बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

महिला एसिया कप : थाइल्यान्डसँग मलेसिया पराजित

शनिबार, ०५ साउन २०८१, १८ : ५३
शनिबार, ०५ साउन २०८१

दम्बुला । श्रीलंकामा जारी महिला एसिया कपमा थाइल्यान्डले मलेसियालाई पराजित गरेको छ । शनिबार भएको समूह बीको खेलमा थाइल्यान्ड २२ रनले विजयी भएको हो ।

थाइल्यान्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि ओपनरद्वयले राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटर चल्न नसक्दा हार बेहोर्नुपर्‍यो ।

विकेटकिपर वान जुलियाले ५३ बलमा ५२ रन जोडिन् । त्यस्तै, कप्तान विनिफ्रेड डुराइसिंगमले २८ बलमा २२ रनको योगदान दिइन् । तर, त्यसपछि कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले २ तथा चानिदा सुथिरुआङ, नाटाया बोचाथाम, थिपाटचा पुथावोङ र सुलिपोर्न लाओमीले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । टोलीका लागि नानापाट कोन्चारोएनकाइले ३५ बलमा सर्वाधिक ४० रन बनाइन् ।

त्यस्तै, फानिता मायाले २८ बलमा २९ रन तथा नाटाया बोचाथामले १० बलमा १८ रन जोडिन् । सुवानान खियाओटोले १४ तथा रोसेनान कानोहले १३ रनको योगदान दिइन् ।

मलेसियाका लागि माहिरा इजाती इस्माइलले ३ तथा सुबिका मानिभानान, एइसा एलिसा र विनिफ्रेड डुराइसिंगमले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप