बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
भिसा प्रकरण

विवादमा परेपछि के भन्छिन् उपसभामुख इन्दिरा राना (भिडियो)

शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । झण्डै डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको एक पत्रका कारण यतिबेला उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । अमेरिकाको एक कार्यक्रममा सहभागी हुनका लागि ५ जनालाई भिसाको अन्तरवार्ताका लागि समय मिलाउन सिफारिस गरेको उनको पत्र सार्वजनिक भएसँगै विवाद बढेको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सीएसडब्लु भन्ने संस्थाले गरेको कार्यक्रममा आफू सहभागी हुन लागेको र त्यही बेला भिसा अन्तरवार्ताको प्रि–डेटको सिफारिसका लागि केही मान्छे धाइरहेपछि पहिलाको अभ्यास अनुसार नै सिफारिस गरेको उपसभामुख रानाको तर्क छ ।

५ जनालाई सिफारिस गरेकोमध्ये आफूले १ जनालाई मात्र चिनेको उनले बताइन् । ती व्यक्ति धेरै पटक धाएपछि भिसाको अन्तरवार्ता लिने समय मिलाउनका लागिमात्र भन्ने कुरा भएपछि त्यो सिफारिस दिएको उनको भनाइ छ ।

पहिले पनि भिसाको प्रि–डेटका लागि सिफारिस दिने प्रचलन अनुसार नै आफूले सिफारिस दिएको उनले बताइन् ।

उपसभामुख रानाले आफू विभिन्न कार्यक्रममा अहिलेसम्म ४४ देश पुगेको र ती कार्यक्रममा जाँदा आफूले एक जनालाई पनि लिएर नगएको दाबी गरिन् ।

रानाले आफू सन् २००५ देखि अमेरिका जान थालेको र २००८ देखि बेलायत जान थालेको बताउँदै त्यसयता कसैलाई पनि विदेश नलगेको उल्लेख गरिन् ।

अमेरिकी भिसाका लागि अन्तरवार्ता दिन १ वर्ष अगाडिदेखि नै मिति लिएर बस्नुपर्ने र ती व्यक्तिले सीएसडब्ल्यु कार्यक्रमका लागि बोलाएको भन्दै सिफारिस मागेको उनको भनाइ छ । कसैले हुन्छ भन्ने कसैले हुन्न भन्ने अवस्था त्यतिबेला रहेको जानकारी दिँदै उनले त्यसरी सिफारिस दिनुहुन्छ कि हुन्न भन्नेमा आफू नयाँ भएकाले अस्पष्ट अवस्थामा रहेको उनले बताइन् ।

पछि पनि उनीहरूले बारम्बार फोन गरेर भिसाका लागि सिफारिस मागेको तर आफूले नदिएको उपसभामुख रानाको भनाइ छ ।

‘भिसाको लागि प्रि–डेट अन्तरवार्ताको समयको लागिमात्र सिफारिस गरेको हो, भिसा नै दिनु भनेर सिफारिस गरेको होइन,’ उनले भनिन् ।

एउटै कार्यक्रम भएकाले अरु सिफारिस गरेजस्तै सिफारिस गरेको तर त्यो पत्र अमेरिकी दूतावासमा नपुगेको उनको जिकिर छ । ‘उनीहरूसँग मेरो सम्पर्क नै भएन, उनीहरूले प्रि–डेट पनि पाएनन् । अन्तर्वार्ता नै नभएपछि उनीहरू जान पनि पाएनन्,’ उनले भनिन्, ‘म गएर पनि आएँ । मैले उनीहरूसँग अप्लाई पनि गरेको होइन ।’

डेढ वर्षपछि यो विषय बाहिर निकालेर विवाद खडा गरिएकोमा आफू अचम्मित भएको उपसभामुख रानाको भनाइ छ ।

उनले पैसा लिएको कुरा भ्रामक भएको बताउँदै अहिले पनि आफू अनाथ बालबालिकासँगै एउटै कोठमा बस्ने गरेको उल्लेख गरिन् । आफूलाई संसारले विश्वास गर्नु नै आफ्नो इमानदारिता भएको बताउँदै उनले मानिसहरूले आफ्नो इमानदारिताको फाइदा उठाएको दाबी गरिन् ।

उनले आफ्नै बुबाको ३ करोड मूल्य पर्ने जग्गासमेत समाजसेवाको काममा लगाएको उल्लेख गर्दै आफूले पाएको विभिन्न सम्मान तथा पुरस्कारको रकम पनि समाजसेवामै खर्च गरेको दाबी गरिन् ।

उपसभामुख रानाले भनिन्, ‘म राजनीतिमा उपयुक्त मान्छे होइन भन्ने मलाई पहिला नै थाहा थियो तर जो मान्छे सामाजिक रुपान्तरणका लागि लागिपरेका छन्, राजनीतिसँग जोडिएनौँ भने हामीले कुनै पनि नियम कानुन उपयुक्त ढंगले बनाउन सकिँदैन भनेर राजनीतिमा आएको हुँ ।’

सीएसडब्लु भनेको एनजीओको फोरम रहेको र सो कार्यक्रममा सहभागी हुन अनलाइनबाट निमन्त्रणा मागेर जो कोही पनि सहभागी हुन सक्ने उनले बताइन् । ती मान्छे राम्रा उपयुक्त हुन् भनेर भिसा दिनका लागि आग्रह नगरेको तर अन्तरवार्ताको मितिका लागिमात्र सिफारिस गरेको उनको भनाइ छ ।

उनले सो सिफारिस दिन हुने–नहुनेबारेमा प्रस्ट नभएको र पछि फेरि सिफारिस माग्न आउँदा नदिएपछि उनीहरू सभामुखलाई भेट्न गएको पनि दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया