बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बाढी पहिरो पीडित किसानलाई न्यायोचित रूपमा अनुदान उपलब्ध गराउन माग

शनिबार, ०५ साउन २०८१, ११ : ३६
शनिबार, ०५ साउन २०८१

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले बाढी पहिरो पीडित किसानलाई बीउबीजन, सिँचाई, कृषि ऋण र न्यायोचित रूपमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको छ । कृषि पेसालाई दिगो र भरपर्दो बनाउन वातावरण अनुकूलन हुने गरी बाली विकास गर्नु आजको आवश्यकता भएको बताउँदै महासङ्घले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मल, बीउ  सिचाई, उपजको चुस्त बजारीकरण, सहुलियत दरमा ऋणको व्यवस्था मिलाउनु अनिवार्य सर्त भएको बताएको हो । 

विगत केही दिनयता आएको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागहरूमा गएको बाढी, पहिरो, डुबान र कटानले जनधनको ठुलो क्षति भएकोमा महासङ्घको ध्यान गम्भीर रूपमा आकर्षित भएको अध्यक्ष डा.प्रेम दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । 

‘बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी र तीव्र पार्न, उद्धार गर्न, घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, राहत सहुलियत उपलब्ध गराउन, सुरक्षित वासस्थानमा पुनर्स्थापित गर्ने कार्यलाई प्रभावकारी तुल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन तथा स्वच्छ वातावरण प्रतिकूलका मानवीय क्रियाकलापका कारण वर्षा याममा हुने प्राकृतिक विपत्तिको नियन्त्रणका लागि राज्यले पूर्व तयारी गर्न तथा घटना घटेमा प्रतिकार्यलाई तीव्र र प्रभावकारी तुल्याई जनधनको क्षति हुन नदिने दिशामा विगतबाट पाठ सिकेर ठोस योजनाका साथ अघि बढ्न महासङ्घले नेपाल सरकारको गम्भीर रूपमा ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप