मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

बाँदर धपाउन २ हजार रुपैयाँको गुलेली !

शुक्रबार, ०४ साउन २०८१, १६ : १८
शुक्रबार, ०४ साउन २०८१

पोखरा । गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङका सुदिप खनालले ४० भारी मकै हुने बारीबाट एउटै घोगो पनि भित्र्याउन पाएनन् । एक छेउमा श्रीमान् र अर्को छेउमा श्रीमती ‘फूल टाइम ड्युटी’ गर्दा पनि बाँदरले सखाप बनायो । 

गएको हिउँदमा न आलु भित्र्याए न मुसुरो । ‘२ क्विन्टल आलु हुन्थ्यो । १ मुरी मुसुरो हुने ठाउँमा एक पाथी पनि थन्क्याउन पाइनँ,’ उनले भने ‘मुसुरो हेरे आलु सखाप हुन्छ, आलु हेरे मुसुरो सकिन्छ । बाँदरले थलै पारिसक्यो ।’ उनका केही छिमेकीले खेती नै गर्न छोडिसके । 

सुदीपले चाहिँ जसोतसो गरिरहेका छन् । तर बाँदर धपाउने उपाय नभए अब खेती नगर्ने सोचमा पुगेका छन्, उनी पनि । ‘हातले हानेर त मान्दै मानेन । अलि अस्ति नै बन्दुक ल्याएर पनि पड्काइयो । त्यो पड्किने मात्रै रहेछ भनेर बाँदरले थाहा पायो होला, टेर्न छोड्यो,’ उनले भने, ‘यही अवस्था हो भने घरछेउकै बारी पनि बाझिन्छ । महिलालाई त उल्टै झम्टिन्छ । बाँदरले साह्रै सतायो ।’

त्यहाँ ६७५ घरधुरी किसान छन् । बाँदरले मकै, काँक्रो, बोडी, आलु, मुसुरो लगायत उब्जनी सखाप बनाएको छ । करिब १ हजार रोपनी खेतीयोग्य जमिन भएपनि बाँदरका कारण किसानले खेती गर्नै छोडिसकेका छन् । अर्का किसान खेमबहादुर थापा बाँदरको आक्रमणले जीउज्यानकै खतरा रहेको बताउँछन् ।

 ‘वारि भित्ता र पारि भित्ता गरेर बस्छ । खेती जोगाउने त परको कुरा मान्छेको ज्यानै जोगाउन मुस्किल पर्छ,’ उनले भने, ‘सय भन्दा बढीको बथान छ । लङ्गुर पनि आउँछ । खेतबारीमा मात्रै होइन, घरमै पसेर झिकेर लान्छ ।’ गाउँबाट केही टाढाका खेतबारी चाहिँ बाझिन थालेको उनले बताए । थापाले बाँदर नियन्त्रणका लागि सरकारसँग गुहारेका छन् । ‘गाउँमा मान्छे बस्ने हो कि बाँदर ? बाँदर बस्ने गाउँमा मान्छे चाहिँ के खाएर बस्ने ?,’ उनले भने, ‘कि बाँदर बसोस्, हामी छोडेर जान्छौँ । होइन भने नियन्त्रण त गर्दिन प¥यो नि ।’

वडाध्यक्ष यमबहादुर थापा वैकल्पिक खेती गर्न किसानलाई सुझाउँछन् । घाँसखेती मार्फत पशुपालन गरे बाँदरको आतङ्क कम हुने र क्षति व्यहोर्न नपर्ने उनको भनाइ छ । तर किसानहरू परम्परागत खेती छोड्न मान्दैनन् । त्यसैले वडाले बाँदर लखेट्न आधुनिक गुलेली निर्माण थालेको छ । ‘अहिले बनाइएको गुलेली अत्यधिक उपयोगी छ । साधारण गुलेली भन्दा ३ गुणा टाढासम्म ढुङ्गा फाल्न सक्छ,’ उनले भने, ‘सामान्य गुलेलीसँग बाँदर तर्सिएन । यो देख्दा तर्सिएको छ ।’ एउटै गुलेली बनाउन १८ सय देखि २ हजार रुपैयाँसम्म लागत लागेको थापाले जानकारी दिए । ‘वडाका किसानलाई ७० प्रतिशत अनुदानमा वितरण गर्दैछौं । बाहिरी वडामा पठाउँदा लागतको पूरै रकम लाग्छ,’ अघि भने, ‘बाँदरले नखाने खेती गरौँ भन्दा किसान मान्दैनन् । कमसेकम लगाएको खेती थन्क्याउन त दिनुपर्‍यो नि ।’ यहाँका सबै किसानहरू परम्परागत खेतीमै रमिरहेका छन् ।

किसानको चाहना अनुसार नै आधुनिक गुलेली बनाएर वितरण गर्न लागिएको थापाले जानकारी दिए । ‘५० थान गुलेली निर्माण भैसकेको छ । अन्यत्र गरिएको प्रयोगलाई हामीले लागू गर्न लागेका छौं,’ उनी भन्छन्, ‘किसानहरूको खेती पनि लोभलाग्दो छ । वैदेशिक रोजगारीबाट फर्किएर पनि खेती गरिरहेका छन् । कमसेकम बाँदरबाट जोगाउन सकियो भने आयात प्रतिस्थापनमा सहयोग पुग्छ ।’ 

गण्डकी प्रदेश सरकारले पनि कृषि हेरालो खटाउने तयारी गरेको छ । चालू वर्षको नीति तथा कार्यक्रम र बजेटमै बाँदर आतंक नियन्त्रणका लागि कृषि हेरालो राख्ने कार्यक्रम ल्याएको हो । यद्यपि कार्यक्रम कार्यान्वयनमा गइसकेको छैन । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले बाँदरको समस्या देशैभरि भएकोले नियन्त्रणको उपाय निकाल्न नसकिएको बताए । ‘समस्या हाम्रो मात्रै होइन देशैभरि छ । कसरी धपाउने ?,’ उनले भने, ‘उत्तम उपाय खेती प्रणालीमा परिवर्तन गर्ने हो । पालिकाले सक्दो प्रयास गर्छ ।’ उनले बाँदरले गर्ने क्षतिमा पनि राहत दिने व्यवस्था गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप