बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

दलको नेताविहीन कर्णाली कांग्रेस : पूर्ण दाइ र जीवन दाइको आशीर्वादको पर्खाइ

मन्त्री पद माग्न सांसदहरू काठमाडौँमा
शनिबार, ०५ साउन २०८१, ११ : ३५
शनिबार, ०५ साउन २०८१

सुर्खेत । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीमा पनि सत्ता समीकरण परिवर्तन हुने निश्चित छ । तर, अहिलेसम्म उक्त विषयमा प्रदेश तहमा दुई दलहरूबिच कुनै छलफल भने भएको देखिन्न । 

मुख्यमन्त्री यामलाल कँडेलदेखि नेपाली कांग्रेसका अधिकांश सांसद संघीय राजधानी काठमाडौँ भएकाले छलफल नभएको हो । अघिल्लो शनिबार काठमाडौँ गएका कँडेल शुक्रबार वीरेन्द्रनगर फर्किएका छन् । यद्यपि कांग्रेसका तीन जनाबाहेक सबै सांसद काठमाडौँमा नै छन् । 

उनीहरूले काठमाडौँमा नेताहरूलाई भेटघाट गर्ने, मन्त्रीलाई बधाई दिनुका साथै आफ्ना लागि मन्त्री पद मागिरहेका छन् । बेदराज सिंह, कृष्णकुमार बिसी, लक्ष्मी सुनारबाहेक ११ जना सांसदहरू काठमाडौँ पुगेका हुन् । 

कर्णाली कांग्रेस संसदीय दल नेताविहीन हुँदा आफूहरू काठमाडौँ जानु परेको सांसदहरूले बताएका छन् । दल नेता जीवनबहादुर शाही निलम्बनमा छन् । कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रतिनिधित्व गर्दै आएका छन् । तर मन्त्री बनाउने विषय प्रदेशमा टुङ्ग्याउन सकस हुने भएपछि उनी काठमाडौँ गएका हुन् ।

कांग्रेसभित्र अहिले दुई वटा विषय छन्, एउटा मन्त्री छनोट र अर्को दलको नेताको जिम्मेवारी । यसअघि संसदीय दलको नेताको लागि अग्रसर भएका केन्द्रीय सदस्यसमेत रहेका राजीव विक्रम शाहले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन ‘लबिङ’ गरिरहेका छन् । उनी लामो समयदेखि काठमाडौँमा नै बसेर छलफल चलाइरहेका छन् । शाह कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजु राणाका विश्वास पात्र हुन् । 

‘कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्ने कुरा सबै गर्भमै छ,’ उनले भने, ‘दल नेता भएको भए हामी काठमाडौँ आउनु पर्ने थिएन । पूर्ण दाइ र जीवन दाइ दुवै यतै भएकाले यतै आएका हौँ ।’

तर प्रदेशमा संस्थापन समूहकै पार्टी उपसभापति पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीको नै बलियो प्रभाव छ । उनीहरू दुवै जना प्रमुख सचेतक विष्टलाई अघि सार्ने देखिएको छ । तर आरजु राणा फ्याक्टरका कारण शाहकै नेतृत्वमा कांग्रेस सरकारमा जाने देखिएको केही सांसदहरू बताउँछन् । 

प्रदेशमा कांग्रेसभित्र संस्थापन समूहकै भए पनि शाहसँग करिब ५ जनाको पूर्ण समर्थन छ । संस्थापन इतर समूहका दुई जना मात्रै सांसद छन् । उनलाई जीवनबहादुर शाहीले आफूसँग दल नेताका लागि चुनाव लड्छु भनेर अग्रसर हुन खोजेको भन्दै ‘ब्याक’ गर्न खोजिरहेका छन् । निलम्बनमा परेसँगै शाही काठमाडौँमा नै रहेका छन् भने पार्टी उपसभापति खड्का पनि उतै भएकाले सांसदहरू काठमाडौँ केन्द्रित बनेका छन् ।

सांसद पूर्णबहादुर खत्रीले अहिलेसम्म सबै कुरा गर्भमै रहेको रातोपाटीलाई बताए । ‘कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्ने कुरा सबै गर्भमै छ,’ उनले भने, ‘दल नेता भएको भए हामी काठमाडौँ आउनु पर्ने थिएन । पूर्ण दाइ र जीवन दाइ दुवै यतै भएकाले यतै आएका हौँ ।’

नयाँ समीकरण अनुसार कांग्रेस–एमालेबिच कुनै छलफल नभएको र मुख्यमन्त्री कँडेलले पनि राजीनामा माग नगरेकाले माओवादी मन्त्रीहरूले राजीनामा दिएका छैनन् ।

काठमाडौँमा रहेका धेरै कांग्रेसका सांसदहरूले ‘पूर्ण दाइ र जीवन दाइ’ को आशीर्वाद पर्खिएको बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले १४ जना सांसद नै मन्त्री बन्ने लाइनमा रहेको बताए । ‘चाहना सबैको छ, अब नेताहरूले के छलफल गर्नुहुन्छ,’ उनले भने, ‘केही टुङ्गो लगाएर हामी ७ गतेसम्म फर्किन्छौँ ।’

मुख्यमन्त्री यामलाल कँडेलले निरन्तरता पाउने देखिएपछि अहिले माओवादीका मन्त्री भएको स्थानमा कांग्रेसको सहभागिता रहने छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीका चार जना मन्त्री छन् । अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जामा रणसिंह परियार मन्त्री छन् । 

नयाँ समीकरण अनुसार कांग्रेस–एमालेबिच कुनै छलफल नभएको र मुख्यमन्त्री कँडेलले पनि राजीनामा माग नगरेकाले माओवादी मन्त्रीहरूले राजीनामा दिएका छैनन् । यद्यपि उनीहरूले राजीनामा पत्र तयार पारेर राखेको एक हप्ता पुग्न लाग्यो । 

‘हामीले नयाँ समीकरणलाई सहजता प्रदान गर्नका लागि राजीनामा दिन तयार रहे पनि मुख्यमन्त्री काठमाडौँ भएकाले पर्खेर बसेको हो,’ अर्थमन्त्री महेन्द्र केसीले भने, ‘मुख्यमन्त्रीज्यू शुक्रबार (हिजो) आउनु भएको छ । आज शनिबार भइहाल्यो अब भोलिसम्म हुन्छ होला ।’ माओवादी संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौँ छन् । शर्मा आइतबार आउने र राजीनामासहित समर्थन फिर्ता लिने तयारी भइरहेको माओवादी स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप