बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

के नारी जिस्क्याइने चीज हुन् ?

आइतबार, २३ वैशाख २०७५, ०९ : ३१
आइतबार, २३ वैशाख २०७५

बस होस् वा सडक, गल्ली होस् वा बजार, केटीहरूमाथि त्यस्तो व्यवहार किन ? बाटोमा हिँड्दा धक्का दिनु, पहिरहन, शृङ्गार वा केही नपाए शारीरिक बनोटलाई सङ्केत गर्दै छेडछाड गर्नु, यस्तो लाग्छ मानौँ यो केटाहरूले पाएको कानुनी अधिकार हो । के नारीहरू पुरुषको निम्ति मात्र मनोरञ्जनका साधान हुन्, के उनीहरू यस्ता वस्तु हुन् जोसँग खेल्नु केटाहरू आफ्नो लहड अनुरूप स्वतन्त्र छन् ?

वाह क्या छ लेफ्टराइट, ए मैया किन त्यस्तो छिटो हिँडेको, क्या गजबकी हगि, यार धक्का देन, स्कुल, कलेज, अफिस जाने महिला (विशेष केटीहरू) सबैले प्रायसः सुन्नुपरेको अपमानजनक टिप्पणीहरू दैनिक जीवनको एक अङ्गजस्तै भइसकेको छ । कतिपय युवकहरूलाई त्यतिले मात्र चित्त नबुझेर अश्लील फिल्मी गीत, भद्दा सायरी, सस्ता कमेन्ट र छाडा शब्दावली प्रयोग नगरी सन्तोष हुँदैन । इव टिजिङ (भ्खभ त्भबकष्लन) लाई नै आफ्नो पुरुषत्वको प्रदर्शन मान्ने यी आधुनिक आदमहरूको मत्ति कहिले सुध्रिएला । सामाजिक परिवेश कुन हीनता ग्रन्थी कस्ता मानसिक विकासको उपज हो, यो छेडछाडको संस्कृति ? र यो अभद्रता कति सुन्ने र सहने हामीहरूले ?

बसमा भीडको बहाना गरी धक्का दिनु, हात समात्नु, खुट्टा किल्चनु, शारीरिक लाभ उठाउन खोज्नु जस्तो प्रवृत्ति केटाहरूको कर्तव्य जतिकै भइसकेको छ । असहनीय भएपछि दुई शब्द बोल्यो भने उल्टै हामीलाई दोषी देखाई अर्ती दिने गर्छन्– भिडभाडमा त्यस्तै हुन्छ । त्यस्तो मान्छेले किन बस चढेकी ट्याक्सी चढ्ने गर्नु नि ! (यो भनाइ सुन्नुभन्दा बढी दुःख त्यस समय लाग्छ, जब चारैतिरबाट तमासा हेर्ने आँखाहरू आफूमा आएर टिक्दछ) त्यही व्यक्ति र तमासे पुरुषहरू केही समयपछि नै आफ्नो आफ्नो घरमा एक आदर्श दाइ, आदर्श पुत्र, आदर्श पति आदि हुने अभिनय गरिरहेको हुन्छ । उनीहरूलाई सायद यस कुराले कहिल्यै चिमोट्दैन होला कि उनीहरूको दिदी, बहिनी, पत्नी र आफन्तहरू पनि बाटो आउँदा जाँदा यसरी नै अन्य व्यक्तिहरूको मनोरञ्जनका साधान बन्न सक्छन् । 

जिस्क्याउने यो प्रवृत्ति ठूला केटाहरूबाट स्कुले साना केटाहरूमा सरुवा रोग जत्तिकै सर्दै गइरहेको छ । एक दिन अफिस जाँदै गर्दा एउटा स्कुले केटाले मतिर फर्किएर राम्ररी निहार्दै भन्यो– ‘कस्तो राम्रो भएर हिँडेकी’ अब आफै भन्नुहोस म त्यस सानो केटालाई दोषी मानु या हाम्रो समाजमा बढ्दै गइरहेको विकृतिलाई ?

आखिर केटाहरूमा यो विकृतिपन किन बढ्दै गइरहेको छ । कुन कारणले उनीहरू हामीमाथि छेडछाड गर्छन् । के यसको कारण हामी केटीहरूको पहिरन, शृङ्गार, हाँस्नु, बोल्नु हो वा स्वयम् उनीहरूको विपरीत लिङ्गप्रति उत्पन्न भएको आकर्षण वा मित्रता बढाउने एउटा माध्यम । यदि मित्रता नै गर्नुछ भने किन एउटा मित्रसँग उसको शरीर, पहिरहन, शृङ्गारलाई टिप्पणी गरेर सुरुवात गर्छौँ । के मित्रताको सुरुवात सुसंस्कृत व्यवहार र भद्रताबाट हुन सक्दैन ?

यौवनावस्थामा आउने भावनात्मक परिवर्तनहरू केही हदसम्म छेडछाडको निम्ति जिम्मेवार हुन्छन् र तिनीहरूलाई विल्कुल अस्वभाविक मान्न सकिँदैन तर के अश्लील शब्द प्रयोग र शारीरिक स्पर्श सुखको घटिया प्रयत्नलाई स्वभाविक भन्न सकिन्छ । ससाना स्कुले केटाहरू र पारिवारिक जिम्मेवारी बोकेका अधवैंशे पुरुषहरूमा पनि यस्तो प्रवृत्तिको झलक देखिनु स्वास्थ्यकर मान्न सकिएला ? 

यही विश्वमा यस्ता देशहरू छन्, जहाँ ससाना बालबालिकालाई बाटोमा हिँड्ने अपरिचित व्यक्तिहरूलाई फूलको उपहार दिने संस्कृति सिकान्छ । हामी तिनीहरूलाई छेडछाडको संस्कृति सिकाउँछौँ । ती देशहरूका युवकहरू महिला बसमा चढे भने तत्काल आफू बसेको सिट उनीहरूको निम्ति छोड्ने गर्दछन् । हाम्रो देशमा यस्तो गर्नु त टाढाको कुरा भयो महिलाहरूको सहनशीलताको नाजायज फाइदा उठाउन नै युवकहरूको ध्यान तल्लीन रहेको देखिन्छ । 

हाम्रो समाजको यो मानसिकता, पछौटेपन, यो नैतिक ह्रासको पछाडि के कति कारण रहेका छन् । तिनीहरूको निदान कसरी सम्भव छ ? भन्ने बारे जागरुक महिला र संवेदनशील पुरुष दुवैले नसोचे कसले सोच्ने ?

कसले विचार गर्ने ?

अस्मिता मासिक पत्रिकाबाट लिएको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु क्षेत्री
अञ्जु क्षेत्री

अन्जु पत्रकार हुन् ।

लेखकबाट थप