बिन्दु शर्माका तीन कविता
१) ओक्कल दोक्कल पिपल पात
आमा !
ओक्कल दोक्कल पिपल पातको रमाइलो खेल खेलाउँदै
सधैँ झुक्यायौ र सोधिरह्यौ
‘तिम्रामाथि कसको हात ?’
बालापनको रमाइलोमा
पहिचान गरेरै पनि भाइको हात
पटकपटक परास्त भइरहेँ म
झेली गरिरह्यो भाइले
मौन भइरह्यौ तिमी ।
तिमीले किनिदिएको साइकलको रफ्तारमा
लाखौँ माइलको दूरी पार गरिसक्दा उसले
मचाहिँ तिमीले नै ल्याइदिएको
कुरुस र एक लच्छी उनको धागोलाई सिँगारेर सिपालु औँलाहरूमा
जिन्दगीको सादापनलाई भरिरहेँ रङ्गीन बुट्टाहरूले
र खुम्चिरहेँ त्यसकै गोलो परिधिमा
अझै मौन भइरह्यौ तिमी
मैले लुकेरै उडाउँदा
च्यातिएको भाइको पुरानो चङ्गाको मोल
चड्कनले सम्झाएकी तिमीले
थाह पाइनौ आमा !
चङ्गासँगै उन्मुक्त हुन नपाई पाउजुको छमछमी पछ्याउँदै
अगेनामा खरानी भएका
मेरा स्वप्निल रहरहरूको मोल के थियो ?
प्रत्येक महिना केशसँगै छाँटिरहँदा भाइले आफ्नो धीरता
मैले भने चुल्ठोसँगै कस्दै लगेँ
र रिबनको फूलजस्तै फुलाइरहेँ ओठमा बनावटी हाँसो
तर पनि मौन भइरह्यौ तिमी ।
किशोरी वयमै
पाकेको किम्बुजस्तो कोमल तनमा
अन्जानमै कोरिदिँदा कसैले रातो मसीका कुरूप धर्काहरू
फेरि पनि नवीकरण भइरह्यो
हाम्रो आँसुमा नुहाएको समृद्ध सम्झौता
र त जामाको फेरमा टाँस्सिन आएको सेतो पुतलीलाई जस्तै
टपक्कै टिपेर मेरो आकाशलाई सजिलै मिल्काइदियौ
अनि मौन भइरह्यौ तिमी
हिँडिरहेँ म तिम्रै गोरेटोमा लुरुलुरु
खोजिरहेँ सङ्घारभन्दा माथि उकाल्न आफ्नो चाहनाकोे दियो ।
आमा !
मुक्त गर मलाई तिम्रो प्रभावबाट
अब त भनिदेऊ बहिनीलाई
ओक्कल दोक्कल पिपल पात तिम्रामाथि तिम्रै हात !
२) तिम्रो विरासतको अनुष्ठानमा
ठकुन्र्या !
तिम्रो विरासतको अनुष्ठानले
हाम्रो घरको शिरमाथि सधैँसधैँ तुसारो पारिरहँदा
किन लाग्छ तिम्रो बार्दलीमा मात्र पुसको पारिलो घाम !
तिम्रो दिनभरिको थकान बिर्साउने
मुलायम बिछ्यौना बिछ्याइदिएका मेरा खस्रा हत्केलाहरू
किन चिरिँदै छन् दिनदिनै झन्झन् केराका पातझैँ चर्चरी ?
पिप्लेको जरुवाबाट खेपेको मूलको पानी
कलात्मक काँसको कुलीन करुवाबाट
घुटुघुटु पियाइरहँदा तिमीलाई
किन बन्द हुँदै छन् बिस्तारै
बिँडीका ठुटाले डामिएर काला भएका मेरा ढेब्रे ओठहरू ?
मैले नै तेल भरेर बालिदिएको
शीतलपुरको शिव मन्दिरको गजुरजस्तो
त्यो टिलिक्क टल्कने पानसको उज्यालोमा पढेका
तिम्रा दरसन्तानहरूले शक्तिका आडमा भर्साइरहँदा भव्य महलमा
राज्यको विधान किन पोखिँदै छ वरिपरि
मेरा आँखालाई निस्तेज पारेर फाल्सा परेको रगतजस्तो कालो अँध्यारो ?
अनि बाँकी छैन
किन कतै पनि ‘बड्कीमार’को ‘सखिर...’को
सुर फुक्ने हाम्रो मौलिक सास
र किन एकाएक मन्दमन्द हुँदै छ
‘लद्या’बाट ‘अधुन’ बोक्दाबोक्दै फुटेर रगताम्य भएका
हाम्रा यी पैतालाको गति ?
जुठेल्नाको ‘भुईं’भरि किरिङमिरिङ अक्षरहरू कोर्दाकोर्दै
बलजफ्ती ‘हँस्या’ र ‘गैँजा’ थमाइएकी
मेरी छोरीका हातमा देख्यौ नि तिमीले
धस्सिएको बनकसको कालो गुजुल्टो !
ठकुन्र्या !
‘डोली उठिसकेकी’ उसले
पर्खिनुपर्ने हो अझै कति ‘मास’ ‘पठलरी’ लैजान
तिम्रो विरासतको अनुष्ठानमा !
३) गोधूलिमा मालती
बिस्टको आँगनको ओसिलो कुनामा
अछट्टै,
बाको हातेकल नजिकै बसेर
मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै
कति बेला पोखिदियो मेरो तनमा समयले तरुनी रङ,
पत्तै भएन
र त मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरूले नै
मसलाको रुखलाई जस्तै एकैचोटि नाङ्गो बनाए मलाई,
अचेल अमावास्याका चिमचिमे ताराहरूको चमक चोरेर
बिस्तारै बिस्तारै चम्किँदै जाने जून प्रिय लाग्छ
सन्निपात चढेको बिरामीजसरी
काँप्दै रातमा डाम्न आइपुग्ने सर्पलाई लछार्दै गरेको न्याउरीमुसोजस्तो
आलो रगतको बिस्याइनो गन्ध मिसिएका काला ओठहरूले
कत्ति पनि विचलित बनाउँदैनन् मलाई,
उज्यालोमा त
जग्गे थापेर उनीहरूले
मैले सिएको चँदुवामुनिबाटै हवन गरिरहन्छन् मेरा सिरुपाते रहरहरूलाई
बाजेले ढुङ्गामा कुँदेको शिवलिङ्गलाई साक्षी राखेर
मेरो हंशलाई हलपोजस्तै गरी
अक्कासबाट मन्दिरको ढोकैमा तुर्लुङग झुन्ड्याइदिन्छन्
दुर्गन्धलाई मयलपोसले छोपेको उनीहरूको बेसारे बेहोराले
फनन्न रिङाउँछ मलाई बाउचाले घुमाएको च्याम्पटीझैँ,
निर्वासित हुन्छु म कुवाको भ्यागुतोजस्तै ठालुका घृणित दृष्टिबाट
अनि,
‘इम्बोइड्री’ गर्दाको रुमाललाई जसरी चसचसी घोचिरहन्छ मेरो हृदय
विभेदको तिखो सियोले
हँसना फूलजस्तै अँधेरीमा मगमगाउने म
त्यही उज्यालोमा त उन्यूसँगै अभिशप्त हुँदै निहुरिरहन्छु जिमीतिर ।
युगौँपछि, मेरा प्रिय रातहरूलाई ब्युँझाउँदै
कुमारी कुन्तीसित संसर्गको तृप्ति मिसाएर उदाएको
ए ! नकचरो सूर्य !
पर्दरको दुर्गन्धी पानीले धोएको
तेरो रातो अनुहारमा घिनाउँदै थुकिदिन्छु म
अवरुद्ध गर्दै तेरो रोशनीको सिँदुरे प्रहरलाई
पूर्वतिर फर्केर मुतिदिन्छु म,
दुई दिने सेनिटरी प्याडजस्तै तिनीहरूले भिजाइदिएको मेरो नाइलनको चिसो कच्छासँगै
टाङमुनिबाट स्वाट्ट थुती च्यातेर मिल्काइदिन्छु
मुखियाको सन्दुकका तमसुक जसरी पत्रपत्र परेका मेरा लाजका चाङहरूलाई,
भट्टीभित्र मातेका लठैतहरूले जसरी
फलाक्छु अश्लील गाली त्यो कालो कुरीतिलाई ।
समाजको तगाराको छेउमै पर्न नदिने
अविवेकी उज्यालोले त हिस्टेरिया हुन्छ मलाई
साँझमा फक्रँदै रातमा रमाउँदै
घमाइलो बिहानसँगै ओइलाइजाने
मालतीको नियति अब मन्जुर छैन मलाई,
सूर्यास्तसँगै चम्किँदै आउने ओ मेरो जिन्दगीको शुक्रतारा !
रात छँदै मलाई जागृत गर !
मलाई जागृत गर !!
जागृत गर !!!
जागृत गर !!!!