शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

मिथिलामा जनकको अपहरण

शनिबार, ०५ साउन २०८१, १३ : २०
शनिबार, ०५ साउन २०८१

प्रातःकालीन समय । चियाको पहिलो घुट्को पिएपछि अखबारका पानातिर आँखा सलबलाए । हेर्दाहेर्दै एउटा समाचारको शीर्षकमा आँखा गड्यो । शीर्षक निकै सनसनीखेज थियो— ‘मिथिलामा जनकको अपहरण’ । समाचार भने असाध्यै तीतो ।

म जनकलाई चिन्दिनथेँ, न उसको बाबुलाई चिन्थेँ, न बाजेलाई न त पुर्खाहरूलाई नै । मैले त उही पौराणिक जनकलाई मात्रै मिथकहरूमा भेटेको हुँ, पढेको हुँ— सीताकी पिता, रामका ससुरा भनेर । उनलाई कृषि क्रान्तिका अग्रणी पनि भनिन्छ । मिथक भन्छ, ‘सीता हलोको फालीको टुप्पोबाट जन्मिएकी हुन् ।’ हलो जोत्ने उनै जनक थिए र कृषि युगको सुरुवात जनककै पालादेखि भएको मानिन्छ । जेहोस्, उही प्राचीनकालीन जनकसित मात्र मेरो चिनजान छ ।

अहिले अपहरणमा परेका जनक पनि मिथिला क्षेत्रकै हुन् र पहिलेका जनक पनि यही क्षेत्रकै थिए । अहिलेका जनक र पहिलेका जनकमा केकति भिन्नता छ ? मैले जोख्न चाहेको होइन । 

कथा उतार्न मात्र खोजेको हुँ ।

००

सातौँ दिनपछि मात्रै रामलखनको होस खुल्यो । आफन्तहरूले माया मारिसकेका थिए । डाक्टरहरूले पनि कुनै चमत्कार भयो भने मात्र उसको जीवन फिर्छ भनेका थिए । ब्युँझिएपछि अस्पतालको बेडबाट उसले चारैतिर नजर दौडायो । आफूवरिपरि उभिएका व्यक्तिहरू, प्राचीनकालीन झ्याल र झ्यालबाट बाहिर देखिने नाङ्गा सिसौका रुखहरू, घुर्मैलो आकाश... । उसले ती दृश्यहरूमाथि छिटोछिटो दृष्टि बिसायो । 

‘मलाई कसले ल्याइपुर्‍यायो यहाँ ?’ यही थियो, उसको पहिलो जिज्ञासा । 

‘खै, परवानीपुरतिरका एकजना दयालु मानिस रहेछन्, उनैले हजुरलाई अस्पताल ल्याएका रहेछन् ।’ छेउमै बसिरहेकी श्रीमतीले तत्काल उसको जिज्ञासा शान्त तुल्याइन् । र, फेरि थपिन्, ‘बेलैमा नल्याइपुर्‍याएको भए त... खै, केही भन्न सकिन्नथ्यो । टाउकोमा अलि असर पुगेको छ रे, तर चाँडै निको हुन्छ भनेका छन् डाक्टरहरूले ।’ 

‘खै, के भयो, भयो त्यस दिन । सडकमा हिँड्दाहिँड्दै एक्कासि ढलेँछु । आफूलाई केही थाहा भएन ।’ उसले फेरि झ्यालबाहिर हेर्‍यो, निकै गमेर, घोरिएर हेरिरह्यो । आकाशको विशाल वृत्तमा छिर्केमिर्के बादलहरू आफ्नै लय र तरङ्ग सँगालेर उडिरहेका थिए । 

चौथो दिन अस्पतालमा निकै रुवाबासी चलेको थियो । रामलखनको होस नखुलेपछि पारिवारिक वृत्तमा फैलिएको आशङ्काले रुवाबासीको रूप लिएको थियो । हुन पनि जीर्ण अस्पतालको एउटा कुनामा जीर्णै अवस्थामा रहेको बेडमाथि रामलखनको अर्धचेत शरीर पल्टिरहेको थियो । चिकित्सकले भनिसकेका थिए, ‘बिरामीको स्थिति त्यति सन्तोषजनक छैन, फिर्न पनि सक्छ, नफिर्न पनि सक्छ ।’ 

बेहोस स्थितिमै कतिपय व्यक्तिले मृत्यु अँगालेका कैयन् घटना छन्, त्यही कारण चिकित्सकको चेतावनीलाई बेवास्ता गर्न पनि मिल्दैनथ्यो । 

 सात दिनअघिको परिदृश्य अर्कै थियो ।

भर्खर–भर्खर पिच गरी सिध्याएको पिपराको सानो बजारको सानो सडकमा रामलखन एक्कासि ढलेको थियो । सडकमा हिँड्दाहिँड्दै ढलेका उसलाई तत्काल अस्पताल पुर्‍याइएको थियो, केही ढिलाइ भएको भए ऊ बाँच्ने सम्भावना अन्यन्तै न्यून थियो । 

एउटा थोत्रो साइकल छ उसको । त्यही साइकलबाटै भ्याउँछ उसले सर्वत्र । खेतमा ध्याउनुपर्‍योे, नहरमा पुग्नुपर्‍यो, बजार भ्याउनुपर्‍यो— त्यही साइकल नै उसको साथी बन्दै आएको छ, त्यस्तै एकाध दशकदेखि । हरेक दिनजसो बजार धाउने बानी लागिसकेको रामलखनले त्यस दिन पनि त्यही थोत्रिएको साइकल कुदाउँदै बजार क्षेत्रमा प्रवेश गर्ने जाँगर उमारेको थियो । 

नहरबाट छ्याङ्गै देखिन्छ, बजारको लघुवृत्त । नहरको बाटो साइकल कुदाउँदै ऊ बजारतिर हान्निदै थियो । नहर टुङ्गिएर सिसौ घारी छिचोलेपछि बजार प्रारम्भ हुन्छ । बजार पनि कति नै ठुलो छ र ? एक मिनेटमै बजारको वल्लो कुनादेखि पल्लो कुनासम्म छिचोल्न सकिन्छ । 

आज बजार बेग्लै रौनकमा डुबेको अनुभूत गर्न सकिन्थ्यो । चैतको रापिलो घामले मानिसहरू बाहिर निस्कन अप्ठेरो मान्ने अरू बेला, यसपटक भने मानिसहरू बजारको एउटा कुनामा झुरुप्प उभिएका थिए । रामलखनलाई लाग्यो, यो सानो बजारमा यति धेरै मानिस सलबलाउनुको कुनै न कुनै महत्त्वपूर्ण कारण हुनुपर्छ । कि त ती मानिसहरू कुनै खुसीयाली मनाउन गइरहेका छन्, कि त कुनै घटना भएको हुनुपर्छ— रामलखनको मनमा अनेक कुरा खेल्न थाले । 

ऊ द्रूत गतिमा त्यही भीडतिर मोडियो । मानिसहरू आ–आफ्नै शैलीमा व्यस्त थिए । कसै कसैले हातमा झन्डा पनि समातेका थिए, केहीले टाउकोमा रातो फेटा बाँधेका थिए । रामलखनलाई लाग्यो, कुनै उत्सवको तयारी भइरहेको छ, पक्कै पनि । यति सानो बजारमा यसअघि यस्तो उत्सवको रौनक कहिल्यै हँुदैनथ्यो । रामलीलाको बेलामा पनि यति ठुलो जमघट हुँदैनथ्यो । ऊभित्र जिज्ञासाका अनगिन्ती तरङ्गहरू उठ्न थाल्यो र जिज्ञासालाई कुण्ठित राख्न चाहेन उसले । 

‘आज के छ र, यस्तो भीड जुटेको हो, भैया ?’ एक अपरिचित व्यक्तितिर उसले प्रश्न तेस्र्यायो । 

‘ए, थाहा पाउनु भा’छैन, तपाईंले ?’ त्यो व्यक्तिले उसको निर्दोष अनुहारतिर क्वारक्वारती नियाल्दै भन्यो, ‘हाम्रो बबन सरले चुनाव जित्नुभयो नि ! हो, त्यही खुसीमा जुलुस निकाल्न लागेको... । सबैले हार्छ भन्थे तर उहाँले जितेरै देखाइदिनुभयो । त्यो पनि निकै मतको अन्तरले । सबैलाई माथ खुवाइदिनुभयो । अब यो ठाउँमा अरूले उहाँलाई चियाउनुपर्दैन ।’ त्यस व्यक्तिको बोलीमा विजयको सान प्रस्टै झल्किन्थ्यो । 

‘को बबन ?’ रामलखनले कान ठाडो पार्‍यो ।

‘लौ, चिन्नुभएको छैन ?’ त्यो व्यक्तिले प्रतिप्रश्न गर्‍यो । 

‘अहँ, छैन त ।’

‘ल, कस्तो नचिन्नुभएको ? उही हाम्रो क्षेत्रको चर्चित राजनीतिज्ञ बबन यादव नि ।’ 

‘को, गढैयाको त्यही बबन ?’

‘हो, गढैयाको उही बबन सर । स्वतन्त्रै उठेर पनि अरू पार्टीका कति घाघडान नेताहरूलाई पछार्नुभयो उहाँले । जनताको मन जितेपछि के लाग्दो रहेछ र ? हुन त अरू नेताहरू बदनाम भइसकेका थिए । जनताले पनि पुराना अनुहारलाई भन्दा नयाँ अनुहारै रोजेका थिए यसपटक । बबन सरले जनताको चाहना पूरा गर्नुभयो र जित्नुभयो सानदार ढङ्गले...।’

रामलखनलाई आफ्नो टाउकोमाथि एकाएक कसैले ठुलो घन बजारेको जस्तो लाग्यो । उसले टाउको छाम्यो तर टाउको सकुशलै थियो । हेर्दाहेर्दै उसलाई कसैले टाउकोमा लगातार हिर्काइरहेको अनुभूति भयो, निरन्तर भइरह्यो त्यस्तै अनुभूति । र, एक्कासि ढल्यो ऊ । 

००

रामलखनको एक मात्र छोरो अपहरणमा पर्‍यो । अपहरणमा परेको तेस्रो दिन मात्रै उसले थाहा पायो । सुरुमा त उसलाई पत्यारै लागेन । जुनसुकै कोणबाट सोच्दा पनि उसलाई विश्वासै भएन । आफूजस्तो सामान्य मानिसको छोरालाई कसले पो अपहरण गर्छ र ? कसैले मजाक गरेका होलान् भन्ने लाग्यो उसलाई । अपहरण त अलि धनाढ्य व्यापारी, सम्पन्न पसले, गाउँका धनीमानी वा तिनका छोराछोरीलाई पो गर्छन् त ! कहाँ आफूजस्ताका छोरालाई अपहरण गर्नु ? उसले यस्तै यस्तै सोच्यो ।

होइन, उसकै छोरा अपहरणमा परेको रहेछ । 

टोलको पुछारमा यसैपालि स्थापना भएको सार्वजनिक टेलिफोन बुथमा उसलाई फोन आयो । नम्बर सीमापारिको थियो, अर्थात् अज्ञात थलो भने पनि हुन्छ । 

bibash-wasti

‘तेरो छोरो हाम्रो कब्जामा परेको छ, छोरा छुटाउने हो भने... हाम्रो सर्त मान्नुपर्छ तैँले ।’ टेलिफोनबाट प्रवाहित स्वर निकै कडा थियो । 

ऊ केही बोल्न खोज्दै थियो, बोली फुटेन । बरु निधारमा पसिनाका थोपा पलाउन थाले, हातगोडा गल्न थाले र आफू उभिएको धरातल कताकता तलतल भासिँदै जान थालेको अनुभूति भयो । उसले यही हिउँददेखि १० वर्ष टेकेको उही छोराको अनुहार मात्र झलझली सम्झियो । जता हेर्न खोज्यो, त्यतै मात्र आफ्नो छोरा उभिएको देख्न थाल्यो । 

‘के विचार छ ?’ 

‘मेरो छोरो कहाँ छ अहिले ? कहाँ छ ? म उसलाई भेट्न चाहन्छु ।’ तीव्र गतिमा भन्यो उसले । 

‘हामीसँग छ तेरो छोरा । भेट्न चाहने भए १० लाख रुपैयाँ लिएर आइज ।’ 

‘दश, दश... ।’ उसले यो शब्द तीन चारपटक नै दोहोर्‍यायो । जीवनमा १० हजार एकमुष्ठ नदेखेको उसका निम्ति १० लाख कल्पनाभन्दा बाहिरको कुरा थियो । 

‘हजुर, मसित त्यत्रो पैसा कहाँबाट हुनु ? यो जिन्दगीमा मात्र होइन, आउँदो जिन्दगीमा पनि मसित त्यति पैसा हुँदैन ।’ ऊ सुकसुकाउन थाल्यो, ‘मेरो छोरालाई छाडिदिनुस्, त्यसले के बिगारेको छ र कसैको ? त्यति सोझो, भलाद्मी मेरो छोरोले के नै अपराध गर्‍यो र त्यसलाई अपहरण गर्नुपर्‍यो ? छाडिदिनुस् हजुर ।’ वरिपरि हेर्दै ऊ कराउन थाल्यो । 

‘दश लाख दिने भए दे, होइन भने तेरो छोराको लाससित मात्र भेट हुन्छ ।’ यस्तै रुखो र कडा शब्द बिसाएर फोन राखियो । 

ऊ टाउको बजार्दै रुन र चिच्याउन थाल्यो । पसलबाहिरको खुला ठाउँमा उभिएर ऊ ठुलो ठुलो स्वरले चिच्याउन थाल्यो । उसको एकोहोरो चिच्याइसँगै मानिसहरू पनि क्रमशः भेला हुन थाले । सबैले थाहा पाए, रामलखनको एक्लो छोराको अपहरण भएछ । 

‘मेरो छोरालाई बचाउनुस् ।’ ऊ यति मात्रै भन्थ्यो र टाउकोमा मुड्की बजार्दै चिच्याउँथ्यो । परिवेश क्षणभरमै दारुण बन्न पुग्यो । उसको अलापविलापसँगै सिङ्गो गाउँ नै उल्टिएर आयो । 

‘कसले गरेछ अपहरण ?’ सोध्नेहरूको लर्को नै लाग्यो ।

‘खै, थाहा भएन मलाई । तर उनीहरूले दश लाख रुपैयाँ मागेका छन् । मैले त्यति दिन सकिनँ भने मेरो छोराको लास आइपुग्छ रे !’ रामलखनको बोली पूरै असन्तुलित थियो । असन्तुलित मनोदशामै ऊ बर्बराइरहेको भान हुन्थ्यो । 

‘हाम्रो गाउँमा यस्तो कहिल्यै भएको थिएन, के हुन लाग्यो यस्तो ?’ कोही गाउँको बिग्रँदो सुरक्षा स्थितिबारे चिन्तामग्न देखिन्थे । 

‘तराईमा अपहरण झनै बढ्यो । हामीजस्तालाई बाँच्नै गाह्रो हुने भयो ।’ 

‘खुला सीमाको करामत हो यो ।’

‘हो, अपराधीहरू यता लुटपाट गरेर उता छिर्छन् । कसैले केही गर्न सक्ने होइनन् ।’ 

यस्तै संवादहरूको ओइरो लाग्यो, केही क्षण । 

जनक अर्थात् रामलखनको अपहरित छोरो । त्यही भीडमा उपस्थित एउटी अधबैँसे महिला अघि सरिन् । जनकको अपहरणको ती महिला प्रत्यक्षदर्शी रहिछिन् । उनले भनिन्, ‘जनकलाई मैले अस्ति साँझ नहरको बाटो तीन चारजनाले तल्तिर लिएर गएको देखेकी हुँ । उसको अघि दुई जना र पछि दुई जना थिए । उसलाई छिटोछिटो दौडाउँदै लगेका थिए ।’ 

स्कुलबाट फर्किरहेका बेला जनक अपहरणमा परेको थाहा भयो । 

‘उसलाई लिएर जानेहरूमध्ये कसैलाई चिन्नुहुन्छ त ?’ रामलखनले सोध्यो ।

‘एउटालाई चाहिँ चिनेको छु ।’

‘कसलाई ?’

‘गढवाको सन्तलाललाई चाहिँ चिनेँ, तर अरू नौला थिए ।’ 

‘को सन्तलाल ?’ भीड सलबलायो । सन्तलाललाई नचिन्ने कोही थिएनन् यो क्षेत्रमा । सबैले चिन्थे । ऊ यो क्षेत्रका चर्चित बबन यादवका दाहिने हात थिए । बबनका जति पनि धन्दा हुन्थ्यो, त्यसमा सन्तलालकै संलग्नता रहन्थ्यो । 

सबैले अनुमान लगाए, यो अपहरण बबनले गराएको हो । 

रामलखन धेरैतिर धायो । कहाँ पुगेन ऊ र कसलाई अनुनयविनय गरेन र ? त्यसको सूची उतार्ने हो भने एउटा मोटो ठेली नै तयार हुन्छ । सुरुमा त आफ्नो सम्पूर्ण जायजेथा बेचेर छोरालाई अपहरणमुक्त तुल्याउने सोचेको थियो उसले । तर कसले किन्ने उसको जग्गा र घर ? फेरि बेच्दा पनि कति नै पैसा आउँथ्यो र ? झन् अहिले त जग्गा किनबेच ठप्प भएको छ । जो पनि यो ठाउँ छाडेर मात्र जान चाहन्छन् । बस्ने इच्छा कसैको छैन यो ठाउँमा । सबैले छाड्ने भएपछि कसले किन्ने जग्गाजमिन ? सित्तैमा बेच्न पनि सकिन्नथ्यो । 

रामलखनको बल र बुताले केही पार लाग्ने स्थिति थिएन । 

००

फर्किनु त फर्कियो जनक । 

मानसिक सन्तुलन ठिक थिएन उसको । ऊ हरेक समय बर्बराइरहन्थ्यो । कसैले कुनै प्रश्न सोध्दा घोरिएर हेर्नेबाहेक अरू कुनै प्रतिक्रिया देखाउँदैनथ्यो । रामलखनको पारिवारिक वृत्तमा जनक फर्किंदा खुसीको माहोल छाए पनि उसको त्यस्तो दयनीय स्थिति देख्दा सबैको मन गह्रुँगो हुन्थ्यो । 

‘ठुलै मानसिक आघात परेको छ, उपचार गराए ठिक होला ।’ जनकलाई हेर्न आउने गाउँलेहरू यस्तै सान्त्वना दिन चाहन्थे । 

‘यसपालि पनि विद्यालयमै पहिलो भएको थियो । बिचराको पढाइ अब त्यत्तिकै टुंगिने भो । किन यस्तै राम्रो मान्छेलाई चाहिँ अपहरण गर्नुपरेको होला ?’ कोही सुकसुकाउँदै भन्थे । 

महिना दिन बित्दा पनि जनकको स्वास्थ्यमा सुधार आएन । झन्झन् बिग्रिँदै गयो । कोही कता लैजान सल्लाह दिन्थे, कोही कता लैजान सल्लाह दिन्थे । रामलखन भने हरेक सल्लाहसँगै साँघुरिँदै जान्थे । आर्थिक समस्याका कारण ऊ हरेक समय खुम्चिनुपथ्र्यो । 

एक दिन एउटा उपाय सुल्झियो । आफ्नो जग्गा बन्धकीमा राखेर रामलखनले छिमेकीसित १० हजार रुपैयाँ जुटायो । पैसा जुटाए पनि कहाँ गएर छोराको उपचार गराउने ? उसलाई केही अत्तोपत्तो थिएन । एकपटक सर्पले टोक्दा गयरमा गएर उपचार गराउनुबाहेक उसले अहिलेसम्म कुनै अस्पतालमा पाइला टेकेको थिएन । कहाँ जाने ? यही प्रश्नले उसलाई रिङ्गाइरह्यो । कुनै निर्णयको सङ्घारमा पुग्न सकेन ऊ ।

कसैकसैले वीरगन्ज जाने सल्लाह दिएका थिए, सुरुमा । नजिक पनि, खर्च पनि कम लाग्ने । त्यो सुझाव पनि काम लागेन । वीरगन्जमा उपचार हुन नसक्ने थाहा पाएपछि विकल्प खोज्नुपरेको थियो । 

‘अब त नेपालमै राम्रा–राम्रा अस्पताल खुलेका छन्, काठमाडौँ लगे पनि हुन्छ ।’ 

‘काठमाडौँले हामीलाई अझै पनि अर्कै आँखाले हेर्छ । होइन, पटनातिर लैजानुपर्छ । उता लगे सबै सुविधा पनि पाइन्छ ।’

अनेक तर्कवितर्क चले । अन्ततः उसले काठमाडौँमै लैजाने टुङ्गो गर्‍यो । 

त्यस्तै दश दिनजति अस्पतालमा राखेपछि जनक बर्बराउन छाड्यो र आफैँले खान पनि थाल्यो । 

जनकको क्रमशः सुधारिँदै गएको स्वास्थ्य स्थितिले रामलखनको जीवनमा नौलो बहार भित्रिएको महसुस हँुदै थियो । डाक्टरले पनि बिरामीको स्वास्थ्य बिस्तारै सुधारिँदै जाने कुरामा रामलखनलाई विश्वस्त तुल्याए । जनकको बोली भने गायब थियो । डाक्टरले भनेको थियो, ‘बोली आउन पनि सक्छ, नआउन पनि सक्छ । कुनै टुंगो छैन ।’ 

रामलखन, जनकलाई लिएर घर फर्कियो ।

००

जनकको अपहरण गराउने उही बबनले चुनाव जितेको खुसियालीमा सिङ्गो बजार गम्किनु रामलखनका लागि सैह्य विषय थिएन । र, बबनको विजयमा खुसियाली मनाउन जुटेको भीडको प्रतिक्रियासँगै ऊ बजारको बिच सडकमै ढलेको थियो र सात दिनपछि होस खुलेको थियो उसको । 

एक रात उसले नमीठो सपना देख्यो । 

सपनाको दृश्यात्मक विम्ब यस्तो थियो : उसको आँगनमा बबन र उसका जत्थाहरू थुप्रिएका छन् । तिनीहरूले भनिरहेछन्, ‘कि तेरो छोरा दे, होइन भने पैसा दे ।’ 

रामलखन पनि प्रतिरोधको शैलीमा भनिरहेको छ, ‘मेरो छोरालाई एकपटक लगेर पुगेन ? अझै लैजान चाहन्छस् ? मैले तेरो के बिगारेको थिएँ र मलाई यसरी दुःख दिइरहेको छस्, बबने ?’

‘कसलाई बबने भनिस् ? तेरो मुख च्यातिदिऊँ ? मुख सम्हालेर बोल । हराम, पाजी ।’

‘अब मुख सम्हालेर बोल्ने दिन गए, हामीले पनि बोल्न पाउँछौँ अब । अब तेरो हुकुम मात्र चल्दैन यो ठाउँमा । बुझिस् बबने ?’

‘कसलाई भनिस् बबने ?’

‘तँलाई । तँजस्तो अपहरणकारीलाई, तँजस्तो पिपासुलाई, तँजस्तो राक्षसलाई... ।’

‘...ए, ए ।’ रामलखन ओछ्यानबाट जुरुक्क उठ्यो र चारैतिर फैलिएको अँध्यारोमा छामछाम–छुमछुम गर्न थाल्यो । निधारबाट पसिनाका स–साना थोपा उम्रिसकेका रहेका थिए । ब्यँुझेपछि पनि उसमा बबन आउने हो कि भन्ने त्रास कायमै रह्यो । 

आफैँले देखेको सपनाले उसलाई निरन्तर लखेटिरहेको थियो । अझै पनि यस्तैयस्तै सपनाहरूले सताउने हो कि भन्ने त्रासको लहराहरूले उसलाई बेरिरहेको थियो ।

रामलखन धेरै दिनदेखि अनिद्राको फन्दामा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विवश वस्ती
विवश वस्ती
लेखकबाट थप