बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अब जनताले मात्र भ्रष्टाचारलाई रोक्न सक्छ : प्रभु साह

शनिबार, ०५ साउन २०८१, १२ : ५२
शनिबार, ०५ साउन २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न निर्देशन दिएका छन् । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए । 

आजपा निकटको आइटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् । सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले  कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ । 

‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ । आइटी आर्मीले त्यो कामको नेतृत्व गरोस् ।’

गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए । सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे ।  

‘अहिले हामी के देखिरहेका छौँ भने सरकारमै भ्रष्टाचारीहरूको बाहुल्यता रहेको छ। त्यही सरकारले सरुवा, बढुवा, नियुक्त गर्ने अख्तियार सहितका निकायले समेत भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन’ साहले भने, ‘भ्रष्टाचार गर्नेहरूले संरक्षण पाइरहेका छन् । राज्यकै संरक्षणमा देश लुट्ने काम भइरहेको देखिन्छ ।’ 

विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप लगाउँदै स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको छ । राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुन्डी कारोबार मार्फत अर्बौ रकम विदेश गइरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे । 

आइटी आर्मीले तेस्रो स्थापना दिवसको अवसरमा आज देशैभरि विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउँदै छ । आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आइटी आर्मीले भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको बताए । स्थापना दिवसको अवसरमा काठमाडौँमा रक्तदान कार्यक्रम गर्नुका साथै देशैभर विभिन्न कार्यक्रम भइरहेको साहले बताए । 

आइटी आर्मीका उपाध्यक्ष सुमन यादवले आइटी आर्मीको स्थापना दिवसको अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम भइरहेको बताइन् । वृक्षारोपण, दीप प्रज्वलन लगायतका विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाउन लागिएको यादवले बताइन् । 

आजपाको केन्द्रीय कार्यालय काठमाडौँमा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव नारायण पाण्डे, आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जैसवाल लगायतको विशेष सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप