरुबाट प्राप्त हरेक सङ्केतलाई ग्रहण गर्ने क्षमता व्यक्तिभित्र रहेको गुरुतत्वले गरिरहेको हुन्छ । जुन कुरा हामीलाई प्रतक्ष ख्याल नहुन सक्छ ।
सोझै हेर्दा माथि भनेका कार्य र सन्दर्भका लागि केवल उल्लिखित पाँच गुरुहरूको मात्र स्थान वा भूमिका हो कि भनेजस्तो लाग्न सक्छ, तर समय र सन्दर्भ अनुसार व्यक्तिको व्यावहारिक जीवनमा अनगिन्ती गुरु हुन्छन् । गुरु भनेका केवल मान्छे मात्र नभई पशु, पक्षी, कीटपतङ्गहरू पनि हुन सक्छन् ।
यसैगरी कुनै घटना र समयबाट जीवन उपयोगी शिक्षा लिन सकिन्छ । ती घटना र समय पनि हाम्रा गुरु हुन् । आफूले कुनै काम गर्न खोजेको तर द्विविधामा रहेका बेला कसैले उस्तै प्रकारको काम गरेर सफलता हासिल गरेको देख्दा आफू पनि आँट गर्न सकिन्छ । कुनै पनि कुरा सिक्नका लागि आँटका साथै दृढ इच्छाशक्ति र लगनशीलता भने पक्कै चाहिन्छ ।
कुनै बेलाका देखिएका वा बेहोरिएका घटना भने नकारात्मक हुन सक्छन् तर आफूले त्यसबाट ग्रहण गर्ने सन्देश सकारात्मक हुन सक्छ । यसको सामान्य उदाहरणमा धूमपान र मध्यपानलाई नै लिन सकिन्छ । कसैले रक्सी सेवन गरेर आफ्नो शरीर, बुद्धि र इज्जतका साथै पारिवारिक आर्थिक अवस्था खराब पारिरहेको देखिन्छ । यो अवस्था देख्दा त्यसो गर्नु राम्रो हैन भन्ने शिक्षा पाइन्छ ।
पृथ्वीबाट उनले सहनशीलता र सबैलाई अन्न, फलफूल प्रदान गर्ने गुण सिके । यसैगरी वायुबाट असंग्रही व्यवहार र समानताको कुरा बुझे ।
हाम्रो जीवनका गुरुका प्रकार र अवस्थालाई यहीँ थाती राखेर अब कुरा गरौँ । शास्त्रमा वर्णन गरिएका दत्तात्रयका गुरुहरूको । उनका २४ गुरु थिए रे । यसमा कुनै पनि व्यक्तिलाई विशेष रूपमा मानेर, कान फुकाएर दिक्षा लिएका गुरु भने होइनन् । उनका गुरुहरू थिए— पृथ्वी, वायु, आकाश, पानी, आगो, चन्द्रमा, सूर्य, समुद्र, हात्ती, माहुरी, अजिङ्गगर, परेवा, पुतली, भमरो, हरिण, माछो, वेश्या, बालक, कुकरपन्छी, किशोरी, बाणकर (बाण बनाउने मान्छे), सर्प, कमलकोटी र माकुरो ।
यिनीहरूबाट दत्तात्रयलाई के के शिक्षा मिल्यो, त्यो पनि छोटकरीमा चर्चा गरौँ ।
पृथ्वीबाट उनले सहनशीलता र सबैलाई अन्न, फलफूल प्रदान गर्ने गुण सिके । यसैगरी वायुबाट असंग्रही व्यवहार र समानताको कुरा बुझे । आकाशबाट अलिप्तता र कुनै पनि रङ र आकारबाट अप्रभावित हुने ज्ञान उनलाई प्राप्त
भयो । पानीबाट पवित्रता, आगोबाट तेजको गोप्यताका साथै मौका पर्दा ज्वाजल्यवान् हुनुपर्छ भन्ने गुणलाई बुझे । यसैगरी चन्द्रमाबाट शीतलता र समयानुसार कलाको परिवर्तनमा आरोह–अवरोह देखेनन् । सूर्यबाट समयचक्र अनुसार पानी अवशोषण गरेर फेरि वर्षाइदिने निरन्तरता देखे । समुद्रबाट आफ्नो सीमा उलङ्घन नगर्ने र शान्तिको गुण थाहा पाए ।
यसैगरी हात्तीबाट स्पर्शको कामुकताबाट ज्यानसम्म जाने अवगुण, माहुरीबाट अति सङ्ग्रह गर्ने र बिनाउपयोग भाग्नुपरेको दुरवस्था, अनि परेवाबाट परेवीप्रतिको मोहको कारण ज्यान फालेर बालबच्चा टुहुरा भएको देख्दा मोहको अवगुण बुझे । अजिङ्गगर आफ्नो ठुलो ज्यान भएकाले आहारा खोज्न जान पनि सक्दैन, तर यसमा उसलाई हीनताबोध छैन । जे आउँछ खान्छ । उसमा भएको सर्वस्वीकार्यता भावबाट जीवन जिउने कला जाने ।
यहाँ दत्तात्रयका गुरुहरूको नाम लिनुको अर्थ हाम्रा जीवनमा हरेक व्यक्ति, घटना र समयका गुरु हुन सक्छन् भन्नका लागि हो । कुनै बेला यो काम गर्न पर्छ, गर्न हुन्छ वा गर्न सकिन्छ भनेर बुझिन्छ ।
पुतलीबाट रूपको आकर्षणबाट बत्तीमा होमिएर मृत्युवरण गरेको, भमरोले गन्धको प्रेमले ज्यान गुमाएको र हरिण ध्वनिले लट्ठ परेर मारिने गरेको कुरा बुझे । माछाको जिब्रोको स्वादका कारण ज्यान गएको, वेश्यालाई आफ्नो कामको स्तरले वैराग्य भएको कुरा बुझे । बालक निर्मल, स्वच्छ छ, ऊ परमानन्दमा रहेको देखेर परमानन्दको अनुभूतिको तरिका बुझे । कुकरपन्छी मुखमा लिएको हाड जोगाउन खोज्दा मारिन लागेपछि हाडलाई छाडेर ज्यान बचाएका देख्दा त्यागको शिक्षा पाए ।
अर्कोतिर एउटी किशोरीले काम गर्दा चुरा बजेर तनाव भएपछि दुवै हातमा एउटा–एउटा मात्र लाएर काम गरेको देखेपछि ध्यानमा एक्लै शान्तपूर्वक बस्नुपर्छ रहेछ भन्ने ज्ञान पाए । बाणकर (बाण बनाउने मान्छे) एउटा व्यस्त चोकमा बाणलाई तिखो बनाइरहँदा राजाको सवारी गएको देखिन भनेपछि एकाग्रताको महत्त्व बुझे । सर्पबाट उसको एकाङ्कीपनको कारण न घर, न साथी चाहिने भएको देखेपछि जञ्जालभन्दा एक्लै रमाउन सक्नुपर्ने कुराको चेत पाए ।
अर्कोतर्फ कमलकोटीले पतकरमा माकुरो राखेर भुँ–भुँ गरी कमलकाटी नै बनाएको देख्दा डर र सङ्गतले जो–कोही पनि अर्कै बन्न सक्ने रहेछ भन्ने ज्ञान पाए । माकुरो आफ्नै कलाले जाल बनाउँछ र त्यही प्रपञ्चमा परेर आफू मरेको देखेपछि शुद्ध र सरल जीवन जिउनुपर्छ, प्रपञ्च गर्नुहुन्न भन्ने चेत पाए ।
यहाँ दत्तात्रयका गुरुहरूको नाम लिनुको अर्थ हाम्रा जीवनमा हरेक व्यक्ति, घटना र समयका गुरु हुन सक्छन् भन्नका लागि हो । कुनै बेला यो काम गर्न पर्छ, गर्न हुन्छ वा गर्न सकिन्छ भनेर बुझिन्छ । यसैगरी कुनै काम गर्न नहुने रहेछ भनेर बुझ्छौँ । कुनै काम हामी आफूभन्दा ठुलाबाट, कुनै समकक्षीबाट र कुनै कुरा नाति–नातिनी पुस्ताबाट सिक्छौँ । यसबाट हामी सिकाउने व्यक्तिभन्दा सिकिने विषय महत्त्वपूर्ण हो भन्ने कुरा बुझ्छौँ ।
अन्त्यमा, अध्यात्मको मार्गमा डोर्याउने सद्गुरु लगायत हामीले जहिले, जसबाट, जहाँ रहेर जीवन उपयोगी ज्ञान, सीप र कला सिकौँ, सबै गुरुहरूलाई गुरु पूर्णिमाका उपलक्ष्यमा हार्दिक नमन ।
(लेखक जीवन विज्ञान प्रतिष्ठानमा प्रशिक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार