आर्थिक वर्ष २०८०/८१ : आर्थिकभन्दा बढी राजनीतिक उथलपुथल भएको वर्ष
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ सुरु भएको ४ दिन भइसकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेट साउन १ गतेदेखि कार्यान्वयनमा गएको हो ।
आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट र ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदानबाट बेहोर्ने सरकारले जनाएको थियो । बाँकी अपुग ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक तथा बाह्य ऋण परिचालन गरिने योजना सरकारले बजेटमा उल्लेख थियो ।
खासगरी आर्थिक वर्ष २०८०/८१ आर्थिक दृष्टिकोणले भन्दा पनि बढी राजनीतिक दृष्टिकोणले उथलपुथलको वर्ष बन्यो । राजनीतिक पार्टीहरूमा सत्ता प्राप्तिका लागि हानथापजस्तै भयो । गठबन्धन फेरबदल, सरकार टिकाउन र विकल्प खोज्नमै अघिल्लो आर्थिक वर्षको अधिकांश समय बित्यो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएका थिए । तर सो आर्थिक वर्षको बजेट कार्यान्वयन अवधिसम्म उनी टिक्न सकेनन् । यसबिचमै गठबन्धन फेरिएपछि सरकारबाट कांग्रेस बाहिरियो ।
प्रधानमन्त्री प्रचण्डले पुनः नेकपा एमालेसँग मिलेर सत्ता समीकरण बनाए । अर्थमन्त्रीमा उनले माओवादी केन्द्रकै उपमहासचिव वर्षमान पुनलाई ल्याए ।
२०८१ फागुनमा सत्तारोहण गरेका अर्थमन्त्री पुनले ४ महिना ७ दिन अर्थ मन्त्रालयको नेतृत्व सम्हाले । उनै मन्त्री पुनले आर्थिक वर्ष २०८०/८१ को बाँकी बजेट कार्यान्वयन गरे भने नयाँ आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने अवसरसमेत पाए ।
तर, आफैँले ल्याएको बजेट कार्यान्वयन गर्न भने मन्त्री पुनले पाएनन् । आर्थिक वर्ष सुरु नहुँदै अर्थमन्त्री पुनमात्र नभएर नेकपा माओवादी केन्द्र नेतृत्वको प्रचण्ड सरकारलाई विस्थापित गरी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेका छन् ।
४ महिने कार्यकाल निकै सफल रह्यो : निवर्तमान अर्थमन्त्री पुन
सत्ताबाट बाहिरिएसँगै पहिलो पटक रातोपाटीसँग कुरा गरेका निवर्तमान अर्थमन्त्री पुनले आफ्नो ४ महिने कार्यकाल निकै सफल र फलदायी भएको दाबी गरेका छन् ।
‘दोस्रो पटक अर्थमन्त्री बन्दैगर्दा मैले जम्माजम्मी ४ महिना ७ दिन अर्थमन्त्रीको रूपमा काम गर्न पाएँ । यो समय मेरालागि निकै महत्त्वपूर्ण रह्यो र यस अवधिमा मैले देशका लागि केही राम्रो काम सुरुवात गरेँभन्ने लाग्छ,’ उनले भने ।
बजेटमार्फत आशा जगाउन पाएको भन्दै उनले यस अर्थमा आफ्नो कार्यकाल सफल र सहज रहेको दाबी गरे ।
समग्र आर्थिक स्थिति
केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रको बाह्य स्थिति निकै अब्बल रहेको जनाएको छ । समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति (बीओपी) ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८९.२७ प्रतिशतले बढी हो ।
२०८० जेठ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति जम्मा २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले मात्र बचतमा थियो । खासगरी समीक्षा वर्षमा बढेको रेमिट्यान्स, भ्रमण आय (पर्यटन) र सेवा क्षेत्रको निर्याले शोधनान्तर स्थिति राम्रो बचतमा गएको निवर्तमान अर्थमन्त्री पुनको भनाइ छ ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार ११ महिनामा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने भ्रमण आय ३३ प्रतिशतले वृद्धि भएर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
शैक्षिक यात्रासँगै भ्रमण खर्च शीर्षकमै अधिक रकम अझै बाहिरिइरहेकाले सेवा आयतर्फ नेपाललाई ५८ अर्ब ६ करोड खुद घाटा लागेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर १९ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको छ । वार्षिक बजेटको तुलनामा १.१२ गुणा बढी विदेशी मुद्रा सञ्चिति रहनु आफैँमा उपलब्धि रहेको बताउँदै निवर्तमान अर्थमन्त्री पुनले यो इतिहासकै उच्च सञ्चिति रहेको बताए ।
प्राप्त सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
बजेट खर्च र राजस्व
बजेट कार्यान्वयनको सन्दर्भमा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा राजस्व र बजेट खर्च केही बढेको छ । २०८१ असार मसान्तसम्म सरकारले १० खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्दै १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । लक्ष्य र विनियोजित बजेटको तुलनामा यो क्रमशः ७१.७६ प्रतिशत र ८०.४५ प्रतिशतको उपलब्धि हो ।
अघिल्लो वर्ष यस्तो उपलब्धि राजस्वतर्फ ७०.७३ प्रतिशत र बजेट खर्चतर्फ ७९.६९ प्रतिशत थियो । राजस्व सङ्कलन र बजेट खर्चको सन्दर्भमा अघिल्लो वर्ष झण्डै चार खर्ब रुपैयाँ बराबरको बजेट घाटामा गएको सरकार यस वर्ष पुनः ३ खर्ब ५२ अर्ब बजेट घाटामा गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म