शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

शुक्रबार, ०४ साउन २०८१, १९ : २४
शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए । उनले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको  भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताए । 

अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरू घटेको अवस्था रहेको बताए । उनले अर्थतन्त्रका सूचकहरू मात्रै नभएर मानिसहरूको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताए । उनले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको बताए । उनले उद्योगीहरू नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताए । उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले  निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताए । उनले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गरे । उनले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भूमिका निर्वाह गर्ने बताए । 

अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन माग गरेको छ । चेम्बरका अध्यक्ष आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबिच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति ध्यानाकर्षण गराए । उनले आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता रहेको बताए । उनले कालोसूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरूलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राखे । कर्जाको पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरूमा ठुलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप