बजार पुँजीकरण ३८ खर्ब ४६ अर्ब पुग्यो
काठमाडौँ । यो साता २१९ अंकले नेप्से सूचक बढ्दा कारोबार र बजार पुँजीकरण दुवै उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत असार गत २७ गतेदेखि साउन ३ गते बिहीबारसम्म पाँचै कारोबार दिन खुलेको सेयर बजारमा यस साता नेप्से सूचक २१९.७६ अंकले बढ्दै २४२४.३२ बिन्दुमा उक्लिएको छ । जुन बिन्दु २७ महिनापछिकै उच्च हो ।
यसअघि २०७८ चैतमा नेप्से सूचक २४ सयको बिन्दुमा थियो । उसो त यस साता कारोबारमा समेत उच्चता आउँदै आधा खर्ब बढीको सेयर कारोबार भएको छ ।
सोमबार अर्थात् जुलाई १५ को कारोबार दिन १७ अंकले नेप्सेमा करेक्सन आउनु (घट्नु) बाहेक ४ कारोबार दिन नै उच्च अंकले नेप्से सूचक बढ्यो । पाँच कारोबार दिनमा कूल ५२ अर्ब ५० करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन (जुलाई १४) मा ५२.९७ अंकले नेप्से बढ्दा ७ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ८ अर्ब ६३ करोड, ९ अर्ब ७ करोड र १२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा साताको अन्तिम कारोबार दिन बिहीबार (जुलाई १८) मा १५ अर्ब ४७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
मार्केट क्यापिटलाइजेशन साढे ३ खर्बले बढ्यो
नेप्से सूचकसँगै कारोबारमा समेत उच्चता आउँदै गर्दा यो साता सेयर बजार पुँजी (मार्केट क्यापिटलाइजेशन) समेत झण्डै साढे ३ खर्ब माथिले बढेको छ ।
अघिल्लो सातको अन्तिम कारोबार दिन अर्थात् असार २७ गतेसम्म ३४ खर्ब ९६ अर्ब ९० करोड २० लाख रुपैयाँ बराबर रहेकोमा यो साता मार्केट क्यापिटलाइजेशन ३८ खर्ब ४६ अर्ब ६९ करोड ७० लाख रुपैयाँ पुगेको छ । गएको साता मात्र मार्केट क्यापिटलाइजेशन ३ खर्ब ४९ अर्ब ७९ करोड ५० लाख रुपैयाँले बढेको हो । एक सातामा नै सेयर मार्केट बुलिसतर्फ लाग्दा लगानीकर्ताहरू उत्साहित भएका छन् ।
के कारणले बढ्यो बजार ?
खासगरी पछिल्लो साता नेपालको राजनीति वृत्तमा विकसित घटनाक्रमसँगै फेरिएको नयाँ सत्ता समीकरणको प्रत्यक्ष प्रभाव यता सेयर बजारमा परेको देखिन्छ । नेकपा माओवादी केन्द्र नेतृत्वको प्रचण्ड सरकार ढलेसँगै सत्तामा नेकपा एमालेसहित नेपाली काँग्रेसको सत्तारोहण भएको छ ।
असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै उपप्रधान सहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आए । उनको आगमनसँगै सेयर बजारमा नयाँ उत्साह आएको देखिन्छ । तथापि, अर्थमन्त्री पौडेलले पदभार ग्रहण गरेको दिन नेप्से सूचक १७ अंकले घटेको थियो । त्यसयता लगालग तीन बढेको नेप्से सूचकमा १८३ अंकमाथिको वृद्धि भइसकेको छ ।
उसो त नयाँ सत्ता समीकरणका लागि प्रचण्ड नेतृत्वको सरकार छाडेर नेपाली कांग्रेसँग मिलेर एमालेले सत्ताको नेतृत्व गर्ने र अर्थमन्त्री विष्णुप्रसाद पौडेल बन्ने चर्चाकै बिच अघिल्लो सातादेखि नै सेयर बजार उकालो लाग्न थालिसकेको थियो । असार १६ गते २ हजार ३७ बिन्दुमा रहेको नेप्से सूचक १४ कारोबार दिनमा नै ३८७ अंकमाथिले बढ्न पुगेको छ ।