बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

साउनमा ५ फिल्म ः कथामा भेराइटी, स्टार कति ?

आइतबार, ०६ साउन २०८१, २१ : ००
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । प्रत्येक साता नयाँ नेपाली फिल्म हेर्न रुचाउने दर्शकलाई असार महिनाले निराश बनायो । चार शुक्रबार रहेको असारमा पहिलो र अन्तिम शुक्रबार मात्र फिल्म रिलिज भए । 

पहिलो शुक्रबार अर्थात् असार ७ गते दुई फिल्म ‘दान्भी’ र ‘आचार्य’ रिलिज भए । यी दुवै फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन् । ‘आचार्य’ त रिलिज भएको भोलिपल्टै हलबाट उत्रिएको थियो । 

त्यस्तै अन्तिम साता अर्थात् २८ गते शुक्रबार ‘घरज्वाइँ’ प्रदर्शनमा आयो । अहिले पनि प्रदर्शनरत फिल्मले राम्रो व्यवसाय गरिरहेको निर्माण युनिटले जनाएको छ ।

दर्शकलाई असारले निराश बनाए पनि साउनले भने पक्कै खुसी दिनेछ । किनभने साउनमा ५ नेपाली फिल्म रिलिज हुँदैछन्– ‘ईश्वर’, ‘मोदिबेनी’, शीरफूल’, ‘नम्बरी सुन’ र ‘बुलाकी’ । 

राजु गिरी निर्देशित ‘ईश्वर’ साउन ११ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ भने शङ्कर कोइराला निर्देशित ‘मोदिबेनी’ र कमल एक्चै मगर निर्देशित ‘शीरफूल’ साउन १८ गते एकसाथ भिड्न लागेका छन् । त्यस्तै अहिलेसम्मको रिलिज तालिकाअनुसार राजु गिरी निर्देशित ‘नम्बरी सुन’ साउन २५ गते र लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ साउन ३२ मा रिलिज हुने भएको छ ।

  • कलाकारको अवस्था कस्तो ?

नेपाली फिल्म रिलिज तालिका कताकता नमिलेको देखिन्छ । किनभने कुनै मितिमा स्टार कलाकारका फिल्मको भिडन्त हुन्छ भने कुनै मितिमा नयाँ कलाकारले भरिएका फिल्म लाग्छन् । यो साउनमा रिलिज हुने ५ फिल्मलाई नियाल्ने हो भने नयाँ तथा पुराना कलाकार मिसिएका फिल्म छन् । तर कुनै पनि फिल्ममा पछिल्लो समय चलेका अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, मिरुना मगरलगायत देख्न पाइन्न ।

साउनको पहिलोसाता रिलिज हुने फिल्म ‘ईश्वर’ पुराना कलाकारले त भरिएको छ । तर पछिल्लो समय चलेका कलाकारहरू कसैलाई पनि देख्न सकिन्न । यो फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङ लगायतका कलाकारको अभिनय छ ।

त्यस्तै, साउन १८ गते रिलिज हुने दुई फिल्म ‘मोदिबेनी’ र ‘शीरफूल’ को हालत पनि उस्तै छ । ‘मोदिबेनी’ वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला लगायत कलाकारले भरिएको छ । 

‘शिरफूल’ पनि स्टार कलाकारविहीन फिल्म हो । फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय देख्न सकिन्छ ।

यस्तै साउन २५ गते रिलिज हुने फिल्म ‘नम्बरी सुन’ गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ । यी मध्य धेरै कलाकार नेपाली फिल्ममा बाक्लै देख्न पाइने अनुहारमा पर्छन् ।

साउन ३२ मा आउने फिल्म ‘बुलाकी’मा भने सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का लगायतको अभिनय छ ।

  • कथामा भेराइटी

पछिल्लो समय नेपाली फिल्मले व्यावसायिक फड्को मार्न नसके पनि कथामा भने भेराइटी देख्न सकिन्छ । कतिपय निर्माता–निर्देशकले नेपाली फिल्ममा कहिल्यै देख्न नपाएको अर्ग्यानिक कथा पस्किरहेका छन्, त कतिपयले प्रेमकथा मार्फत विकृति विसङ्गति उजागर गरिरहेका छन् । साउनमा रिलिज हुने ५ फिल्म ‘ईश्वर’, ‘मोदिबेनी’, ‘शीरफूल’, ‘नम्बरी सुन’ र ‘बुलाकी’ पनि यस्तै कथाहरूमा निर्माण भएका फिल्म हुन् ।

‘ईश्वर’ प्रेमकथामा निर्माण भएको फिल्म हो । फिल्ममा कलाकार पृथ्वीराज प्रसाईं र अनु शाह प्रेमजोडीको रूपमा छन् । दिव्या कंगना फिल्मस्को ब्यानरका लागि फिल्म हरिबहादुर थापाले निर्माण गरेका हुन् ।

‘मोदिबेनी’ पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय एउटा सत्यघटनामा आधारित रहेर बनेको फिल्म हो । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता दिलीप केसी हुन् । फिल्मले गाउँको साधारण महिला र सम्भ्रान्त परिवारका एक व्यक्तिको कथासमेत भन्नेछ । फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् । 

त्यस्तै ‘शीरफूल’ आदिवासी जनजातिको कथामा निर्माण भएको हो । ‘शीरफूल’ आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको छ । फिल्ममा आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको बताइन्छ । आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी फिल्म छ ।

फिल्म ‘नम्बरी सुन’ ६०–७० वर्ष अगाडि घरघरमा गहना बनाउन जाने व्यक्तिको कथामा निर्माण भएको हो । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् । 

यस्तै ‘बुलाकी’ छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म हो । कर्णाली भेगको जारी प्रथाको कथामा निर्माण भएको फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् । २०८० वैशाखमा प्रदर्शन आएको यो फिल्म सो समय हल कम पाएको भन्दा रिलिजको भोलीपल्ट उतारिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप