शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘ओली र प्रचण्डको चरित्र एउटै हो’

रविजीले गृहमन्त्री त पाउनुभयो तर पार्टी सिद्ध्याउनुभयो : मुमाराम खनाल
आइतबार, ०६ साउन २०८१, ०९ : १६
आइतबार, ०६ साउन २०८१

मुमाराम खनाल माओवादी जनयुद्धमा सक्रिय सहभागी भए । कम्युनिस्ट सत्ता स्थापना गर्ने सपना साकार पार्न बन्दुक पनि बोके तर उनी अहिले नेपालका कम्युनिस्टलाई कम्युनिस्ट नै मान्दैनन् । 

जनयुद्धको कमान्ड सम्हालिरहेका कमान्डर प्रचण्डका विश्वासपात्र नै भएर पनि काम गरे । तर अहिले उनी सबैभन्दा बढी प्रचण्डकै आलोचक छन् । ओली र प्रचण्डलाई समान चरित्रका मान्ने उनी कांग्रेससँग चाहिँ थोरै आशावादी देखिन्छन् । 

बदलिँदो सत्ता समीकरण र राजनीतिको अबको बाटो कस्तो होला लगायत विषयमा राजनीतिक विश्लेषक मुमाराम खनालसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ खनालसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • दुई ठुला दल मिलेर सरकार चलाएपछि राजनीतिक स्थायित्व हुन्छ, मुलुकमा सुशासन कायम हुन्छ, मुलुक समृद्धितर्फ पनि जान्छ साथै हामी संविधान संशोधन गर्ने सामर्थ्य पनि राख्छौँ भनेर नेपाली कांग्रेस र नेकपा एमालेले भनेका कुरामा कति सत्यता छ ? 

–साना दलहरूको दम्भ यति धेरै कि ‘अब हामीले नै हो सरकार चलाउने, हामीसँग जादुमयी नम्बर छ’ भन्नेमा पुगे उनीहरू । उनीहरूबाट आजित भइसकेपछि ठुला दल आउने र संसदीय राजनीतिको जुन सैद्धान्तिक प्रस्तावना हो, त्यसमा प्रहार गर्ने । अनि उनीहरूको तानाशाही स्वेच्छाचारिता बढ्ने । एउटाले ज्यादती गर्दा अर्को ज्यादतीवालालाई रोज्नुपर्ने, अनि अर्कोलाई रोज्दा बरु पहिलाकै ज्यादतीवाला ठिक थिए भन्नुपर्ने अवस्थामा हामी छौँ । यो दोहोरो कुराबाट हामी आजित छौँ ।

प्रचण्डजीको भनाई एउटा जँड्याहाले आफ्नो बच्चालाई जाँड नखा भनेजस्तै हो ।
  • कांग्रेस एमाले मिल्नुहुँदैन थियो भन्ने हो कि नेता परिवर्तन हुनुपर्थ्यो भन्ने हो ?

–नेपालको प्रधानमन्त्रीको रूपमा निकै अगाडिदेखि नै शेरबहादुर देउवा, केपी ओली र प्रचण्डमा नै ‘म्युजिकल चेयर’ चलिरहेको छ । यी व्यक्तिहरूलाई नेपाली जनताले हेर्न पनि चाहँदैनन् तर उनीहरूकै पुनरावृत्ति भइरहेको छ । यसले नेपाली जनतामा नैराश्य थप बढाउने काम मात्र गरेको छ । 

  • केही ठुला भ्रष्टाचारका फाइल खुल्न थाले अनि मलाई हटाइयो भन्ने निवर्तमान प्रधानमन्त्री प्रचण्डको भनाई छ । यसमा केही सत्यता देख्नुहुन्छ ? 

–उहाँको राजनीतिक बयानबाजीलाई अब कसैले पनि मान्यता दिँदैन । प्रचण्डजीको भनाई एउटा जँड्याहाले आफ्नो बच्चालाई जाँड नखा भनेजस्तै हो । प्रचण्डजीले सत्ताका लागि जे हर्कत गर्नुभयो, उहाँले मैले राम्रो गरेको छु भनेर अब कसैले पत्याउँदैन । कांग्रेस एमालेले खसीको एउटा टाउको देखाएर चार पाँचवाटा कुकुर बेचे होलान् प्रचण्डजीले त खसीको एउटा टाउको देखाएर एक हजारभन्दा बढी कुकुरको मासु बेचिसक्नुभयो, अनि उहाँलाई कसले पत्याउने ?

  • यसको मतलब प्रधानमन्त्रीको रूपमा प्रचण्डको विकल्प खोज्ने बेला भइसकेको थियो ?  

–लोकतन्त्रमा साना दलहरूको सरकारले संस्थागत मान्यता पाउँदैन भनेको मतलब राज्यका निकायहरूले टेर्दैनन् । त्यसकारण सानो दलले ठुला दलहरूको समर्थनमा प्रधानमन्त्री बन्नुहुँदैन । त्यस्तो प्रधानमन्त्री छाया प्रधानमन्त्री हुन्छ ।

अहिले प्रतिपक्ष को छ र ? कतैबाट पनि सरकारमा जान नपाएर नसकेर प्रतिपक्ष बनेका मात्र हुन् । कुन दल सरकार बाहिर रहेका छन् र ?   
  • यसको मतलब कांग्रेस, एमालेले सानो दलको नेतालाई प्रधानमन्त्री बनाएर कमजोरी गरे ?

–यसमा सबैभन्दा बढी कमजोरी कांग्रेसको छ । उसले आफू प्रधानमन्त्री बन्नका लागि पहल गर्नुपर्थ्यो र अरू साना दलले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्थ्यो ।

mumaram-khanal-3

  • त्यसो हो भने त अहिलेको कांग्रेस, एमालेको समीकरण ठिकै र छ त । 

–बाध्यात्मक ठिक हो । अहिले प्रतिपक्ष को छ र ? कतैबाट पनि सरकारमा जान नपाएर नसकेर प्रतिपक्ष बनेका मात्र हुन् । कुन दल सरकार बाहिर रहेका छन् र ?   

  • भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेटलगायतका फाइल खुल्न थालेपछि सरकार परिवर्तन गरियो भन्ने रास्वपा अध्यक्ष रवि लामिछानेको पनि भनाई छ । यसमा तपाईंको भनाई के छ ? 

–उहाँले जे स्टन्ट गर्दै हुनुहुन्छ, उहाँहरूको राजनीति त्यसैले नै सकिँदैछ । बाटो नबदली यस्तै स्टन्ट गर्दै जानुभयो भने मिसन ८४ होइन कि ८४ मा त पार्टी नै रहँदैन । 

ओलीको चरित्र र दम्भलाई कांग्रेसले कति थेग्न सक्छ त्यसमा निर्भर पर्छ ।  
  • अहिलेको गठबन्धनले संविधान संशोधनदेखि सुशासनसम्मका कुरा गरेको छ, आशा गर्न सकिन्छ त ?

–कांग्रेस र एमालेले सुशासन दिन्छन् भनेर कसले पत्याउँछ ? सरकार किन बनाएको भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । यस्तो अपारदर्शी दलहरूबाट सुशासनको कुनै सम्भावना पनि छैन । 

  • यो सरकार कति स्थिर रहला ?

–कांग्रेस र एमालेभित्र विग्रह आएन भने सापेक्षिक रूपमा राजनीतिक स्थिरता हुन सक्छ । तर केपी ओलीको चरित्रले त्यो पनि सम्भावना कम छ । ओलीको चरित्र र दम्भलाई कांग्रेसले कति थेग्न सक्छ त्यसमा निर्भर पर्छ ।  

  • धेरैवटा प्रयोग भए अब यो प्रयोग अन्तिम विकल्प हुनसक्छ । यो पनि असफल भयो भने मुलुकको राजनीति नै अर्कै कोर्समा जान्छ भन्ने पनि छ ।

–लोकतान्त्रिक संस्थाहरू कमजोर हुँदा हुने त्यही हो । यसमा खास गरेर माओवादी दोषी छ । युद्धमा हुँदा बाहिरबाट मात्र हिर्काएको थियो । अहिले त माओवादीले लोकतान्त्रिक संस्थाहरूको आत्मामै हानेको छ । कांग्रेस र एमालेलाई पनि माओवादीले अमर्यादित र असंवैधानिक बाटोमा ल्यायो । कांग्रेस, एमालेलाई पनि विधि नमिलाए पनि हुने रहेछ भन्ने लाग्यो । यसका गुरुचाहिँ प्रचण्ड नै हुन् ।  प्रचण्ड गुरु भएकैले लोकतान्त्रिक स्पेस खुम्चिँदै यहाँ पुगेको हो र दक्षिणपन्थी स्पेसचाहिँ फराकिलो हुँदै गएको हो ।

नेपालमा राजनीतिक दलको नेतृत्व अधिनायकवादी नै छ । संगठन लोकतान्त्रिक भएकाले कांग्रेसभित्र विरोधीलाई दमन कम हुन्छ ।
  • यो संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका एजेन्डा मेरै हुन् भन्नुहुन्छ त प्रचण्ड । उहाँको भनाई सही पनि हो नि, होइन ?

–प्रचण्डजीको झुटो दाबी हो । उहाँलाई चाहिने सत्ता हो । राजासँग वार्ता गर्दा वा संसदीय दलहरूसँग पनि सत्तै खोज्नुभएको थियो । उहाँहरू त नयाँ जनवादी क्रान्ति गर्छु भनेर आउनु भएको थियो नि । गिरिजाप्रसाद कोइरालाले नचाहेको भए नेपालमा गणतन्त्र आउने सम्भावना थिएन । 

  • ओली र प्रचण्ड मिल्न खोज्छन् तर टिक्दैनन् किन ? 

–जुन ठुलो लेफ्ट ग्राउन्ड छ नेपालमा ओली र प्रचण्डजस्तो व्यक्तिवादी र अपारदर्शी सोच भएका नेताहरूले त्यसलाई राजनीतिकरण गर्ने र त्यसलाई अभियानमा लगेर पार्टीकरण गर्न सक्ने सम्भावना नै छैन ।

नेपालमा राजनीतिक दलको नेतृत्व अधिनायकवादी नै छ । संगठन लोकतान्त्रिक भएकाले कांग्रेसभित्र विरोधीलाई दमन कम हुन्छ । तर ओलीजीको पार्टी पनि प्रचण्डकै जस्तो पार्टी भयो । 

दस भाइ ओलीका सबैभन्दा बढी दास बने । ओलीजीले माधव नेपाल हुँदाको लोकतान्त्रिक प्रक्रियालाई नै हटाइदिए । एकदमै व्यक्तिवादी, आफ्नो विरोध गर्नेलाई सखाप पारिदिने, अत्यन्तै बदलाको भावना जस्ता चरित्र ओली र प्रचण्डमा छ । चरित्र एउटै भयो त्यसैले टिक्न सकेनन् ।

  • यसो हो भने माओवादी पार्टीको भविष्य के हुन्छ त ?

–भविष्य छैन । माओवादी भन्ने त कुनै पार्टी नै होइन । त्यो प्रचण्डको प्राइभेट कम्पनी हो । माओवादीका नेताहरूको पोलिटिकल स्टेटमेन्ट, काम गर्ने तरिका हेरेर कुनै पनि मान्छे माओवादी बन्ने होइन छाड्ने मात्र हो । 

समाजवादी मोर्चा भनेको त मरिसकेकाले कृत्रिम श्वासप्रश्वासबाट बच्ने उपायको खोजी मात्र हो ।

  • दुई ठुला दल मिलेर सरकार बनाउँदा अधिनायकवादको गुञ्जायस रहनसक्छ भन्ने पनि छ नि ।

–नेपालमा अधिनायकवाद राजाको त टिक्न सकेन यस्ता कमजोर पार्टीले कसरी सक्छन् ? बदमासी नै गर्ने नियत राखे र मिले भने अपारदर्शी बढी हुन सक्छ, लोकतान्त्रिक संस्थामाथि आक्रमण बढी हुन सक्छ, राज्य दोहनचाहिँ बढी हुन सक्छ । तर दुईवटा हाराहारीका दल भएकाले चेक एन्ड ब्यालेन्स गरे भने त्यस्तो नहुन पनि सक्छ ।

  • कांग्रेस, एमाले मिलेर गरेको बदमासी माओवादी लगायतका दल मिलेर बनेको समाजवादी मोर्चाले प्रतिवाद गर्न सक्छ त ?

–समाजवादी मोर्चा भनेको त मरिसकेकाले कृत्रिम श्वासप्रश्वासबाट बच्ने उपायको खोजी मात्र हो । 

mumaram-khanal-2

  • दुई दलीय व्यवस्थातर्फ मुलुक लैजानुपर्छ भन्ने एकथरीको विचार छ । त्यसैको पूर्वाभ्यासको रूपमा कांग्रेस, एमाले मिलनलाई लिन सकिन्छ ?

–नेपालमा दुई दलीय व्यवस्थाको सम्भावना नै छैन । र, यो कसैले आदेश दिँदैमा हुने कुरा पनि होइन । यसका लागि लामो अभ्यास चाहिन्छ । हिजो ०७४ सालमा झन्डै त्यस्तै त थियो नि । फेरि दल धेरै हुनु भनेको सोसाइटीको डाइभर्ससिटीको प्रतिबिम्ब पनि गर्छ । 

  • वितृष्णा बढ्दैछ अब विकल्प के त ?

–साठीको दशकदेखि नै नेपालको राजनीतिले विकल्प खोजेको हो । त्यसमा माओवादी र मधेसवादी दल आए । तर यिनीहरू विकल्प होइनन् भन्ने कुरा ७० को दशकमै क्लियर भयो । बाबुराम भट्टराईले सही समयमा इन्टरभेन्सन गर्नुभएको थियो तर माओवादीभित्रका पनि खराब माओवादी ल्याउनुभयो त्यो पनि सकियो । बिचमा विवेकशील साझा आयो त्यसका नेता नै राजावादी भए ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले विकल्प दिन्छौँ भनिरहेका छन् त, विश्वास लाग्दैन ? 

–हिजो नो नट अगेन भनेर आउनुभयो । पछि तिनै नेताहरूको काँधमा बन्दुक राखेर गृहमन्त्री खानुभयो । तिनै नेताहरू सबैभन्दा राम्रा हुन् भन्दै अपारदर्शी बैठकहरूमा सहभागी हुन थाल्नुभयो । बालकोट गएर, बालुवाटार गएर के गर्नुहुन्छ त्यो पनि थाहा हुँदैन । अपारदर्शी र कुटिल नेताहरू ओली र प्रचण्डसँग गएर राजनीति खेल्न जानुभयो रविजी । त्यसबापत रविजीले गृहमन्त्री त पाउनुभयो तर पार्टी सिद्ध्याउनुभयो ।  

  • विकल्प के त ?

–जबसम्म समाधान आउँदैन तबसम्म विकल्पको कुरा त उठी नै रहन्छ नि । ०८४ मा कोही आउँला । आउने र फेल हुने त चलिरहन्छ नि । कम्तीमा अहिलेका दल विकल्प बन्न सक्दैनन् । एमाले र माओवादी त विकल्प बन्नै सक्दैनन् । कांग्रेस विकल्पको रूपमा आउन पनि सक्छ । कांग्रेसको माथि समस्या हो, तल समस्या छैन । कम्तीमा त्यहाँको दोस्रो पुस्ता संघर्ष गरिरहेको छ । एमाले, माओवादीमा त्यस्तो सम्भावना छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप