शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

जीवराज घिमिरेका तीन कविताहरू

शनिबार, ०५ साउन २०८१, १५ : ५७
शनिबार, ०५ साउन २०८१

१) बग्रेल्ती सपनाका चिसा रातहरू

स्वास्नी आङभरि हिउँद ओछ्याएर 
एकभारीको टाउको अचानाको सिरानीमाथि राखेर
अर्धचेतन पल्टेकी छ,
छेवैमा असम्भावित रंगका
विविध इन्द्रेनीहरू सजाएर
हरेक वर्ष,
धमिराले मक्काउँदै लगेको करङमाथि 
दिनभरिको थकान र आलस्य थुपारेर
ऊ यसरी पसारिएको छ 
मानौं, मान्छे साह्रै चाम्रो प्राणी हो 
जति गरे पनि हम्मेसि मर्दैन ।

अचेल ऊ सोच्ने गर्छ
वास्तवमा निर्धो हुनु ढुङ्गोभन्दा पनि साह«ोे हुनु हो 
जसले जता चिमोटे पनि नदुख्ने
जहाँ जता टन्किए पनि नपोल्ने
हुन पनि,
बाँच्नुका यावत् सम्झोैताहरूमा
हस्ताक्षर गरिसकेपछि
दुख्यो भनेर कहाँ धर पाइन्छ र ?

दुख्नु त कायरता हो जिन्दगीको
पोल्नु त पलायन हुनु हो जिन्दगीबाट
सधैँजस्तो कालो रातलाई
अनिँदा आँखाहरूमा यसरी रित्याइसकेपछि
कोल्टे फर्किएर स्वास्नीलाई नियाल्छ,
बितेको एक दशकदेखि
उसित छाया बनेर हिँडेकी उसकी अर्धाङ्गिनी
काखकोे छोरालाई छातीका रसविहीन खोइलाहरूमा
टाँसेर लमतन्न परेकी छ,
भन्न सकिन्न निदाएकी पनि हुन सक्छे
अथवा, थकाइको तन्द्रामा पनि हुन सक्छे,
हेर्छ, ओठ कलेटी परेर
खडेरीले धाँजा फाटेको खेतजस्तै
सुक्खा छन्
चल्नी बसेर आँखाका दुईतिर छेउमा
दुइटा स्पष्ट खाल्डाहरू देखिन्छन् ।

ओहो ! कति निरर्थक जिजीविषा ?
आफ्नो वास्ता त कहिल्यै गरेन उसले जिन्दगीमा,
के एउटा कर्तव्यनिष्ठ लोग्ने र
जिम्मेवार बाबु हुन सक्यो त ऊ ?
अहँ नितान्त खल्लो उत्तर दियो
चिसो छिँडीले, 
र त्यो रात पनि ती आँखाहरूमा
सधैँजस्तो निस्तो अन्धकार लिएरै खस्यो ।
(२०४३) 

२) कुवाको भ्यागुतो र महासागरको कथा

जब जब म त्यस घरमा हुन्छु
मेरो उपस्थितिलाई छामेर ऊ
प्रत्यक्ष/अप्रत्यक्ष
बढी पैसाको कुरा गर्छ
अलिकति ‘जानिफकार हुँ’को संकेत गर्छ ।

उसलाई यति थाहा छ
ऊसँग धान छ 
त्यसैले ऊ धनी छ
म उसलाई धनपागल भन्छु 
ऊ आफूलाई सर्वज्ञाता हुँ भन्छ 
बोल्छ, धेरै बोल्छ र
बोल्दा बोल्दै ऊ
बोल्नुको पनि हद बोल्छ ।

अनि, 
अलि ठूलो स्वरले घोषणा गर्छ
पर्दैन पढ्न किन पढ्नुप¥यो ?
रेग्मी साहिँलाले त्यत्रो पैसा कमायो
पढ्नुप¥यो त्यसलाई ?
शिवध्वज मिश्र नाङ्लाको पसलबाट
हुनसम्मको महाजन बन्यो 
आफ्नो नाम लेख्न जानेको छ त्यसले ? 
पढ्नैपर्छ भन्ने के छ ?
गर्ने छोराले जसरी पनि कमाउँछ 
के नापेका छन् याम्मे पास गरेका हुतीहाराले ?
त्यो बकम्फुसे निरौलो
आफू भने  याम्मे पास गरेको मान्छे
हेर त बाउको कमाइमा डकारेको त्यसले
जाबो मुखियाको जागिरमा अल्झन सकेको छैन ।

कति खानु ? के कमाउनु जागिरे भनाउँदाले पनि  
आफ्नै बारीको तरकारी
आफ्नै ढुकुटीको बासमती
र आफ्नै गोठको दूध खाएर त 
पुगेको छैन हामीलाई । 
कहिले तलब आउला र
एक छाक मिठो खाउँलाको आस न हो जागिर !
आदि–इत्यादि उसको यो गफमा 
बर्सेनि मेट्रिक फेल भएर थुप्रो लागेका 
उसैका बेरोजगार छोराहरू र
नक्कली  सर्टिफिकेटधारी केही थान ज्वाइँहरूको  
मुक रोदन पनि हुन सक्छ तर, ऊ मलिन स्वरमा होइन
रवाफिलो पारामा प्रस्तुत गर्छ यी बखानहरू
त्यसैले,
यसमा उसको पारिवारिक मर्मको 
झिनो त्यान्द्रोसम्म नभएको भ्रम पर्छ ।

जेहोस्,
उसको यो धारावाहिक र तीव्र भाषण मलाई
कहिलेकाहीँको दूधभात र सधैँको गफ खाएको
अर्धमूच्र्छित उसैको मुसुमुन्द्रे
अनुहारजस्तै ठुस्स गन्हाउँछ
सम्भवतः 
त्यस परिवेशमा 
मेरो वर्तमान पनि कुहिएको हुन सक्छ ।
(२०४८) 

३) हिजोआज

छानमाथि पहेँलो आकाश फैलिने
भ्रमको मृगतृष्णामा
बालुवामाथि खोजिँदै छन्
मेटिइसकेका पाइलाहरू,
सुकेर  कंकाल रुखमाथि बसेर
एउटा हुचिल 
रात पुनरागमनको
आत्मरतिमा निमग्न छ !

तर,
प्रभावित छैन वातावरण किञ्चित् पनि
विपरीत हावाको वेगसँग प्रवाहित हुन !

दिउँसो बत्तीको नाटक खेलेर 
राति अन्धकारमै रमाउने आँखाहरूको 
कालो पर्दाबाट टाढा
कतै अनवरत बलिरहेछ 
एउटा दिव्य ज्योति ।

शाश्वत ज्योतिको उज्यालो
जोगाइराख्ने क्रममा
आफैँलाई समाहित गर्न पनि तत्पर छन्
केही हातहरु ।

अनि उज्यालो जोगाउनभन्दा बढी
उज्यालाको समीपमा उभिएर
आफूलाई न्यानो पार्न लालायित छन्
केही स्वघोषित प्रलापहरू ।
 
मदारी– 
बाँदरलाई नीत नवीन खेलहरू सिकाएर
तमासेहरूका बिचमा
सस्तो स्याबासी कमाउने
असफल प्रयासमा जुटेको छ,
तर प्रत्येक पल तमासाको खेलबाट
विकर्षित मान्छेहरूको भीड
निरन्तर उज्यालोतर्फ उन्मुख छ ।

एउटा पङ्ति छ 
जो उज्यालो जोगाउँछ र घर बनाउँछ,
अर्को भीड छ 
जो उज्यालो भगाउँछ र पैसा कमाउँछ,
तेस्रो जमात जसले उज्यालो देखेकै छैन
मात्र पाखुरी चलाइरहन्छ ।

कुनै अप्रिय घटनाको पूर्वसंकेतबाट
त्रसित एउटा अनुहार 
उज्यालो खोसिने डरमा सजग छ
सत्तासँग उज्यालोको ग्यारेन्टी गर्ने
अर्को अनुहार 
सदाझैँ लेनदेनमै मस्त छ !
छेवैमा उभिएर म यो 
नौटङ्की नियालिरहेछु !
(२०४९)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवराज घिमिरे
जीवराज घिमिरे
लेखकबाट थप