‘थ्रेड अफ सिमुल्टनिटी’ : समुद्र मन्थनको एउटा कथा
नेपाल आर्ट काउन्सिलमा गएको असार ९ देखि १५ गतेसम्म ‘थ्रेड्स अफ सिमुल्टनिटी’ नामक समूहगत कला प्रदर्शनी भयो, ‘सिर्जना कलेज अफ फाइन आर्ट’को आयोजनामा ।
सिर्जना कलेजले सन् २०१८ देखि प्रत्येक वर्ष आफूसँग आबद्ध कलाकारका कला प्रदर्शनी गर्दै आएको छ । अर्थात् यस कलेजमा पढेका वा पढ्दै गरेका, पढाएका वा पढाउँदै गरेका कलाकारका सिर्जना नै यस प्रदर्शनीमा राखिन्छन् । यसरी हेर्दा यो एक अलग्ग प्रकारको कला प्रदर्शनी हुँदै हो, यद्यपि सम्पूर्ण नेपाली समसामयिक कलाकारका सिर्जना यस प्रदर्शनीले प्रतिनिधित्व भने गर्दैन ।
यस्ता खाले कला प्रदर्शनीले कला स्कुलको स्कुलिङको प्रत्याभूति गराउने नै भयो । वास्तवमा कुनै पनि कलाकारका कलालाई गहिरो गरी अध्ययन गर्ने हो भने उसको कलामा स्कुलिङले ठुलो अर्थ राख्छ ।
अर्को कुरा यस्ता प्रदर्शनीमा हिजोका नेपाली समसामयिक कला कस्ता थिए, यसलाई आजका कलाकारले कसरी आत्मसात गरी कस्ता खाले कला बनाउँदै छन् भन्ने नियाल्न सकिन्छ । कलाको लेखाजोखा वा विश्लेषण गर्ने एउटा अवसर पनि यस्ता प्रदर्शनीले दिन्छन् । तथापि पछिल्लो समय कलाकारले क्लिष्ट थिममा काम गर्ने चलन अपाच्य भएको महसुस सबैले गर्न थालेको देखिन्छ । कलालाई थिमसँग मिलाउन सिर्जनाको प्रक्रियामा आबद्ध हुननपर्ने जुन माहोल अचेल छ, यसले एउटा ठुलो अन्योल खडा गरेको छ । कला जगत्मा यो एक राष्ट्रिय सवाल नै हो, यसर्थ यसलाई कसरी चिर्ने भन्ने राष्ट्रिय चुनौती छ ।
बुकुर्सी मार्दै गरेको घोडाका साथै तीनवटा टाउका भएको वायुपङ्खी गाई, हात्तीहरू र हात्तीमाथि बालबालिकाले उछलकुद गरिरहेको थप परिदृश्य पनि देखिन्छ । यति मात्र होइन यस चित्रमा महिला, उल्लु, काग, मयुर लगायत चराचुरङ्गी र फूलहरू लगायत अनगिन्ती पात्रले नाटकीय ढङ्गले आ–आफ्ना भूमिका निभाइरहेका देखिन्छन् ।
कलाको कलेजका रूपमा सिर्जना कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेज फाइन आर्टका क्षेत्रमा एक्लैजस्तो भएर पछिल्लो २० वर्षदेखि अस्तित्वमा छ, अनि यसले सयौँ कलाकार उत्पादन गरिसकेको छ । यहाँ संगीतका कक्षा पनि हुन्छन् । प्लस टुको पढाइ समेत यसै कलाको निकायमा जोडिँदा यसको प्रकृति अन्य कलाका निकायभन्दा अलग्ग छ । कला पत्रिका ‘लावण्य’को सात अंक प्रकाशन गरिसकेको यस कलेजले कलाका केही पुस्तक समेत प्रकाशनमा ल्याइसकेको छ । यस हिसाबले गर्दा यहाँको कला–शिक्षाको प्रक्रिया थोरै पृथक् देखिन्छ ।
नेपालमा हातका औँलामा गन्न सकिने कला प्रत्रिका प्रकाशनमा आएका छन् । यस कारण पनि यसको महत्त्व अलग्ग छ । त्यसो त कलामा स्नातकसम्म पढाइ हुने नेपालमा तीनवटा मात्रै ठाउँ छन् ।
- प्रदर्शनीमा सहभागी कलाकार
यसपालिको प्रदर्शनीमा अलग–अलग कालखण्डमा सिर्जना गरिएका कलाहरू प्रदर्शन गरिए । प्रदर्शित कलाहरू शैली र प्रस्तुतिमा समेत अलग–अलग स्वभावका थिए; कलागत विशेषता पनि अलग–अलग नै थिए ।
यस प्रदर्शनीमा केही कला नयाँपनका साथ देखापरे । विशेष गरी शशिविक्रम शाह, वत्सगोपाल वैद्य, मदन चित्रकार, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, श्यामलाल श्रेष्ठ, शारदामान श्रेष्ठ, नवीन्द्र राजभण्डारी, लोक चित्रकार, शुषमा शाक्य, देवेन्द्र पाण्डे, सम्झना राजभण्डारी, चन्द्रश्याम डंगोल, मनीषलाल श्रेष्ठ, शौर्यगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, विजय महर्जन, मुकेश श्रेष्ठ, कुलदीप, जंगबहादुर गुरुङ आदिका कला आ–आफ्ना ठाउँमा अब्बल छन् ।
सम्भवतः यो कला प्रदर्शनीमा सबैभन्दा पाका कलाकार (उमेर र कला सिर्जना दुवै हिसाबले) शशिविक्रम शाह (जन्म १९४०) नै देखिन्छन् । नेपाली आधुनिक कलामा उनको स्थान शीर्षस्थ छ । यी कलाकारले नेपालको कला इतिहासमा एउटा अलग्ग धार खडा गरेका छन् । उनको मूल विशेषता भनेकै कहिल्यै कला कोरेर नथाक्नु हो । उनको सिर्जनामा थकाइका रेखा देखिँदैनन् । उनका कलामा सशक्त र अति तेजिला रेखाहरू सजिलो गरी बगेका देखिन्छन् । प्रभावपूर्ण तरिकाले खेलाउन सक्ने उनको खुबीले गर्दा स–साना वा लामा रेखाहरूले धेरै कुराहरू भन्छन् जस्तो लाग्छ । यसकारण उनका कलामा प्रयुक्त रेखा जीवन्त देखिन्छन् ।
उनले जसरी बलिया र बान्की परेको ढाँचाका रेखालाई क्यानभासमा बसाउनु जो–कोहीको वशको कुरा होइन । अर्को कुरा उनी समसामयिक विषयमा आँटिला अनि चोटिलो प्रहार गर्न सक्ने कलाकार हुन्, यसैले कार्टुन कलामा उनको नाम निकै उच्चकोटिमा छ । काम र कलाको निरन्तरताका हिसाबले कार्टुन कलाको प्रारम्भकाल उनैको नाममा छ । नेपाली आधुनिक कलामा व्यङ्ग्य, प्यारोडीका साथ श्वैरकाल्पनिकता भित्र्याउने कलाकारका रूपमा उनलाई चिनिन्छ । मिथलाई आकर्षक ढंगले आदरभावका साथ वा नबिगारीकन संयोजन गर्ने कलाकारको रूपमा पनि उनलाई हेरिन्छ ।
उनका कलामा स्पष्ट यथार्थ आकृति भरिएका हुन्छन् । भावपूर्ण आवेगका साथ एउटा कथा बोकेर दौडने हुँदा पनि उनका चित्रले अलग्ग अर्थ अथ्र्याउने क्षमता राख्छन् । नेपालमा आधुनिक कलाको उदय भएपश्चात् सदैव कला सिर्जना गर्न तत्परता देखाउने शशिविक्रम कलाको संस्थागत विकासका लागि पनि सदैव सक्रिय रहे । लामो कार्यकालसम्म उनी कलाको शिक्षणमा आबद्ध रहे । अहिले ८० पार गरिसक्दा पनि उनी उत्तिकै रूपमा सक्रिय छन् ।
सुरक्षाकर्मीको रूपमा सुँगुर र कुकुरहरूलाई प्रतीकात्मक रुपमा ल्याइनु रोचक देखिन्छ । समसामयिक अवस्थामाथि चोटिलो प्रहार गर्न सक्ने उनी राम्रा कार्टुनिस्ट पनि हुन् ।
उनले सन् २०२१ मा बनाएको ‘समुद्र मन्थन’ नामक चित्र यस प्रदर्शनमा राखिएको थियो । यस चित्रमा राता–नीला चहकिला रङ प्रयोग गरी लोकगाथा (समुद्र मन्थन)लाई चित्रात्मक कथाका रूपमा प्रस्तुत गरिएको छ । थुपै्र जीवजन्तु र वस्तुलाई अलौकिक पाराले संयोजन गरिएको यस चित्रमा पौराणिक लोकगाथा समसामयिक अर्थ बोकेर उभिएको देखिन्छ ।
यस चित्रमा कार्टुनी स्वभावमा स्त्री पात्र(देवीको प्रतिविम्बका रूपमा आजको मान्छे)ले सुनौलो घडा उचालेको दृश्य देखिन्छ । बुकुर्सी मार्दै गरेको घोडाका साथै तीनवटा टाउका भएको वायुपङ्खी गाई, हात्तीहरू र हात्तीमाथि बालबालिकाले उछलकुद गरिरहेको थप परिदृश्य पनि देखिन्छ । यति मात्र होइन यस चित्रमा महिला, उल्लु, काग, मयुर लगायत चराचुरङ्गी र फूलहरू लगायत अनगिन्ती पात्रले नाटकीय ढङ्गले आ–आफ्ना भूमिका निभाइरहेका देखिन्छन् । यस्तै महेश्वरको अचम्मको रूप पनि यस चित्रमा स्थापित गरिएको छ ।
धर्म ग्रन्थहरूमा समुद्र मन्थनको लामो गाथा छ । एकातिर राक्षसहरू र अर्कोतिर देवताको मन्थनबाट १४ रत्नहरू निस्किएको कथा पाइन्छ । कथा अनुसार सर्वप्रथम कालकुट विष, कामधेनु गाई, उच्चैःश्रवा घोडा (सेतो रङको), ऐरावत हात्ती, कौस्तुभ मणि, कल्पवृक्ष, रम्भा नामकी अप्सरा, देवी लक्ष्मी, वारुणी देवी, चन्द्रमा, पारिजात वृक्ष, पाँचजन्य शङ्ख, भगवान धन्वन्तरि र अन्तमा अमृत कलश क्रमशः निस्किए ।
पौराणिक कथालाई प्रतीकात्मक रूपमा चित्रमा ल्याउनु सहज होइन, कलाकारमा अथाह कल्पनाशीलता यथेष्ट रूपमा रहेको मान्नैपर्छ । यस चित्रमा अति विस्तारमा स–साना अवयवलाई उतारेको देखिन्छ, यसले उनीमा रहेको जाँगर र धैर्य देखाउँछ । दर्जनौँ स–साना घटनालाई उद्घाटित गर्दै समष्टिमा एउटै गाँठोमा बाँधेर नाटकीय ढंगबाट पौराणिक कथा यस चित्रमा आएको आभास हुन्छ । सबैभन्दा रमाइलो कुरा त मन्थन गर्न प्रयोग गरिएको लट्ठाको एकातर्फ राक्षसहरू देखिन्छन् भने अर्कोतर्फ देवी–देवता देखिनुपर्नेमा एकजना गणेशबाहेक सबै बच्चाहरूको भिड देखाइएको छ ।
यो चित्रमा यति धेरै पात्र आएका छन् कि मानौँ स–साना लघुकथाहरू आएका छन् । विस्तारमा व्याख्या गर्न यो सानो आलेखले पुग्दैन । कुनै दिन यसलाई मात्र अलग्ग व्याख्या–विश्लेषण गरौँला ।
नेपाली आधुनिक कलामा परम्परागत देवी–देवता, लोकगाथा, धर्मगाथालाई ओराल्ने काम शशिविक्रमले नै गरेका हुन् । उनी सत्तरीको दशकमै स्किब (कलाकारहरूको पहिलो कलाकारको सानो समूह) खोलेर कलामा होमिएका थिए । यसपालिको प्रदर्शनीमा उनको अर्को महत्त्वपूर्ण चित्र (सन् १९६३ मा बनाएको आधुनिक व्यक्ति चित्र) पनि राखिएको छ । जहाँ उनको सशक्त तुलिकाघातलाई छाम्न र महसुस गर्न सकिन्छ ।
उनले २०३६ सालतिरै बनाएको ‘पेन एन्ड इन्क’ काम पनि यसपालिको प्रदर्शनमा राखिएको थियो, यस चित्रमा अद्भूत कलागत संरचना देखिन्छ । यस्तै, उनले सन् २०१२ मा बनाएको चित्र (विशेष गरेर घोडाहरूलाई प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको) यसपल्ट प्रस्तुत गरियो । यी चित्रबारे भन्न र लेख्न एउटा अलग्ग अनुसन्धान नै आवश्यक छ । घोडा सिरिजका अन्य काम पनि यो कला प्रदर्शनीमा राखिएका छन्, यो प्रदर्शनीको सबैभन्दा ठुलो उपलब्धि यही हो ।
यसबाहेक वत्सगोपाल वैद्यको सन् १९६६ मा बनाइएको एउटा महिलाको चित्र प्रदर्शनीमा राखिएको थियो । निकै पुरानो तर उनको सशक्त शैलीगत दक्षतालाई मापन गर्ने कलाको रूपमा यसलाई हेर्न सकिन्छ । नेपालमा आधुनिक कलाको सङ्ग्रहालय नहुँदा पनि यस्ता अग्रपङ्क्तिमा रहेका कलाकारका पुराना चित्र यस्तै कला प्रदर्शनीमा मात्र हेर्न पाइन्छ ।
यसबाहेक यो कला प्रदर्शनीमा उनले सन् १९९१ तिर बनाएको आधुनिक गणेशका उडकटका काम विशेष महत्त्वका साथ प्रदर्शन गरिएको थियो । योसँगै उनले भर्खरै (सन् २०२४ मा) बनाइएका गणेशका चित्र जसलाई रातो, पहेँलो चम्किलो रङले संयोजन गरिएको छ; यस्ता आधुनिक रूपका गणेशलाई पनि त्यहाँ अवलोकन गर्न सकिन्थ्यो । उनले सन् १९८५ मा बनाएको शिवलिङ्ग नामक नवतान्त्रिक कलालाई (लिनो–कट माध्यमबाट बनाइएको) यस प्रदर्शनीमा राखिएको थियो । एउटा अर्थ निर्माण गरिसकेपछि पहेँला रङका माध्यमबाट आगोका ज्वालालाई फाल्दा तन्त्रमन्त्रका कैयौँ गुह्य रहस्यात्मक सन्दर्भलाई निकालेको देखिनु यो चित्रको मूल रहस्य हो । तान्त्रिक रूपमा बसेका आधुनिक गणेशलाई वत्सगोपालको खास विशेषताको रूपमा हेर्न सकिन्छ ।
कृष्ण मानन्धरका अमूर्त कलाहरू आकर्षक ढंगबाट प्रदर्शन गरिएको थियो । निरन्तर रूपमा अमूर्त कलामा खेलिरहने कलाकारको रूपमा उनलाई चिनिन्छ । यही शैली र प्रवृत्तिलाई यति लामो समयसम्म सिर्जनामा संलग्न गराएर राख्ने कलाकार उनीबाहेक अर्को छैन । सन् २०२१ मा उनले बनाएको ‘ओभरल्यापिङ’, २००८ मा बनाएको ‘ट्री सिरिज’को एउटा काम र ‘रक सिरिजको अर्को कामलाई प्रदर्शनमा राखिएको थियो ।
कृष्ण मानन्धर मात्र यस्ता अर्मूत चित्रकार हुन् जसले दर्जनौँ अलग–अलग विषयगत सिरिजमा सयौँ काम गरेका होलान् । पछिल्लो कालमा आएर उनले अमूर्ततामा आकार ल्याएर अर्ध–अमूर्त शैलीको काम गरेको पनि देखिन्छ । सत्तरीको दशकमा उदाएका कृष्णले आजको दिनसम्म आफ्नो अमूर्त कलाको पनलाई छाडेको देखिँदैन । उनको यो खास विशेषता हो । उनले सन् १९६८ मा बनाएको एउटा व्यक्तिचित्रलाई पनि प्रदर्शनीमा राखिएको थियो । शशिविक्रम, वत्सगोपाल र कृष्ण ‘स्किब’का सक्रिय सदस्य हुन् । नेपाली समसामयिक कलामा स्किबको भूमिका अब्बल रूपमा स्थापित छ ।
यसपालिको प्रदर्शनीमा कलाकार मुकेश श्रेष्ठ ‘हुमन इमोसन’को सिरिजमा देखापरे । समग्रमा हेर्दा उनका आठवटा एकैनासका चित्र छन् । मानव शरीरलाई योगासनका विभिन्न आकृतिमा ढालेर चित्र बनाउने उनको अनौठो स्वभाव छ । सपाट चिल्लो तथा पहेँलो पृष्ठभूमिमा काला र बलिया रेखा खेलिरहँदा देखिने मानवको अनौठो रूप नै उनको कलागत विशषता हो । एनाटोमी (शरीर रचना)मा उनको बढी दख्खल, छ, चाख छ । मानव शरीरलाई चित्रमा आफूखुसी जता पनि घुमाउन सक्ने शिल्प–दक्षता उनीमा छ । यसमाथि एउटा अवधारणा वा विचारलाई चित्रमा जोडेर अर्थपूर्ण बनाउने हुँदा उनको कला अलग्गै आकर्षण लाग्छ ।
यसपल्ट उनले व्यक्ति विशेषको भन्दा पनि जोडीबिचको समन्वय र सम्बन्धलाई चित्रमा ल्याएका छन् । एक्लो मान्छेको समाज हुँदैन, देश हुँदैन अर्थात् संसार हुँदैन भन्ने अर्थमा उनका कलाहरू लक्षित भएका देखिन्छन् । हिजोआजको कलागत प्रवृत्तिमा उनको बलियो पकड भएका कारण पनि विदेशमा समेत उनका कलाले चर्चा बटुलेका छन् ।
कुलदीप (जंगबहादुर गुरुङ)को ‘भीआईपीको सवारी’ नामक ठुलो खाले कार्टुन चित्र प्रदर्शनीमा राखिएको थियो । यो चित्र प्रदर्शनीको अर्को आकर्षणको केन्द्रबिन्दु बन्यो । भीआईपीको सवारी चल्दा सुरक्षाको नाममा दशौँ हजार जनताले पाएको दुःखकष्टलाई यस चित्रले सटीक पाराले उठान गरेको छ । सुरक्षाकर्मीको रूपमा सुँगुर र कुकुरहरूलाई प्रतीकात्मक रुपमा ल्याइनु रोचक देखिन्छ । समसामयिक अवस्थामाथि चोटिलो प्रहार गर्न सक्ने उनी राम्रा कार्टुनिस्ट पनि हुन् । नौलो र पावरफुल संयोजन, त्यसमाथि समसामयिक विषय उठान गर्दा उनका कला बेजोड लाग्छन् । उनको यो कला ठुलो क्यानभासमा व्यङ्ग्यका साथ देखापरेको छ ।
कलाकार नवीन्द्र राजभण्डारी राम्रो कला लेखक र प्रशासक पनि हुन्, पढाउने काम पनि गर्छन् । उनले केही वर्षदेखि एक अलग्ग प्याट्रनमा चहकिला अमूर्त रूपलाई पस्कने अनि डेकोरेटिभ फर्महरूलाई सफा–सुग्घरका साथ संयोजन गर्ने गरेका छन् । यसै सिरिजका काम यसपल्टको कला प्रदर्शनीमा पनि देखापरेको छ ।
कृष्णगोपाल श्रेष्ठको काम यो कला प्रदर्शनीको अर्को थप आकर्षण थियो । नेपाली धर्म–संस्कृतिहरूलाई वास्तुकला अनि चित्रकलाको रूपमा मौलिक ढंगले पस्कनु उनको विशेषता देखिन्छ । सुपर रियालिस्टिक फर्ममा आएका उनका कलामा मिहिनेतका साथ स–साना रेखालाई स्वादिलो प्रकारले सजाइएको हुन्छ । भावकले सजिलै बुझ्ने सक्ने चित्रात्मक भाष्यमा उनका कला निर्माण हुने गर्छन् । यसर्थ उनको कलालाई हेर्नेबित्तिकै कसैले पनि आहा नभनी बस्नै सक्तैन । यसपल्ट उनले पौभा चित्र, स्तुपा अनि मन्दिरलाई चित्रण गरेका छन् । मूलतः उनी दृष्टान्त कलाकार हुन्, लामो समयदेखि कान्तिपुर दैनिकसँग आबद्ध छन् ।
यस प्रदर्शनीमा शौर्यगंगाका ‘इन्स्टलेसन’, मनीषका ‘घन्टीहरू’, लोक चित्रकारको ‘आर्य तारा’ काम आ–आफ्ना ठाउँमा जँचेरै बसेका देखिन्थे । यी तीनै कलाकार कलाको मूलधारमा स्थापित भइसकेका कलाकार हुन् । यिनीहरू अनेकौँ प्रकारका थुप्रै काम गर्न भ्याइसकेका कलाकार भएको नाताले पनि यहाँ प्रदर्शित भएका कलाहरू मात्र उनीहरूको परिचय होइनन् ।
शुषमा शाक्य र सम्झना राजभण्डारी समसामयिक कलामा मूल धारका कलाकार नै हुन् । सम्झनाको ‘उडकट’ अनि शुषमाको ‘पञ्चसूत्र’ (मिक्स मिडियामा) अब्बल काम हुन् । सौगात श्रेष्ठको अनौ शिरको मूर्तिकलालाई अनि सुर्जमुनि शाक्यका आर्य तारालाई पनि गहकिलो कामको रूपमा हेर्न सकिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि